• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एकादशी बजार : बिक्रि छैन हजार……


एकादशी बजार : बिक्रि छैन हजार……

मंसिर ११, २०७७
भरतपुर । ठूली एकादशी आर्थत तुलसीको विवाह गर्ने दिन आज धार्मिक स्थलहरुमा खासै भीडभाड देखिएन । विशेषत देवघाट संगम, नारायणी नदी किनार लगायतका क्षेत्रमा स्नान गर्ने र पुजापाठ गर्नेहरुको घुँइचो लाग्ने गर्दथ्यो । तर गत वर्षहरुका तुलनामा यस पटक नगन्य रुपमा मात्रै भक्तजनहरुको आवतजावत भएको पाइयो ।

चितवन नवलपुर जिल्लाका विभिन्न स्थानहरुबाट नारायणी नदी पुलमा तोरण टाँग्नेको भीड नै लाग्ने गर्दथ्यो । अघिल्ला वर्षमा त तोरण टाँग्नका लागि घण्टौँसम्म पालो पर्खिने चलन जस्तै भएको थियो तर कोरोना महामारी र बदलियएको परिस्थितीले यसपालि त्यस्ता दृश्यहरु देखिएनन् ।

प्रशासनले पनि भीडभाडमा चाडपर्व नमनाउन गरेको अनुरोधलाई स्थानीयले पालना गरेका छन् भने आफू पनि सुरुक्षा मापदण्डप्रति चनाखो भएको कारणले भक्तजनको भीडभाड कम भएको हो । नगण्य रुपमा स्नान तथा पुजा गर्न आएका भक्तजनहरु पनि कोरोना सर्छ की ? भन्ने डरले त्रसित देखिन्थे ।
बर्षौदेखि नारायणी नदी पुलमा तोरण टाँग्दै आएका तारा कार्कीका दम्पती यस पालि एक सरो धागा टाँगेकै भरमा आफूले चित्त बुझाएको बताउँछन् । बर्षौँदेखि गर्दै आएको परम्परालाई जोगाउनका लागि मात्रै यहाँसम्म आएको उनीहरुले बताए ।


उनले भनिन्,“हामी १५ वर्षदेखि लगातार पुलमा तोरण टाँग्दै आएका थियौँ । तर यस पालि समयले कोल्टे फेर्यो । न भीडभाड न रमाइलो न व्यापार । सयौँको संख्यामा एकै ठाउँ बसेर राम रमिता गर्नुपर्ने बेलामा मुखमा मुखारी लगार बुढाबुढिनै अलग अलग हुनुपर्ने अवस्था आयो । तर पनि परम्परा बचाउनका खातिर एकसरो धागो भएपनि पुलमा टाँगौँ भनेर आएका हौँ । ”

यसपालि न फूलका डोली देखियो, न पञ्चेबजा सहितको भीडभाड, न रामरमिता, न भजन न किर्तन, न त व्यापार नै । तुलनात्मक रुपमा सुनसान छ नारायणी किनार ।

छैन ब्यापार

 

एकादशीमा भक्तजनको भीडभाड नभएपछि नारायणी, देवघाट दोभान लागायतका ठाउँमा ब्यापार गर्नेहरु निराश देखिए । विगत झैँ व्यापार होला भनेर सामान खरिद गरीयो तर भक्तजन नआउँदा व्यापार शुन्य भएको छ । वर्षौँदेखि एकादशीमा नारायणी किनारमा तरुल सुन्तला र स्याउ विक्रि गर्दै आएकी सुमित्रा पुडासैनीले भनिन् । मध्यान्नको एक बजेसम्ममा जम्माजम्मी १२ सय को मात्रै व्यापार गरेको उनले बताइन् । उनले थपिन्,“अघिल्ला बर्षमा एक दुई बजेसम्ममा तीन पटक सम्म सामान लिन होलसेल जानु पथ्र्यो । तर यस पटक हिजो किनेकै सामानले ग्राहक पर्खिरहेको छ । ”

यस्तै, जमुना क्षेत्री पनि विगत ३, ४ वर्षदेखि देवघाट क्षेत्रमा सखरखण्ड, सुन्तला, बदाम, लगायतका सामाग्रीहरु बेच्ने गर्थिन् । अघिल्लो बर्ष एकैदिनमा ८ हजारको व्यापार गरेको सम्झाना अझै छ उनमा । तर यस पटकको एकादशीमा बोहनी मात्रै भएको उनले बताईन् ।

चितवन लगायत देशैभर एकादशीमा लाग्ने गरेका मेलाहरु प्राय शून्य देखिए । मानिसहरु त्यस्ता ठाउँमा आफू जान डराएका पनि छन् भने प्रशासनले एकै ठाउँमा भेला नहुन तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सूचना समेत जारी गरेको कारणले पनि भक्तजनहरु यस्ता ठाउँहरुमा निस्किएनन्। बर्षौँदेखि रत्ननगरको चित्रसारीमा लाग्दै आएको मेला पनि यस पटक आयोजना गरिएन ।

  • प्रकाशित मिति : मंसिर ११, २०७७, बिहीवार ०९:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८