कोरोना महामारीमा एक शब्द नबोलेको भनेर जनताबाट आलोचना खेपेका गृहमन्त्री थापाले गृहजिल्लामा रहेको प्राकृतिक चिकित्सालयलाई स्वास्थ्य क्षेत्रकै उदाहरण बन्न सक्ने बताए ।
केपी शर्मा, मंसिर २९, २०७७
भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले भरतपुर १ स्थित वागेश्वरीमा रहेको योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा अस्थायी प्रहरी बीट राखिने बताएका छन् ।
वागेश्वरीमा रहेको योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयले गृहमन्त्रीलाई माग पत्र बुझाइ पहिलो प्राथमिकताका साथ सुरक्षा प्रबन्ध मिलाइदिन गृहमन्त्रीलाई अनुरोध गरेको थियो । मागपत्र बुझ्दै सोमवार गृहजिल्ला चितवन आएका गृहमन्त्री थापाले उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट राख्ने कुरामा आफू एकदम सकारात्मक भएको बताए।
आफ्नो गृहजिल्ला त्यसमाथि पनि आफू पटक पटक चिकित्सालय आएको र यो समस्यासँग पहिलेदेखि जानकार रहेकाले यसको समाधान गर्नलाई चाँडै नै आफूले प्रकृया थाल्न निर्देशन दिने बताए ।
रोगी नागरिकबाट समृद्ध नेपालको कल्पना गर्न नसकिने भएकाले सरकार स्वास्थ्य क्षेत्रप्रति संवेदशील रहेको उनले दावी गरे । उनले भने,“समृद्ध नेपाल सुखी नेपाली अर्थात निरोगी नेपाल सुखी नेपाली भन्ने नाराका साथ सरकार काम गरिरहेको छ । यस्ता चिकित्सालयहरुलाई भविष्यसम्म सुरक्षित राख्नु सरकारको दायित्व हो । त्यसैले यसको सुरक्षाका लागि प्रहरी बीट र यो क्षेत्रको तारवार तथा संरक्षणमा मेरो पहल रहनेछ । ”
विभिन्न दाताहरुको सहयोगबाट उक्त चिकित्सालय संचालन भइरहेको छ । आजको कार्यक्रममा पनि समाजसेवी उमाशंकर अग्रवालले प्राकृतिक चिकित्सालयलाई रु १ लाख १ रुपैयाको चेक हस्तान्तरण गरे । अग्रवाल यस क्षेत्रको विकास र समृद्धिको लागि रात दिन नभनी लागि परीरहेका छन् ।
प्राकृतिक चिकित्सालयले कोभिडको महामारीबीच चितवनमा महत्वपूर्ण भूमिका निभाएको छ । अस्पतालमा लाखौँको वील तिरेर विरामीको उपचार भइरहदा चिकित्सालयमा भने निशुलक त्यही पनि योग तथा प्राकृतिक उपचार पद्धतीद्धारा संक्रमितहरुको उपचार भइरहेको छ । हालसम्म ४११ जना संक्रमित भर्ना भएकोमा ३४२ जना निको भएर घर गइसकेका छन् ।
चिकित्सालयका निर्देशक डा हेमराज कोइरालाले कार्यक्रम संचालन गर्दै भने,“झोलामा सिटी स्क्यान र औषधिको पोको बोकेर आउँछन् । त्यस्ता विरामीलाई पनि प्राकृतिक पद्धतीद्धारानै हामीले उपचार गराई निको गराएर पठाउँछौँ । यही कारणले गर्दापनि सरकारले यहाँको विकासका लागि यो चिकित्सालयलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रको बजेट पनि पारिदिन अनुरोध गर्दछु ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८