• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

किन तिरे डा. देज गौतमले धरौटीको ८ लाख !

  • खवरदाता

किन तिरे डा. देज गौतमले धरौटीको ८ लाख !

धरौटी वापतको आठ लाख रुपैया डा. देजकुमार गौतमले व्यक्तिगत रुपमा तिर्दै गर्दा क्यान्सर अस्पताल संचालक समितिले भने अनविज्ञता प्रकट गर्नु शंकाको विषय बनेको छ ।

केपी शर्मा,    पौष २, २०७७
भरतपुर । पीसीआर परीक्षणमा महङ्गो शुल्क लिएको आरोप लागेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा देजकुमार गौतमले ८ लाख रुपैया धरौटी बुझाएका छन् ।
सरकारले तोकेको शुल्क भन्दा महङ्गोमा पीसीआर परीक्षण गराउँदै आएको क्यान्सर अस्पताल विरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले सो उजुरी बारेमा असोज २१ गतेबाट आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त अस्पतालले गैह्रकानुनी रुपमा महङ्गो शुल्क लिएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान पुरा गरी सरकारी वकील कार्यालय माफर्त जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । कालोबजारी अन्तर्गत दायर भएको उक्त मुद्दामा क्यान्सर अस्पताललाई ८ लाख रुपैया धरौटी बुझाउन प्रशासनले मंसिर ३० गते उक्त फैसला गरेको थियो ।

तर संस्थाले गरेको गल्ती कमजोरीमा अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले आफ्नो पकेटबाट उक्त धरौटी बरावरको आठ लाख रुपैया बुझाएका छन् । उनले आफ्नो पकेटबाट आठ लाख बुझाएपछि उक्त विषयले बजारमा ठूलै चर्चा पाएको छ । उनले यति ठूलो रकम आफ्नो पकेटबाट किन बुझाए भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

क्यान्सर अस्पतालका संचालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले यो विषयमा संचालक समितिलाई केही कुरापनि जानकारी नभएको बताए । संस्थाले आठ लाख रुपैया धरौटी काहिकतै नतिरेको समेत उनले बताए । “म यस विषयमा थप कुरा बुझ्नेछु,” डा लामिछानेले भने ।

यता धरौटी रकम बुझाएका डा गौतमले भने,“ संस्थाबाट आठ लाख रुपैया निकाल्न प्रकृया लामो हुने र धरौटी तुरुन्तै राख्नुपर्ने भएकाले मैले आफ्ने पकेटबाट बुझाएको हुँ । यसलाई संचालक समितिले निर्णय गर्नेछ ।”

यस्तै भरतपुरकै चितवन मेडिकल कलेजलाइ पनि सोही समयमा कालोबजारी अन्तर्गत मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा प्रमाण पुगेपछि १८ लाख धरौटीमा छाडी अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८