• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा नागरिकता पाउन १० दिन, प्रतिलिपि लिन ७ दिन


चितवनमा नागरिकता पाउन १० दिन, प्रतिलिपि लिन ७ दिन

कार्यालय बाहिरै सेवाग्राहीले प्रष्ट रुपमा देखिने ठाउँमा टाँसीएको नागरिक वडापत्रमा भने नयाँ नागरिकता र प्रतिलिपि कागजपत्र पुरा भएको अवस्थामा सोही दिन पाउने प्रष्ट उल्लेख गरिएको छ ।

केपी शर्मा,  पौष १०, २०७७
चितवन । चितवनमा नयाँ नागरिकता र प्रतिलिपि पाउनका लागि नागरिकलाई हम्मे हम्मे पर्न थालेको छ ।
जिल्लाभरी रहेका सरकारी कार्यालयलाई निर्देशीत गर्ने जिल्ला प्रशासन कार्यालयमै नागरिकता लिन जिल्लावासीहरुलाई सकस पर्न थालेको छ । कागजपत्र बुझाएकै दिन नागरिकता र प्रतिलिपि पाउँदै आएका सेवाग्राहीले अहिले भने सात देखि १० दिनसम्म कुर्नु परेको छ । कार्यालय बाहिरै सेवाग्राहीले प्रष्ट रुपमा देखिने ठाउँमा टाँसीएको नागरिक वडापत्रमा भने नयाँ नागरिकता र प्रतिलिपि कागजपत्र पुरा भएको अवस्थामा सोही दिन पाउने प्रष्ट उल्लेख गरिएको छ । १० दिनपछि सेवा पाउने चिट्कटो बोक्दै बडापत्रकै अगाडिबाट सेवाग्राही फर्कन वाध्य छन् ।

राप्ती नगरपालिका विरेन्द्रनगरका नरेश्वर सापकोटाले आठ दिनपछि नागरिकताको प्रतिलिपि निकाल्ने पालो पाए । तर हातमा टोकन लिएका उनले भने,“आज पनि प्रशासन आउँदा आफूले फारम बुझाएको अघिल्लो दिनकै मानिस बाँकी छ भनेर भनिरहेका छन् । आज शुक्रवार हो सम्भावना कमै देखियो । ”

कालिका ४ पदमपुरका दिलराम महतोले पनि नयाँ नागरिकताको लागि पौष ४ गते नै कागजपत्र बुझाई पौष १० गतेको टोकन पाएका थिए । उनी आज शुक्रवार नागरिकता पाउने आशामा थिए । तर त्यो आशा निराशामा परिणत भयो । प्रशासनका कर्मचारीले तिम्रो त पुलिस रिपोर्ट चाहिन्छ भनेपछि उनलाई के गरुँ र कसो गरुँ भाछ । महतोले गुनासो गरे,“सुरुकै दिन पुलिस रिपोर्ट चाहिन्छ भनिदिएको भए म यत्रो खाली दिनमा रिपोर्ट बनाउने थिएँ नि ।” यो त दुख दिने मेलो भो, ६५ वर्षीय वुवासँग आएका उनले भने ।

 

उता राप्ती ८ खुरखुरेका सुदर्शन पाठकको पनि समस्या उस्तै छ। उनले पौष ५ गते नयाँ नागरिकताका लागि निवेदन पेश गरे । आज आउँदा २ बजेतिर पालो आउँछ भन्दैछन् तर आज शुक्रवार भएकाले उनले नागरिकता पाउने आशा मारिसकेका छन् । तर पनि नाम आइहाल्छ कि वाहिर चौरमा बसेर कुरीरहेका छन् ।

भरतपुर २४ जगतपुरबाट पदम बहादुर श्रेष्ठ नयाँ नागरिकताका लागि प्रशासन आए । उनले फर्म भरे । कागजपत्र बुझाए । नागरिकताको ठाउँमा उनलाई जिल्ला प्रशासनको सोधपुछ कक्षका कर्मचारीले पौष १९ को चिट्कटो थमाइदिए । श्रेष्ठले भने,“अर्जेन्ट थियो, १९ गतेलाई चिटकटो दियो । ”

चम्पा कुमारी कुमालको वेथा अझ ठूलो छ । उनी भरतपुर २८ मेघौलीबाट आफ्नी छोरीको नागरिकता निकाल्न आएकी हुन् । तर उनीसँग भएको आफ्नो नागरिकता बुझिएन् भन्दै प्रतिलिपि निकालेर पेश गर्न कर्मचारीले भने । अहिले उनी आफ्नो प्रतिलिपिको लागि फाइल तयार गर्दैछिन् ।

उनले भनिन्,“ मेरै प्रतिलिपिका लागि सात दिन लाग्ने रे । त्यसपछि छोरीको नयाँ नागरिकता निकाल्न अरु १० दिन । पढाइको शिलशिलामा छोरीको नागरिकता उनलाई २, ४ दिनभित्रैमै चाहिएको थियो । तर सम्भव भएन । त्यति मात्रै होइन कागज पत्र के कसो चाहिन्छ भनेर सोधपुछ गर्दा एउटा झ्यालबाट अर्को झ्यालमा जा भन्ने , त्यता गए उता जा भन्ने व्यवहार राम्रो भएन। हामी पनि यहीका नागरिक हौँ। जे सोध्दा पनि कर्मचारी झर्कन्छन् ।”

यता खैरहनी ८ चैनपुरकी मनकुमारी अधिकारी भने निकै खुशी थिइन् । उनले १०÷११ दिनको प्रयासमा नागरिकता पाइन्, त्यो पनि प्रतिलिपि ।


यस विषयमा खबरमुलुक प्रतिनिधिले सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासँग बुझ्ने प्रयास गर्दा उनले भने,“ अहिले राष्ट्रिय परिचय पत्र फारम भर्नुपर्ने भएकाले यस्तो समस्या आएको हो । यो समस्या अझै एक हप्ता सम्म हुनसक्छ । किनकी अहिले इच्छाकामनामा राष्ट्रिय परिचय पत्र फारम भर्ने काम भइरहेको छ। राष्ट्रिय परिचय पत्र फारम भर्दा प्रष्ट बुझिने नागरिकताको सक्कल आवश्यक पर्ने भएकाले प्रतिलिपि निकाल्नेको सख्यामा वृद्धि भएको हो । ”

जिल्ला प्रशासनमा भीडभाड बढेँसँगै प्रशासनका कर्मचारीहरुले असामान्य व्यवहार देखाउन थालेका छन् । कुनै पनि सेवाग्राहीले प्रशासनका कर्मचारीप्रति सकारात्मक कुरा गरेनन् । कुनै कुराको जानकारी लिन खोज्दा कर्मचारीहरु झर्कने, कागजपत्र मिलेन भनेर झ्यालबाट बाहिर फालिदिने, हचुवाको भरमा भोलि आउनुहोस भनिदिने जस्ता व्यवहार गरेको सेवाग्राहीहरुले हाम्रा प्रतिनिधिसँग गुनासो गरेका छन् ।

यस विषयमा शर्माले भने,“हुँदै होइन पनि भन्न सक्दिन । तर पूर्ण रुपमा विश्वास पनि छैन । किनकी हामीले कर्मचारीलाई नरम व्यवहार गर्न दिनहुँ निर्देशीत गर्छौँ । कामको चापले कसै कसैले सो खालको व्यवहार देखाउन पनि सक्छन् । ”

अहिले प्रशासनले कर्मचारीलाई भित्रै चियाखाजाको व्यवस्था समेत गरी काम लगाइरहेको उनले बताए ।

  • प्रकाशित मिति : पुस १०, २०७७, शुक्रवार ०७:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८