• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

नेकपामा युद्धबिरामको तयारी, प्रचण्ड फेरी जिल्लिँदै !


नेकपामा युद्धबिरामको तयारी, प्रचण्ड फेरी जिल्लिँदै !

नारायण दाहाल
२०७७ मंसिर १६,२०७७

नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफमा मन्द तर घातक प्रहार गरेपछि विरोधी खेमा रक्षात्मक बनेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफल गरिरहेका छन् ।
मंसिर १३ को बैठकमा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि आज प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै छन् । के जवाफ दिने भनेर प्रचण्डले अरु नेताहरुसँग पनि सल्लाह गरी बुँदा टिपोट गरेका छन् ।

प्रचण्डनिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्ने सम्भावना पनि छ । यसअघि कात्तिक २८ को बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘त्याग’ गर्नुपर्ने माग थियो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको तर पार्टी नेतृत्व हस्तान्तरणका लागि चैतमा हुने महाधिवेशनसम्म र सरकारको नेतृत्व हस्तान्तरणका लागि चुनावसम्म पर्खिनुपर्ने जवाफ दिएका छन् ।

सचिवालयमा स्पष्ट बहुमत भएका कारण प्रचण्ड नेतृत्वको विरोधी समूहले दुवै प्रतिवेदनलाई १८ गते डाकिएको स्थायी कमिटी र २५ मंसिरको केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ । तर, ओली पक्ष भने बहुमत–अल्पमत हुने गरी जान नहुने अडानमा छ । यसरी अघि बढ्दा पार्टी एकताको सन्देश नजाने यस खेमाको भनाइ छ । प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गर्नुपर्ने र उस्तै परे दुवै अध्यक्षका प्रस्ताव फिर्ता गराएर भए पनि पार्टी एकता जोगाउनुपर्ने भन्दै केही नेताहरु युद्धबिरामको तयारीमा लागेका छन् ।

शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल र सुवास नेम्वाङले प्रचण्डलाई भेटेर संयुक्त प्रस्ताव बनाउने दिशातर्फ छलफल अगाडि नबढाए पार्टी एकता बचाउन कठिन हुने प्रस्ट्याएका छन् । तर प्रचण्ड पक्षले भने आफ्नो बहुमत रहेको भन्दै ओलीलाई एक्ल्याउन कमिटीकै बैठकहरूले टुंगो लगाउने र त्यसलाई सर्वोपरि मानेर चल्नुपर्ने अडान राखेका छन् ।

छलफलमा सक्रिय नेताहरुका अनुसार, प्रचण्ड समूह फेरि मच्चियो मच्चियो थच्चियोको अवस्थामा पुग्ने भएको छ । दुवै अध्यक्षको संयुक्त प्रस्ताव अगाडि नबढाएसम्म बैठक विधिवत् अघि बढाउन अप्ठु्यारो हुने भएपछि मध्यमार्गी नेताहरुकै प्रस्तावमा संयुक्त र सहमतिको प्रस्तावका लागि गृहकार्य गरिने भएको छ । यस गृहकार्यमा प्रवेश गरेपछि भदौ २६ को सहमतिमा फर्किने सम्भावना बढेको छ । करिब सय दिन चलेर २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले ओलीले सरकार र कार्यकारी अध्यक्षका रूपमा प्रचण्डले पार्टी चलाउने गरी दुई अध्यक्षको कार्यविभाजन गरेको थियो ।

प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी समायोजनका बाँकी काम नटुंग्याउने र महाधिवेशनबाट भागेर अवैधानिक तवरले नेकपाको नेतृत्व कब्जा जमाउन खोजेपछि फेरि विवाद बल्झिएको थियो । महाधिवेशनपछि आफू नउठ्ने र सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता ओलीले गरिसक्दा पनि त्यसका लागि तयार नहुनु भनेको प्रचण्डमा शक्तिको भोक, कुर्सीको हतारो र महाधिवेशनप्रति अविश्वास रहेको प्रकट भएको छ । यो कुरा अन्य नेता कार्यकर्ताले पनि बुझिसकेपछि पार्टी एकता जोगाउन र विवाद मत्थर पार्न सचिवालयमा संयुक्त प्रस्तावको गृहकार्यबारे छलफल सुरु भएको हो । त्यसैले मंगलबारको बैठकमा कुनै निर्णायक कुरा नहुने निश्चित भएको छ । फेरि पनि जिल्लिने पालो प्रचण्डकै हु्नेछ ।बर्णनबाट

 

  • प्रकाशित मिति : मंसिर १६, २०७७, मंगलवार ०२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८