• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

एसओएसद्धारा विपन्नलाई ३५ लाख


एसओएसद्धारा विपन्नलाई ३५ लाख

मंसिर १४, २०७७
भरतपुर । सामाजिक संस्था एसओएस बालग्राम चितवनले परिवार सबलिकरण कार्यक्रम सम्पन्न गरेको छ । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि विगत ४६ वर्षदेखि उक्त संस्थाले सक्रिय रुपमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ ।

बिभिन्न कार्यक्रम मार्फत एसओएसले सिमान्तकृत एवं विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान वितरण गरेको छ । जस अन्तर्गत आफ्ना १६३ विद्यार्थीलाई साइकल समेत वितरण गरेको छ ।

यसका अलवा २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रम अन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफुल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको थियो ।

जीविकोपार्जन कार्यक्रम अन्तर्गत नै सिमान्तकृत एवं विपन्न २० परिवारको लागि प्रति परिवार १५ देखि २० हजारसम्मको बाख्रा र सिलाई मेसिन वितरण, रोजगारमुलक कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका ५ युवालाई प्रति युवा ७० हजारका दरले सिलाई कटाई, ब्युटीपार्लर तथा होटल ब्यवस्थापन तालिम, विपन्न ५० परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम, श्री मावि गौरीगन्जलाई स्वास्थ्य सामग्री र भरतपुर महानगर वडा नम्बर ८ लाई कोभिड ब्यवस्थापन कोषका लागि १ लाख रुपैयाँ पनि हस्तान्तरण गरेको एसओएस बालग्रामका नायब निर्देशक राजेन्द्र लम्सालले बताए ।

कार्यक्रममा बोल्दै भरतपुर ८ का अध्यक्ष दामोदर न्यौपानेले चालु आर्थिक वर्षदेखि एसओएसको थप विकासका लागि वडाले पनि ५ लाख बजेट विनियोजन गरेको बताए । उनले भने,“ एसओएसले दिएको शिक्षादेखि अनाथ बालबालिकाको पालनपोषण र ब्यवस्थापन निकै प्रभावकारी रहेको छ ।”

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महानगर प्रमुख रेनु दाहालले महानगरभित्रको शिक्षा क्षेत्रको विकासमा महानगर सधैँ प्रतिबद्ध रहेको बताउँदै राज्यले सहयोग गर्नु पर्नेमा उल्टै बालग्रामले स्थानीय सरकारलाई सहयोग समेत गरेकोमा आभार प्रकट गरिन् ।

  • प्रकाशित मिति : मंसिर १४, २०७७, आइतवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८