• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

नारायणगढका डबल जेब्राक्रसिङले ट्राफिकनै हैरान


नारायणगढका डबल जेब्राक्रसिङले ट्राफिकनै हैरान

केपी शर्मा ,मंसिर १८, २०७७
चितवन । नारायणगढ बजारमा एकै ठाउँमा रहेका दुई बटा जेब्राक्रसिङले ट्राफिक प्रहरीनै हैरान परेका छन् ।
नारायणगढको पुल्चोक र शहिदचोकमा एकै ठाउँमा दुई दुई वटा जेब्राक्रसिङ हुँदा कहाँबाट बाटो काट्ने भनेर यात्रुहरु अममलमा पर्ने गरेका छन् । त्यति मात्रै होइन वास्तविक जेब्राक्रसिङ कुन हो भनेर ट्राफिक प्रहरी नै अलमलमा रहेको पाइएको छ ।

शहिदचोक र पुल्चोकको ट्राफिक वीटबाट २५ मिटर भित्रमा २ ÷२ वटा जेब्राक्रसिङहरु निर्माण गरिएका छन् । उसो त भीडभाड हुने स्थानमा बनाइएका दुई वटा जेब्राक्रसिङले यात्रुहरु आफै अलमलमा पर्ने गरेकाछन् ।

शहिदचोकको पुरानो जेब्राबाट बाटो काट्दै गरेका पवन साहाले भने,“एकै ठाउँमा दुई वटा जेब्रा क्रसिङ छ । म यहाँ धेरै पटक अलमलमा परेँ । कहिले ट्राफिकले वल्लो बाट जा भन्छ, कहिले पल्लो बाट जा भन्छ । तर अहिले चाहिँ म जुन चहकीलो छ त्यहीबाट बाटो काट्ने गर्छु । समयमै यसलाई व्यवस्थापन गर्नु राम्रो हो ।”

यस्तै एक काखमा बच्चा च्यापेकी दिपा कुमाल बाटो काट्नै लाग्दा एउटा म्याजिक भ्यानले झण्डै हिर्कायो । उनी हत्त न पत्त रोकिन् । उनी नयाँ बनाइएको जेब्रा क्रसिङमै थिइन् । तर म्याजिक चालकले साफ गाली गर्दै भने,“ जेब्रा क्रसिङ चिनेको छैन ? पल्लोबाट हिँड्नुपर्छ ।”

यहाँबाट यो कुरा प्रष्ट हुन्छ की सडकमा यात्रुवाहक सवारी चालक लगायत धेरैलाई वास्तविक जेब्राक्रसिङ कुन हो भन्ने पत्तोनै छैन ।

अर्का पैदल यात्री युवराज कडेँललाइ भने वास्तविक जेब्राक्रसिङ थाहा छ । तर सजिलोका लागि जाँदा एउटा प्रयोग गर्छन् आउँदा अर्को प्रयोग गर्छन् । उनले भने,“पुल्चोक अचम्मको ठाउँ छ । जताबाट बाटो काटेपनि कोही बोल्दैन । ”

ट्राफिक नै अलमलमा

पुल्चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी जगदीश कार्की दुई वटा जेब्राक्रसिङले आफू पनि अलमलिने गरेको बताउँछन् । उनी भन्छन्,“२५ मिटरको आधारमा हेर्ने होभने नयाँ बनाइएको ठाउँ बास्तवकि जेब्रा क्रसिङ हो । म पनि नयाँ नयाँ भएकोले धेरै कुरा त थाहा छैन तर जेब्रा क्रसिङ एउटै नहुँदा ड्युटीमा पनि समस्या आउने गरेको छ । ”

“यो सडक विभागको काम हो, शहिद चोकमा ड्युटीरत ट्राफिक प्रहरी हिमकुमारी भट्टराईले भनिन्, सडक विभागले अतिरिक्त जेब्रा क्रसिङ नमेटाइदिँदा हामीले पनि अत्याधिक दुःख पाएका छौँ । एउटा चोकमा एक जना ट्राफिक ड्युटीमा हुन्छौँ । हामीले बाटो कटाउने कि, गाडी हेर्ने की, लेन मिचेको हेर्ने की, दुर्घटना भएको हेर्ने ? त्यसले गर्दा हामी पैदल यात्रुलाई सम्झाउनै भ्याउँदैनौँ ।”

जेब्राक्रसिङको यो दुविधाले कानुनमा पनि समस्या आउन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दायकृष्ण भट्टको भनाई छ। जेब्रामा सवारी दुर्घटना भएमा त्यसलाई चरम लापार्वाहीको रुपमा थप सजायँ हुने कानुनमा उल्लेख छ । तर झुक्कीने जेब्राले सवारी चालकलहरुनै अलमलमा पर्ने हुँदा भोलिका दिनमा अझ ठूलो कानुनी समस्या आउन सक्छ ।

भट्टका अनुसार वास्तविक जेब्राक्रसिङ पछि खोलिएकोनै हो । सडक विभागले पुरानो जेब्राक्रसिङ नमेटाइदिँदा सवारी साधनहरु जेब्राबाटै युटर्न हुने गरेका छन् , जहाँ पैदल यात्री बाटो काटीरहेका हुन्छन् । आफूहरुले नयाँ जेब्राक्रसिङ खोलेकै दिन पुरानोलाई मेटाइदिन भनेर सडक विभागलाई भनेका हौँ तर अहिले सम्म सुनाई भएको छैन, भट्टले बताए ।

पछि हालिएको वास्तविक जेब्राक्रसिङको वीचमा डिभाइडर र तारजाली सडक विभागले नहटाइदिँदा यात्रुलाई झन् समस्या परेको देखिन्छ ।

यस विषयमा खबर मुलुकले बुझ्न खोज्दा सडक डिभिजन कार्यालय चितवनका प्रमुख कृष्णप्रसाद अधिकारीले यस विषयमा अनविज्ञता प्रकट गरे । उनले हाँस्दै भने ,“ एकै ठाउँमा दुई वटा जेब्रा क्रसिङ पनि छ र?” यसबाट प्रष्ट हुन्छ सडक विभाग सडकप्रति कति उत्तरदायी छ ।

हामीले यस विषयमा धेरै चासो राखेपछि के रहेछ बुझेर समाधान गर्ने उनले बताए । उनले घुमाउरो पारामा आफ्नो कमीकमजोरी रहेको स्वीकार गरे । यो कन्ट्याक्टरलाई दिइसकेको ले एक पटक उनीहरुसँग आफूले बुझ्ने र चाँडैनै यसलाई समाधान गर्ने उनले बताए ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७, बिहीवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८