• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना

  • खबरदाता

बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना

बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् ।

“यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ ।

भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।

“करिब एक महिनाअघि पनि यस्तै प्रणालीले नेपालमा भारी वर्षा गराएको थियो, जुन पूर्वानुमान गरिएको समयभन्दा एक दिनअगावै सुरु भएको थियो,” मौसमविद् पोखरेल लेख्छन्, “त्यसैले यसपटक पनि वर्षा सुरु हुने समय, स्थान र मात्रा केही फेरिन सक्छ ।”

अहिले विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” उनले लेखेका छन् ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०८३, शुक्रवार १२:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८