• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

केन्द्रको बाछिटा हेटौँडासम्म, मुख्यमन्त्री पौडेल धरापमा


केन्द्रको बाछिटा हेटौँडासम्म, मुख्यमन्त्री पौडेल धरापमा

उनीहरुले सवा एघार बजे प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

पौष १०,२०७७
हेटौँडा । पछिल्लो समय नेकपाको केन्द्रमा देखिएको राजनीतिक ध्रुवीकरणको बाछिटा पनि प्रदेश सरकारमा पनि पर्न थालेको छ । शुक्रवार वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
दाहाल– नेपाल पक्षिय समूहका ४५ जना प्रदेशसभाका सदस्यहरुले सामुहिक रुपमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले अष्टलक्ष्मी शाक्यलाई प्रदेश सम्हाल्न प्रस्ताव गरेका छन् ।
साथै शुक्रवार नै वागमती प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

पुस ५ गते संसद् विघटन भएपछि त्यस विरुद्ध नेकपामै दुई गुट देखिएका छन् । त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ ।

हिसाब यस्तो छ

एक सय १० सदस्यीय वागमती प्रदेश सभामा बहुमतका लागि ५६ जनाको आवश्यकता पर्छ । प्रचण्ड–नेपाल पक्षमा ४६ जना देखिएकाले उनीहरू मात्रले नयाँ सरकार बनाउन नसक्ने देखिन्छ ।

प्रदेश सभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपाका दुई, नेमकिपा दुई र एक स्वतन्त्र सांसद छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षका ४६ जना छन् ।

दुवै समूहलाई सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ आवश्यक देखिएको छ। साना दलको मतले नयाँ सरकार गठन हुने सम्भावना नरहेकाले नयाँ सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य देखिएको छ ।

ओली पक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । तत्कालीन एमालेबाट प्रदेश संसदीय दलको निर्वाचनमा ओली पक्षका पौडेलले नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई दश मतले हराएर दलका नेता बनेका थिए । पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए ।

  • प्रकाशित मिति : पुस १०, २०७७, शुक्रवार ०९:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८