• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भरतपुरमा सिटीहल : ८७ करोड लागत, २७ महिनामा बन्ने


भरतपुरमा सिटीहल : ८७ करोड लागत, २७ महिनामा बन्ने

सम्झौताको मितिले २७ महिनाभित्रमा अर्थात २०७९ साल फागुन महिनामा उक्त सिटीहल निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिसक्नु पर्नेछ ।  सिटीहल निर्माणको लागत ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैया ७२ पैसाको रहनेछ ।

केपी शर्मा, मंसिर २१, २०७७

भरतपुर । लामो समयदेखि जग्गा छनौट प्रकृयामा अल्मलिएको सिटीहल अन्ततः निर्माण हुने भएको छ । भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको जग्गा उपलब्ध गराउने भएपछि सिटीहल निर्माणका लागि सम्झौता समेत भएको छ ।

इन्डो सगुन रौताहा जेभी कम्पनी बुटवल र शहरी विकास डिभिजन कार्यालयका वीच मंसिर १८ गतेनै सम्झौता भएपनि यसको आधिकारिक जानकारी भने मंसिर २० गते शनिवारमात्रै गराइएको थियो ।
उक्त कम्पनीले ८७ करोड बढिमा सिटी हल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको शहरी विकास डिभिजन कार्यालयका इन्जिनियर माधव कटवालले जानकारी दिए । उनका अनुसार भ्याट रहित १ अर्ब ६ करोड लागत अनुमान गरिएको उक्त महत्वकाक्षी योजनामा २६ प्रतिशत कम लागतमा निर्माण सम्पन्न गर्ने गरी इन्डो सगुन रौताहा जेभीसँग सम्झौता गरिएको हो । उसले भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैया ७२ पैसामा उक्त सिटीहल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेछ ।

हालको जिल्ला समन्वय समितिसँगै बाइपास रोडसम्म जोडिएको खाली जमिनमा उक्त सिटीहल निर्माण हुँदैछ । २ हजार जना सम्म अटाउने क्षमता भएको एउटा ठूलो सभाहल र ३ सय जनासम्मको क्षमता भएको अर्को सानो हल गरि मुख्य दुई वटा हलहरु रहनेछन् ।

सिटीहल निर्माणका लागि जिल्ला समन्वय समितिको पछाडी छुट्याइएको खाली जमिन :             खबरमुलुक

४ विगाहा क्षेत्रफलमा निर्माण हुन लागेको सिटीहलको मुख्य प्रवेशद्धारा बाइपास रोडमा रहने छ भने बहिर्गमन हुने अर्को द्धार जिविस कार्यालयसँगै रहने इन्जिनियर कटवालले जानकारी गराए ।
आधुनिक सभाहलमा सुविधासम्पन्न सिटहरु,साउण्ड सिस्टम, लाइट, एयरकुलर रहनेछन् । साथै उक्त क्षेत्रफलमा अनुमानित सात सय साना चारचक्के सवारी साधन र १२ सय सम्म दुइ पाँग्रे सवारी साधन पार्किङ गर्न सकिने पार्किङ स्थलको निर्माण गरिनेछ ।

उक्त कम्पनीसँग गरिएको सम्झौतामा सम्झौता भएको मितिले २७ महिनाभित्र अर्थात् विस २०७९ सालको फागुन महिनामा उक्त हल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेछ ।
सिटीहल निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरिसकेको र डिपिआर सहित बातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत सम्पन्न भइसकेको छ ।

प्रत्येक प्रदेशमा एउटा आधुनिक सुविधा सम्पन्न सिटी हल निर्माण गर्ने सरकारको योजना अन्तर्गत उक्त सिटीहल निर्माण गरिएको हो । अहिले यो भन्दा साना हलहरु चितवनमानै निर्माण भइरहेका छन् । रत्ननगरको टाँडीमा निर्माणधीन सभाहल निर्माण कार्यको अन्तिम चरणमा रहेको छ भने सौराहामा पनि अर्को सभाहल निर्माण भइरहेको छ ।

सिटीहल निर्माण सम्पन्न पश्चात उक्त स्थानमा राष्ट्रिय स्तरका सम्मेलन, गोष्ठी, सेमिनार, कन्भेन्सन तथा नाटक लगायतका कार्यक्रमहरु गरिनेछन् । उक्त हलको स्वामित्व भने भरतपुर महानगरपालिकासँग रहनेछ ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७, आइतवार १०:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८