चितवन जस्तो जिल्लामा जनतासँग प्रत्यक्ष सरोकार रहेको वन्दीगृहका लागि तीन वर्षसम्म १० विघा जग्गा उपलब्ध नहुनु आश्चर्यको कुरा हो ।
केपी शर्मा, पौष ८, २०७७
चितवन । आवश्यक स्थानमा आवश्यकता अनुसारको जग्गा उपलब्ध हुन नसकेपछि चितवनमा निर्माण गरिने भनिएको सुधारिएको वन्दीगृह निर्माण कार्य अलपत्र परेको छ ।
करिव ३ बर्ष अगाडिदेखि वन्दीगृह निर्माणका लागि जग्गा खोजिको कार्य जारी छ । तर अहिलेसम्म उपयुक्त जग्गा पाउन सकिएको छैन ।
भरतपुर कारागारको क्षमता भन्दा तेब्बर बढी कैदीवन्दी भएपछि र अरुपनि थपिदै जाने अवस्था आएपछि नयाँ सुधार गृहको महसुस गर्दै सरोकारवालाहरुले उक्त योजना अगाडि ल्याएका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतकै पालामा सुधारिएको वन्दीगृहको निर्माण कार्यको अवधारणा आएको थियो । उक्त अवधारणाको करिव तीन वर्ष पुग्न लाग्दा सम्म जग्गा नभेटिएको हालका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए ।
उनले भने,“हामीले धेरै ठाउँको जग्गा हेरिसकेका छौँ । तर पनि अहिले सम्म भइहाल्छ भन्ने स्थान फेला परेको छैन । जग्गा नपाएको होइन तर कुनै जग्गा टाढा कुनै कम क्षेत्रफलका भएकाले एकीन गर्न सकिएको छैन । ”
उनले भने,“अदालत र अस्पताल नजिक भएको ठाउँ आवश्यक पर्ने भएकाले पनि हामी उपयुक्त जग्गाको खोजीमा छौँ । उनले थपे,“टाढा जान सकिएन , नजिकमा जग्गा पाइएन । ”
भट्टराइका अनुसार सुधार गृहको रुपमा बनाइने कारागारलाइ व्यवस्थित गराउनका लागि कम्तिमा १० विघा जग्गा आवश्यक पर्दछ । कम्तिमा पनि आठ विघा त चाहियो नै । किनकी चितवन मध्य क्षेत्र भएकाले सवैतिरबाट सुविधाका हिसावले कैदीहरु यही आउन रुचाउँछन् ।
हाल रहेको करागार कार्यालय भरतपुरको क्षमता २५ जना महिला र २५५ जना पुरुष गरी जम्मा २८० जनाको मात्रै हो । तर अहिले पनि उक्त कारागारमा ७ सय बढी कैदीवन्दी रहेका छन् । उनीहरु एकदमै कष्टकर जीवन विताइरहेका छन् । वि.स. २०२५/०२६ साल तिर निर्माण गरिएको उक्त कारागारलाई जोडजाम गरी यतिका कैदीहरु राखिदै आउनुपर्ने वाध्यतात्मक अवस्था रहेको जेलर कमलप्रसाद काफ्लेले बताए ।
अहिले उक्त कारागारको क्षेत्रफल १ विघा ९ कठ्ठा साँढे ७ धुर रहेको छ । उक्त क्षेत्रफल भित्रै कैदीवन्दी राख्ने चार वटा व्लक, प्रशासनिक भवन, चमेना गृह, खेल मैदान, सामान्य कारखाना छन् । अहिलेको परिप्रेक्षमा सुधारिएको कारागार बनाउने हिसावले हेर्ने हो भने २८० जनालाई पनि यो क्षेत्रफल कम हुन जान्छ । तर यहाँ ७ सय वढी कैदीवन्दी छन् । हामी सोझै अनुमान लगाउन सक्छौँ उनीहरु कुन अवस्थामा रहने बस्ने गर्छन् ।
करिव ५२ वर्ष अगाडिको अवधारणामा निर्माण गरिएको भरतपुर कारागारको अवस्था दयनीय छ । खानेपानी, ढल निकास,शौचालय लगायत अत्यावश्यक कुराहरुकै लागि समस्या नै समस्या रहेको जेलर काफ्लेको भनाई छ ।
अहिलेको नयाँ अवधारणा अनुसार सुधारिएका वन्दीगृह भित्र उचित फोहोर व्यवस्थापन, ढल निकासको प्रवन्ध, उचित खानेपानी, पर्याप्त शौचालय, खेल मैदान, व्यायामशाला, पुस्तकालय, सामान्य कारखाना, व्यवस्थित प्रतिक्षालय सहितको प्रसस्त ठाउँको व्यवस्था हुनेछ । अव बनाइने वन्दीगृहमा १ हजार देखि १५ सय सम्मको क्षमता रहनेगरी बनाइने हुनाले त्यसको लागि कम्तिमा १० विघा क्षेत्रफलको जग्गा आवश्यक पर्ने जेलर काफ्लेको भनाई छ।
“कारागारमा आएका जोकोही बन्दीलाई सरकारले सुधार गर्ने उद्देश्यले पठाएको हुन्छ । त्यसैले हरेक कुराको सुविधा उपलब्ध गराएर उनीहरुलाई नयाँ जिवनशैलीमा पुर्याउनु सरकारको दायित्व हो । त्यसैले त सुधारगृहलाई हामी परिमार्जन गर्न खोजीरहेका छौँ” , प्रमुख जिल्ला अधिकारी भट्टराइले भने ।
यदी उपयुक्त जग्गा उपलब्ध भए चितवनमा निर्माण गरिने वन्दीगृहलाई अर्थमन्त्रालयले बजेट विनियोजन गर्नेछ भने पछिल्लो समय प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि यस विषयमा चासो देखाएको छ । तर अहिले सम्म जग्गाको टुँगो नलाग्दा सुधारिएको वन्दीगृह निर्माणको योजना अलपत्र परेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८