पौष ८, २०७७
चितवन । चितवनको भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्रीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । निकै अगाडि देखि विरामी रहेका उनको सोमबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो । काफ्लेका अनुसार आन्द्रामा समस्या रहेको थियो।
२०७६ साल मंसिरमा पक्राउ परेका उनी मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवानाको सजाय कटाइरहेका थिए । कार्यालयमा अहिले ६९२ कैदी रहेका छन् । जसमध्ये ५७ जना महिला र दुई आश्रित बालबालिका छन् ।
कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ । लामो समयदेखि क्षमताभन्दा बढी कैदी राखिदै आएको छ । अस्पतालको सहज पहुँच हुने भएकाले अधिकाँश विरामी कैदीलाई यहाँ पठाउने गरिएको काफ्लेले बताए ।
यस अघि पौष १ गते पनि उपचारका क्रममा लागुऔषध मुद्दामा जेल जिवन विताइरहेका कास्की जिल्ला पोखरा महानगरापकिला २१ का ४२ वर्षीय जीतेन्द्र कार्कीको मृत्यु भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८