• फागुन २, २०८१, शुक्रवार Friday, 14 February, 2025

सरकारको विरोधमा काँग्रेसलाई एमसीसीको चिन्ता


सरकारको विरोधमा काँग्रेसलाई एमसीसीको चिन्ता

तनहुँको पुलकाण्डबाट सुरु भएको काँग्रेसको विरोध प्रदर्शन चितवनमा आइपुग्दा सरकारले एमसीसी पास नगराएको झोँकमा आएर  टुङ्गिएको छ । 

केपी शर्मा,  मंसिर २९, २०७७
भरतपुर । नेपाली काँग्रेस चितवनले भरतपुरमा आज आफ्नो शक्ति प्रदर्शन गरेको छ । देशभर आजै विरोधसभा आयोजना गर्ने काँग्रेसको केन्द्रीय निर्णय अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
चितवनको विरोधसभामा सम्वोधन गर्दै पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकार निकम्मा भइसकेको र यसलाई घोषणा गर्नमात्र बाँकी रहेको बताए ।“सरकारको विरोध गर्न हामी यहाँ आएपनि उसको असली रुपको बारेमा उनीहरुभित्रकै आन्तरिक द्वन्द्वले बताइसकेको छ, उनले भने ।
चीनसँग सम्बन्ध विग्रीएलाकी भनेर यो सरकारले एमसीसी पास गर्नलाई चासो नदेखाएको उनको आरोप थियो । बाहिर बाहिर लोकाचार, भित्रभित्र पोकोपार भनेझैँ एमसीसीको पक्षमा सरकार उत्रिने तर पास गराउन पछि हट्ने ढुलमुले चरित्रले एमसीसी पास हुन नसकेको उनले बताए । जुन कुराले नेपाललाई कायापलट  गर्न सक्ने बजेट अनुदान प्राप्त हुने थियो ।

करिव ६० अर्व रुपैया अनुदान आउँदा देशमा ठूलै परिवर्तन हुने उनले दावी गरे । “न यो ऋण हो न यो हामीले फिर्ता नै गर्नुपर्छ । यो हाम्रो एजेण्डा हो । हामी यसलाई पास गराउन जोडदार लागिरहेका छौँ । तर सरकार खेलाचीँ खेलाचीँमा समय गुजारी रहेको छ ।” काँग्रेसका पालादेखि सुरु भएको एजेण्डा भएकाले यो सरकार यसलाई पास नगराउने पक्षमा लागेको उनको तर्क थियो ।

सरकारले विकासका नाउँमा एक सिन्को पनि भाँचेको छैन । हामीले नै तयारी गरेको फाउण्डेसनलाई उसले प्रयोग गरिराखेको छ । अहिले निर्माणाधीन लोकमार्ग म अर्थमन्त्री भएको पालाको आयोजना हो । वर्तमान कम्युनिष्ट सरकार आफूले गरेको आयोजना भन्दै ढ्वाङ फुकिरहेको छ ।

अहिले सरकारको काम भनेको पुराना आयोजना र निर्माण सम्पन्न भइसकेका स्थानहरुको नाम परिवर्तन गर्नेमा सीमित रहेको छ । हामीले बनाएका सडकहरुमा कहिले पुष्पलाल मार्ग लेख्छ कहिले मदन भण्डारी टोल लेख्छ, उनले भने ।


“सडकमा राजा चाहियो भन्दै गणतन्त्र विरोधी नाराहरु चर्किरहदा एक शब्द बोल्न नसक्ने कम्युनिष्टको सरकार तनहुँमा आफ्नै पालाबाट निर्माण सुरु भएको पुल उद्घाटन गर्न गएका हाम्रा नेता रामचन्द्र पौडेललाई घेरावन्दी पार्दै घण्टौँ सम्म नियन्त्रणमा लिनुले यो कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको छर्लङ्ग हुन्छ”, उनको आरोप थियो ।

कार्यक्रममा सम्वोधन गर्दै जिल्ला सभापति जित नारायण श्रेष्ठले काँग्रेसलाइ नजिस्काउन सरकारलाई चेतावनी दिए । प्रदेश नम्वर २ को प्रसंग जोड्दै उनले भने,“ओलीका कार्यकर्ताले प्रचण्डका कार्यकर्तालाई कुटी कुटी मारिरहेका छन् । यसबाट केपी ओली सरकार के गर्दैछ भन्नेकुरा प्रष्ट बुझिन्छ ।” भरतपुर महानगरको चुनावलाई लक्षित गर्दै श्रेष्ठले भने, “हामीले जे चाह्यौँ चितवनमा त्यही हुन्छ । हामीले हाम्रै कारणले महानगरमा महारानीको राज भइरहेको छ । ”

भरतपुरको चौविस कोठीबाट सुरु भएको विरोध र्याली नारायणगढको पुल्चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रम चितवन जिल्लाका काँग्रेस सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा भएको थियो भने सचिव उत्तम जोशीले सहजीकरण गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर २९, २०७७, सोमवार १०:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८