मंसिर–२४, २०७७
चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ । पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माण देखि दुर्घटना न्यूनिकरणका लागि जनप्रतिनिधिको सक्रियता बढ्न थालेको छ ।
टिकौली जंगलबाट सुरु हुने पूर्वी चितवन जहाँ रत्ननगर, कालिका, खैरहनी र राप्ती गरी चारवटा नगरपालिका पर्दछन । यीनै नगरपालिकाले राजमार्गलाई छुने २५ किलोमिटरमा सवारी दुर्घटना बढ्दै गएको देखिन्छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर, चितवनका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटना न्यूनिकरणकालागि अनेक उपाय अपनाएको बताए तरपनि यस क्षेत्रमा दुर्घटना न्यूनिकरण हुन अझै सकेको छैन् । चालु आर्थिक वर्षको ४ महिनामा मात्रै २३ वटा सवारी दुर्घटनामा १२ जनाले अकालमै ज्यान गुमाएका छन भने ४१ जना घाइते र ४३ वटा सवारीसाधन पूर्ण रुपमा क्षति भएकाछन् ।
अकालमै ज्यान जाने गरी हुने दुर्घटना न्युनिकरणका लागि साँघुरो सडक नै कारक रहेको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले बताए ।
प्रत्येक स्थानीय तहका लागि कति गाडी आवश्यक पर्छ ? र जनसख्या कति छन् त्यसको समेत निक्र्योल गरी योजना बनाउनुपर्नेमा उनको सmुभाव छ । कालिका नगरपालिकामा पनि दुर्घटना न्यूनिकरणका लागि घुम्ती तथा चोकमा सीसीटिभ जडानका काम भई रहेकाछन् । यसले दुर्घटना न्यूनिकरणमा टेवा त पुगेको छ नै ट्राफिक प्रहरीसँग सहकार्य गरी गुरुयोजनानै बनाएर काम थाल्नु पर्नेमा नगरप्रमुख खुमनारायण श्रेष्ठको जोड छ । सडक विस्तारका लागि सहजै जग्गा दिन स्थानीय तयार नरहने , निर्माणका कार्य चाँडै सम्पन्न नहुने लगायतका समस्या रहने भएकाले चेतना फैलाउने र नियम प्रभावकारी पालना गर्नेनै मुख्य समाधान भएकोमा जोड दिए ।
सानो परिवार सुखी परिवारमा रमाउनेहरु पनि अकालमै सन्तान गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने राप्ती नगरपालिकाकी मेयर प्रभा बरालको भनाई छ । वर्षौँ पहिलेको जनघनत्व, त्यो समयको सवारी आकार र सख्या हेरी बनाएको सडक अझै विस्तार हुन नसक्नु दुर्घटनाको मुख्य कारण भएको उनको बुझाई छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले धेरै खालका विपत मध्य सवारी दुर्घटना दोस्रोमा आउने भन्दै यसलाई रोक्न ठोस काम गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा लैजान बिशेष योजनाको तयारी रहेको बताउँछन् । स्थानीय तहले पनि दुर्घटना न्यूनिकरणकालािग सडकलाई प्रविधिमैत्री बनाउने, लोथरमा चेक प्वाइन्ट निर्माण गर्ने, खैरहनीमा रिफ्रेस सेन्टर बनाउने लगायतका कार्ययोजनालाई अगाडि सारेको छ । सबैको साझा प्रतिबद्धता र योजनाहरु कार्यान्वनय गर्न सके अकालमै ज्यान जानेहरुलाई बचाउन सकीने उनीहरुको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८