• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

ढोका खोलेर दिल्ली फर्किए शृंगला


ढोका खोलेर दिल्ली फर्किए शृंगला

 

मंसिर १३,२०७७
दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ताको तयारी, सीमा विवादबारे छलफल हुने
नेपाल र भारतबीच १५ महिना लामो कूटनीतिक संवादहीनता अन्त्य गर्दै र राजनीतिक तहमा औपचारिक संवादको ढोका खोलेर भारतीय विदेशसचिव हर्षवर्धन शृंगला शुक्रबार दिल्ली फर्केका छन् । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत सुल्झिन बाँकी द्विपक्षीय विषयमा छलफल गर्ने तयारी छ ।

नेपालमा परिचयात्मक भ्रमणका क्रममा आएका शृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा। एस। जयशंकरका तर्फबाट भारत भ्रमणको निमन्त्रणा दिएका छन् । मंसिर अन्तिम साता दिल्लीमा बस्ने परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जाने गरी तयारी भइरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणबारे दुवै परराष्ट्र मन्त्रालयहरूले तयारी गरिरहेको बताए ।

दिल्लीमा आयोगको छैटौँ बैठक बस्न लागेको छ भने वर्तमान सरकारका पालामा दोस्रोपटक आयोगको बैठक बस्न लागेको हो । गत ४ भदौमा आयोगको पाँचौँ बैठक भएको थियो, जसको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र जयशंकरले गरेका थिए । आयोगको पाँचौँ बैठकमा पनि कालापानी र सुस्ताको समाधानमा नेपालले जोड दिएको थियो । यसैगरी इपिजीले तयार गरेको प्रतिवेदन दुवै सरकार प्रमुखले बुझ्नुपर्ने नेपालको अडान थियो । अबको बैठकमा पनि नेपालले यो विषय उठाउने तयारी भइरहेको छ ।

३३ वर्षअघि गठित आयोगको अहिलेसम्म पाँचवटा बैठक सम्पन्न भएका छन् । आयोगको पहिलो बैठक १८ जेठ ०४४ मा काठमाडौंमा भएको थियो भने दोस्रो बैठक १६ मंसिर ०४८ मा दिल्लीमा, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौंमा तथा चौथो बैठक १८ असोज ०७३ मा दिल्लीमा बसेको थियो ।

आयोगको तेस्रो बैठकले कालापानी र सुस्ताको विवाद समाधानको उपाय सुल्झाउन दुवै देशका परराष्ट्रसचिवलाई जिम्मा दिएको थियो । परराष्ट्रसचिवलाई आवश्यक परे सीमासँग सम्बन्धित अधिकारीसँग प्राविधिक सहयोग लिन सक्ने पनि म्यान्डेट दिइएको थियो, तर ६ वर्षमा सचिवस्तरीय संयन्त्रको बैठक नै बसेन ।

बिहीबार बिहानदेखि शुक्रबार अपराह्नसम्मको औपचारिक यात्रामा शृंगलाले समकक्षीसँग औपचारिक वार्ता, राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग शिष्टाचार भेट गरेका थिए । शुक्रबार नेपाली चिन्तन प्रतिष्ठानलाई सम्बोधन गरे, गोर्खामा तीन विद्यालय र मनाङमा बौद्ध गुम्बाको उद्घाटन गरेर साँझ उनी दिल्ली पुगेका थिए ।

शृंगलामार्फत राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई भारतीय समकक्षीहरूको सन्देश आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको छिमेक प्रथम नीतिको नेपाल महत्वपूर्ण साझेदार भएको भन्दै मित्रता थप मजबुत बनाउन चाहेको सन्देश पठाएका थिए । प्रधानमन्त्री ओलीले पनि इतिहासले बिरासतका रूपमा छाडेका सीमा समस्या समाधान गरेर सम्बन्ध थप सुदृढ बनाउनुपर्ने चाहना व्यक्त गरेका छन् ।

सशक्त सहकार्यमुखी सम्बन्ध चाहन्छौँ  – शृंगला

भारतीय विदेशसचिव शृंगलाले नेपाल र भारत दुवैले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्यमुखी सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार एआइडिआइए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने भन्दै सुदृढ सहकार्य हुनुपर्ने बताए ।

‘हामी भारत र नेपालका भावी पुस्ताप्रति जवाफदेही छौँ । घनिष्ठ मित्रका रूपमा हामीले सँगै काम गर्नु आवश्यक छ,’ विदेशसचिव शृंगलाले भने, ‘सशक्त सहकार्यमुखी नेपाल–भारत सम्बन्ध दुवै देशको हितमा छ ।’ उनले भारतको आर्थिक समृद्धि तथा उचाइसँग छिमेकी र मित्रका रूपमा नेपालसमेत जोडिएको उल्लेख गरे ।

विदेशसचिव शृंगलाले नेपाल र भारतबीच सीमालगायत समस्याबारे केही बोलेनन् । उनले नेपाललाई छिमेकी र मित्रका रूपमा भारतले संकटमा सधैँ साथ दिएको भन्दै भूकम्पपछि भारतले गरेको सहयोगको पनि स्मरण गरे । नेपाल र भारतका युवाहरूबीच शिक्षा क्षेत्रमा सहकार्य भइरहेको र उनीहरू दुई देशका पुलका रूपमा रहेको पनि शृंगलाले उल्लेख गरे ।

नेपाल र भारतको राजनीतिक तहमा निरन्तर सम्पर्क र संवाद भइरहेको पनि उनको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री भएको ६ वर्षमा चारपटक नेपालको भ्रमण गरेको तथा नेपालबाट ६ जना प्रधानमन्त्रीलाई स्वागत गरेको उनको भनाइ थियो । यसबीचमा नेपाल र भारतका नेतृत्वबीच विभिन्न समयमा १६ पटक भेट भएको पनि विदेशसचिव शृंगलाको भनाइ थियो ।

सीमापार रेलमार्ग, एकीकृत जाँच चौकी, सीमापार पेट्रोलियम पदार्थको पाइपलाइनमा असाधारण सहकार्य भइरहेकोसमेत उनले टिप्पणी गरे ।  नयाँपत्रीकाबाट

  • प्रकाशित मिति : मंसिर १३, २०७७, शनिवार ०२:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८