• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

लकडाउनले राजश्व असुलीमा धक्का, चितवनमा गतवर्ष भन्दा ५२ प्रतिशत कम असुली

  • खवरदाता

लकडाउनले राजश्व असुलीमा धक्का, चितवनमा गतवर्ष भन्दा ५२ प्रतिशत कम असुली

मंसिर–२४, २०७७

चितवन । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना भाइरस कोभिड १९ र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको अवधिमा संकलित राजश्वको ५२ प्रतिशतले कम राजश्व संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को कार्तिक सम्म जम्मा रु. ४ अर्ब ९२ करोड ८४ लाख ९७ हजार असुली भएको छ । जवकी यही अवधिमा आर्थिक वर्ष २०७६÷०७७ मा १० अर्ब २७ करोड ६८९ रुपैया संकलन भएको थियो । त्यस्तै चालु आर्थिक बर्षको यही अवधिसम्मका लागि दिएको लक्ष्य समेत पुरा हुन सकेको छैन । चालु आर्थिक बर्ष २०७७÷०७८ को पहिलो चौमासिकमा ६ अर्ब ५ करोड २४ लाख ७५ हजार लक्ष्य दिएकोमा ८१ दशमलव ४३ प्रतिशत संकलन भएको छ । राजश्व असुलीमा सवैभन्दा बढी योगदान अन्तः शुल्कले दिएको छ ।

चालु आर्थिक बर्षको यो अवधिमा मात्रै ३ अर्ब ६७ करोड ७३ लाख ९३ हजार संकलन भएको छ । दोस्रो ठूलो योगदान मूल्य अभिवृद्धी करबाट रहेको छ । जुन शीर्षकबाट ६८ करोड ७७ लाख ७० हजार संकलन भएको छ । आयकर, बहालकर र व्याजकरबाट ५५ करोड ९३ लाख ८९ हजार संकलन भएको आन्तरिक राजश्व कार्यालयका कर्मचारी कपिल राज नेपालले जानकारी दिए । उक्त रकम संकलनमा आयकरबाट ५० करोड २४ लाख ४२ हजार, बहालकरबाट ८५ लाख ६९ हजार र व्याजकरबाट ४ करोड ८३ लाख ७८ हजार रुपैया संकलनले आयकर माथिको आकारमा उठेको हो ।
त्यस्तै शिक्षा सेवा शुल्कबाट ३९ लाख ४३ हजार र स्वास्थ्य सेवा करबाट २ हजार राजश्व संकलन भएको हो ।

चालु आर्थिक बर्षको कार्तिक महिनामा मात्रै १ अर्ब ३६ करोड १२ लाख ८० हजार संकलन भएको छ । जहाँ १ अर्ब ४४ करोड ३९ लाख ७३ हजार लक्ष्य राखिएको थियो । कार्तिक महिनामा पनि अन्त शुल्कबाट मात्रै १ अर्ब ४ करोड ३ लाख ५७ हजार संकलन भएको छ । दोस्रो ठूलो योगदान मूल्य अभिवृद्धी करबाट रहेको छ । जुन शीर्षकबाट १९ करोड ८४ लाख १८ हजार संकलन भएको छ । आयकर, बहालकर र व्याजकरबाट १२ करोड ११ लाख ८१ हजार संकलन भएको आन्तरिक राजश्व कार्यालयका कर्मचारी कपिल राज नेपालले जानकारी दिए ।

चालु आर्थिक बर्षभरको वार्षिक लक्ष्य भने १८ अर्ब ९० करोड ९० लाख ४ हजार रुपैया रहेको छ । यही लक्ष्यको २६ दशमलव ०६ प्रतिशत पहिलो चौमासिकमा संकलन भएको छ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७७, बुधवार १४:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८