• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौती, अन्तिम गणनापछि १५७ गैँडा मरे

  • खवरदाता

दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौती, अन्तिम गणनापछि १५७ गैँडा मरे

मंसिर–२४, २०७७

चितवन । विश्वमै दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौति देखिएको छ । सन् २०१५ मा गैँडा गणना गर्दा नेपालभर ६४५ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ थिए । तर पछिल्लो समय गैँडा गणना त भएको छैन तर १५७ वटा गैँडा मरिसकेको तथ्याङ्क छ ।

विस २०३० साल असोज ४ गते चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । विश्वमै दुर्लभ एक सिँगे गैँडाको मुख्य वसोवास स्थल हो चितवन राष्ट्रिय निकुञ्ज । विश्वभर हुने पाँच प्रजातिका गैँडामध्ये एक सिँगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । सन् २०१५ मा गरिएको गणना अनुसार नेपालभर ६४५ गैँडामध्ये ६०५ यही निकुञ्जमा रहेको पाइएको थियो । तर चालु आर्थिक वर्षको मंसिर २३ सम्म आउँदा १७ वटा गैँडा मरिसेकका छन् । जसमध्ये ४ वटा तस्करहरुको निशानामा परे ।

गैँडा गणनापछिका दिनमा १५७ वटा गैँडा मरेको तथ्याङ्क निकुञ्जसँग रहेको हो । घना जंगल, सीमित कर्मचारी, गैँडा बासस्थानको व्यवस्थापनमा बजेट अभाव, चोरी सिकारी र अतिक्रमण लगायतका कारण गैँडा जोगाउन चुनौति थपिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

कुनै समय ८०० सम्म पुगेको गैँडा ६० वटासम्म झरेको थियो । निकुञ्ज स्थापनापछि बढेको गैँडा जोगाउन सफल भएको भन्दै केही वर्ष शुन्य चोरी सिकारी वर्ष भनि मनाइएको थियो । तर फेरि तस्करहरुबाटै गैँडा मरेपछि निकुञ्जको टाउको दुखाई बनेको छ । तर पनि आफ्नो सक्रियता बढाएको निकुञ्ज प्रमुख बरालले बताउँछन् ।

निकुञ्जको सुरक्षार्थ खटिएको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले नारायणी नदीमा आउने बाढी, कोरोना महामारी, प्रविधिजन्य उपकरणमा आएको खरावीले थप चुनौति थपिएको बताए । तर अहिले विस्थापित पोष्टहरु थपेर निगरानी बढाएको बताउँदै संवेदनशील स्थानको पहिचान गरेर थप अप्रेसनहरु चलाइएको उनको भनाई छ ।

तस्कर नियन्त्रणको पाटोसँगै गैँडाका लागि आवश्यक घाँसे मैदान, पोखरी निर्माण र ताल मर्मतको कामलाई पनि निकुञ्जले तिव्रता दिएको छ । घाँस र पानीको खोजीमा बस्तीतिर जाने र द्धन्द्ध बढ्न सक्ने जोखिमलाई ध्यान दिएर काम सुरु भइसकेको सहायक संरक्षण अधिकृत शिवलाल गैरेले बताए ।

कुनै समय एकै वर्षमा ३७ वटा गैँडा तस्करहरुले मारेको रेकर्ड भएको निकुञ्जमा त्यो अवस्था आउन नदिन सरकारले पनि विशेष चासो दिन जरुरी रहेको छ । केही दिन अघि संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि गैँडा संरक्षणमा चासो देखाउदै छलफल गरेर गएको छ । गैँडा हेर्नैका लागि विश्वभरका पर्यटक उत्रने चितवनमा यसको संरक्षणमा गम्भीर भएर लाग्नुको विकल्प देखिदैन ।

  • प्रकाशित मिति : मंसिर २४, २०७७, बुधवार १४:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८