पौष ७, २०७७
चितवन । चितवन जिल्लामा यस बर्ष धान उत्पादनमा कमी आएको छ । समयमै मनसुन सक्रिय भएर रोपाई सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचेअनुसार नभएको हो ।
कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार यस बर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती गरिएको थियो । उक्त क्षेत्रफलमा धान रोप्दा जिल्लाभर १ लाख ३ हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको छ । जवकी सोही क्षेत्रफलमा गत आर्थिक बर्ष २०७६/०७७ मा १ लाख १४ हजार ९०६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
चालु आर्थिक बर्षको उत्पादन विगत ३ आर्थिक वर्षको तुलनामा सवैभन्दा कम हो । चितवनमा गत आर्थिक वर्ष सवैभन्दा राम्रो राम्रो परिमाणमा धान उत्पादन भएको थियो । ज्ञानकेन्द्रकी सुचना अधिकारी सुरुची त्रिपाठीका अनुसार आर्थिक बर्ष २०७४/०७५ मा २७ हजार ७३५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७ हजार ३६२ मेट्रिकटन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा धात खेती गर्ने क्षेत्रफल घटेर २७ हजार ६५९ हेक्टरमा पुगेको थियो ।
सो क्षेत्रफलमा १ लाख १२ हजार ६७८ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसपछि क्षेत्रफल घटेर गत आर्थिक वर्ष २०७६/०७७ मा २७ हजार ३०५ मा सीमित भएको छ । तर यही वर्ष धान उत्पादन राम्रो भएको थियो भने चालु आर्थिक वर्ष सोही क्षेत्रफलमा वर्खे धान खेती गरिएको थियो ।
त्यस्तै जिल्लामा धान उत्पादकत्व क्षमतामा पनि ह्रास आएको छ । गत आर्थिक बर्षमा प्रति हेक्टर ४ दशमलव २१ मेट्रिक टन धान उत्पादन भएपछि यस वर्ष ३ दशमलव ७९ मा खुम्चिएको छ । त्यस अघि आर्थिक वर्ष २०७५/०७६ मा प्रति हेक्टर ४ दशमलव ०७ मेट्रिक टन धान फल्ने जिल्लामा यो वर्ष ह्रास आएको हो ।
चैते धानमा भने जिल्लामा समान परिमाणमा उत्पादन भएको छ । गत वर्ष ४ हजार ९१० हेक्टर क्षेत्रफलमा २० हजार ७५० मेट्रिक टन धान उत्पादन भएको थियो भने यो आर्थिक बर्षमा पनि सोही क्षेत्रफलमा समान परिमाणमा धान उत्पादन भएको ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।
जिल्लामा यस वर्ष वर्षे र चैते गरी कुल ३२ हजार २१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको र कुल १ लाख २४ हजार १६६ मेट्रिक टन धान उत्पादन भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८