• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

गण्डकीमा ओली र वागमतीमा दाहाल समूह बलियो


गण्डकीमा ओली र वागमतीमा दाहाल समूह बलियो

पौष ७, २०७७
चितवन । यस अघि कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास ल्याएको ओली समूह अहिले कमजोर बनेको छ । तत्कालै नेपाल पक्षका सांसदले अविश्वास प्रस्तावबाट पछि हट्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा आफूलाई राखे पछि सो अविश्वास प्रस्तावको सङ्कट टरेको थियो । पछिल्लो घटना क्रम अनुसार शाही अझ बलियो बनेको जनाइएको छ ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखा परेको छ । लामो समयदेखि बस्न नसकेको बाग्मतीमा प्रदेश सभाको बैठक अझै अन्योल देखिएको छ । गत ८ साउन प्रदेशसभा सचिवालयको छैटौँ अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद् बैठक बस्न सकेको छैन ।
संसद् चल्ने बित्तिकै नेकपाको किचलो संसद्मा प्रवेश गर्ने डरले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद बैठक बोलाउन नसकेका नेकपाका एक सांसदले बताए।

नेकपाको किचलो संसद्मा बहस मात्रै नभई सरकारलाई नै अविश्वासको प्रस्तावसम्म आउन सक्ने भन्दै मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखलाई अधिवेशन आह्वानको घोषणा गर्न सकेको छैन। बाग्मती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्रीलाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डरले तत्काल बैठक नडाकेको देखिन्छ।

नेकपाको फुट पछि बाग्मती सरकार ढल्ने निश्चित रहेको जनाइन्छ । संसद् भङ्ग भएको र सत्तारुढ नेकपा विभाजन हुँदा प्रदेश सरकारको अङ्क गणित सुरु भइसकेको छ । नेकपा फुटेमा बाग्मती प्रदेश सरकार ढल्ने निश्चित देखिएको छ ।

संविधानको धारा १ सय ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासका मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित हुन नसकेमा आफ्नो पदबाट मुक्त हुने उपधारा ३ मा छ। यस्तै धारा १ सय ८८ को उपधारा ४ अनुसार एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव पनि पेस गर्न सक्ने व्यवस्था छ। यस कारण पनि नेकपा विभाजन भए बाग्मती प्रदेश सरकार ढल्ने निश्चित देखिएको हो।

डोरमणिको पक्षमा ३३ मात्रै सांसद

ओली निकट सांसदबाहेक बाग्मती प्रदेश सरकारमा मुख्यमन्त्री पौडेललाई कसैको साथ छैन । पौडेल यस अघि नै आफ्नै संसदीय दलभित्र अल्पमतमा परेका थिए । सत्तारुढ नेकपा बाग्मती प्रदेशको संसदीय दलमा रहेका ८० जना नेकपा सांसदमध्ये मुख्यमन्त्री पौडेललाई ३३ सांसदको मात्रै साथ रहेको जनाइन्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीनिकट सांसदहरूले मात्रै मुख्यमन्त्री पौडेललाई समर्थन गरेका छन्।
तर ओलीनिकट मानिने पूर्व मन्त्री केशव स्थापित पनि मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा छन् । प्रचण्ड र माधव नेपाल पक्षमा बाग्मती संसदीय दलमा ४७ जना छन्।

नेकपाका प्रभावशाली मानिने नेताहरू स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाई लगायत मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा सक्रिय रहँदै आएका थिए ।
तत्कालीन एमालेमा संसदीय दलमा ओली पक्षका सांसदको बहुमत भएपछि पौडेल मुख्यमन्त्री भएका थिए । पौडेलसँग प्रतिस्पर्धामा रहेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्य। उनी माधव नेपाल पक्षबाट उम्मेदवार बनेकी थिइन्। उक्त समयमा माओवादीसँग साङ्गठनिक एकता नभएकोले एमालेभित्रै नेकपा वरिष्ठ नेता माधव नेपाल गुट र ओली गुटमा मात्रै प्रतिस्पर्धा भएको थियो ।

पछिल्लो समय अवस्था फेरिएको छ। तत्कालीन एमालेभित्र रहेको ५८ मतमध्ये मुख्यमन्त्री डोरमणि पौडेललाई ३४ मत आएको थियो भने शाक्यलाई २४ मत आएको थियो ।
अहिले तत्कालीन माओवादी २२ मत र माधव नेपाल पक्षको २४ मत तथा मुख्यमन्त्री पौडेलसँग चिढिएका केशव स्थापितसहित पौडेल इतरमा ४७ मत भएको हो ।

बाग्मती र कर्णालीको भन्दा गण्डकी प्रदेशको अवस्था फरक छ । गण्डकीमा काँग्रेस, जसपा र नेकपाको दाहाल नेपाल समूह मिल्दा पनि ओली समूह भन्दा कमजोर रहेको जनाइन्छ । गण्डकी प्रदेशमा रहेको पकडकै कारण केपी ओली एमालेको नवौँ महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार १०:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८