• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

महानगरले रोक्यो नारायणी किनारमा निर्माणाधीन हात्ती स्तम्भ


महानगरले रोक्यो नारायणी किनारमा निर्माणाधीन हात्ती स्तम्भ

कसैले स्थगित भन्दैमा विकास रोकिदैन । उद्योग वाणिज्य संघ आफ्नो हालीमुहाली गर्न नपाएर टोल विकास संस्थाको विरुद्धमा लागिपरेको छ । यसले राम्रो गर्दैन ।

केपी शर्मा, पौष १५, २०७७
भरतपुर । नारायणी किनारमा जोर हात्ती राख्नको लागि निर्माण भइरहेको हात्ती स्तम्भको निर्माणकार्यलाई महानगरपालिकाले बन्द गराइदिएको छ ।

विगत ७ दिनदेखि निर्माण भइरहेको उक्त संरचनालाई आज विहानदेखि महानगरले अर्को निर्णय नभएसम्मका लागि निर्माणकार्यलाइ स्थगित गर्न भनेको छ ।

गएको बर्खायाममा सो स्थानमा रहीआएको हात्ती र हात्ती राख्ने स्थाननै बगाएपछि स्थानीय टोल विकास संस्थाहरुले उक्त हात्ती राख्ने ठाउँ पुन निर्माण सुरु गरेका थिए । तर महानगरले विना योजना संरचना निर्माण गरेको भन्दै रोक लगाएको छ ।

यता महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अहिले काम स्थगित गरेको बताएका छन् । उनका अनुसार वडासँग समन्वय गरेर कुन मापदण्डको बनाइने हो ? त्यहाँ बनाइएको संरचनाले महानगरपालिकाको गुरुयोजनालाई असर गर्छ की गर्दैन ? सबैकुरा बुझेर के कस्तो निर्माण गरिने हो, निक्र्योल भएपछि निर्णय गरिनेछ । उनले भने,“यसरी जताभावि निर्माण गरिने संरचनाले त्यो क्षेत्रको विकास निर्माणमै भोलि समस्या आउन सक्छ । त्यसैले आजै सजकता अपनाएर काम गर्नु उपयुक्त हुन्छ । ”

उक्त नारायणी किनारमा गुरुयोजना अनुसार विकास निर्माणको कामहरु सुरु भइसकेकोले जताभावि संरचना निर्माण नगर्दा राम्रो हुने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “गुरुयोजना तयार नगरीकन यस्ता संरचना निर्माण नगर्दा राम्रो । प्रदेश र संघीय सरकारकाले २३ करोड लगानीमा वहूवर्षिय कार्ययोजना आइसकेको हुँदा डिपिआर अनुसारनै कुनै पनि संरचना निर्माण गर्नु राम्रो हुन्छ । ”

पहिलो चरणमा पर्यटन विभागबाट उक्त क्षेत्रको विकासका लागि साँढे ६ करोड बजेटको टेण्डर आह्वान समेत भइसकेको छ । त्यति मात्रै होइन, भरतपुर महानगरतर्फ अनावश्यक रुपमा संरचना निर्माण हुँदैजाँदा नवलपुरको गैँडाकोट नगरपालिकालाई असर परेको भन्दै उक्त नगरले समेत भरतपुरको ध्यानाकर्षण गराएको छ।

यस विषयमा भरतपुर महानगर १ का वडाअध्यक्ष जयराम श्रेष्ठले उक्त संरचना कुनै पनि हालतमा बनिछाड्ने बताए । उनका अनुसार पुरानै हात्ती रहेको स्थानलाई मर्मत गरेकोमा कसैले टाउको दुखाउनु पर्नेछैन । अहिलेका संरचना पहिलाको भन्दा सानो हुनेछ । यसले महानगरको गुरुयोजनालाई केही पनि असर पार्दैन । पाँच वटा टोलविकास संस्थाले गरेको काम हो । राम्रै होस भनेर गरेको हुन् । वडानम्वर १ र उक्त वडाभित्र रहेका पाँच वटा टोलविकास संस्थाहरु लिलाचोक,सम्झनाचोक,नारायणीपथ,मेनरोड र नारायणीले उक्त हात्ती स्तम्भ निर्माण गरिरहेका छन् ।
पाँच टोलको संयुक्त टोलविकास संस्थाका अध्यक्ष दिपक शाहीले काम स्थगित नभएको बताए । उनले भने,“वडाले स्वीकृत दिइसकेको कुरा के को स्थगित ? आज पुस १५ भएकाले काम गर्नेहरु चाडपर्व मनाउन गएका हुन् । भोलि विहानै बाट काम सुरु हुन्छ ।”

“हात्ती स्तम्भ भनिदिएको भए सवैले हाइ हाइ गर्थे तर घर भनेर उद्योग वाण्ज्यि संघले प्रचार गरेछ । हामीले गरेको राम्रो कामलाई उद्योग वाणिज्य संघले सधैँ विरोध गर्दे आइरहेको छ। सुका मोहर उठाएर त्यत्रो विकास गर्न लागेको छौँ । घुम्न आउने पर्यटकको मनोरन्जका लागि टोलवासीले गराउन लगाएको हो । गल्ती बनाउन लगाएको त होइन । पहिला भएको हात्तीले समेत यो ठाउँ चिनाएको थियो”, उनले भने । नयाँ बन्न लागेको हात्ती स्तम्भमा राखिने हात्तीलाई बर्खायाममा बाढीले नबगाओस भनेर निकाल्न मिल्नेगरी तयार गर्न लागिएको अध्यक्षले शाहीले बताए ।

  • प्रकाशित मिति : पुस १५, २०७७, बुधवार ०८:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८