केपी शर्मा
मंसिर १०, २०७७ भरतपुर ।
‘लागु औषध गाँजा अर्थात राज्यले प्रतिवन्ध लगाएको लागु पदार्थ ।’ तर चितवन जिल्लामा नगरपालिका भित्रकै अधिकाँश स्थानहरुमा खुलेआम यसको खेतीनै हुने गरेको पाइन्छ । अवैध रुपमा लगाइएको उक्त गाँजा वर्षेनी प्रहरी प्रशासनले नष्ट गर्दै आइरहेको समाचारहरु छापिरहन्छन् । तर उक्त गाँजा लगाउने व्यक्ति अहिले सम्म प्रहरी प्रशासनले पक्राउ गर्न सकेको समाचारहरु भने सुनिदैनन्।
यही मंसिर ६, ७ र ८ गते जिल्ला प्रहरी कार्यालय चितवनले अवैध गाँजा फडानी गर्ने अभियान नै चलायो । जस अन्तर्गत राप्ती नगरपालिकाको वडानम्वर ११, १२ र १३ का विभिन्न स्थानमा गरी पचासौँ विघामा लगाइएको अवैध गाँजा फडानी गरिएको प्रहरीले जानकारी दिएको छ ।
वडानम्वर ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नम्वर १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नम्बर १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला आदी स्थानहरूमा लगभग ५० विघा भन्दा बढि जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ ।
गाँजा खेती नष्ट गरिएको समाचार अहिले मात्र आएको होइन । यो वर्षौदेखिको परम्परा नै भइसकेको छ । राप्ती नगरपालिका भित्रका विकट ठाउँमा वर्ष पिच्छे गाँजा लगाउने गरिन्छ । र वर्षैपिच्छे प्रहरीले फडानी गरिरहन्छ । तर अचम्म लाग्दो के छ भने यत्रो वर्षदेखि एकै ठाउँमा गाँजा फडानी गर्दै आएको नेपाल प्रहरीले अहिले सम्म गाँजा लगाउने एक जना व्यक्ति पनि फक्राउ गर्न सकेको छैन ।
को के भन्छन् ?
सुर्य प्रजा (वडाअध्यक्ष, राप्ती नगरपालिका ११ )
“कसको जग्गा हो, कुन कुन ठाउँमा गाँजा लगाइएको छ भन्ने बारेमा हामीलाई जानकारी छ । यो अति विकट ठाउँ हो । यहाँ सानो पैसाको ठूलो महत्व हुन्छ । त्यसैले गरिव चेपाङहरुले दुई पैसाको लोभमा वाहिरबाट आएकाहरुलाई आफ्नो जग्गा भाडामा दिने गरेका छन् । जुन जग्गामा गाँजा बाहेक अरु केही उब्जनी हुँदैन । यो उनीहरुको वाध्यता पनि हुन सक्छ ।
हामी जनप्रतिनिधिले यस बारेमा केही कुरा बोल्न मिल्दैन । यदी यसको विरोधमा विहान बोलियो भने बेलुका घर पुगिने होकी होइन कुनै ठेगान हुँदैन । हामीलाई यसबारेमा नबोल्न भन्दै विभिन्न प्रकारका धम्कीहरु आउने गर्छन् । त्यसैले हामी कानुन विपरीतका कार्यहरु भइरहदा पनि ती कुराहरुलाई बेवास्ता गर्न वाध्य छौँ । जनप्रतिनिधि भएकै नाउँमा आफ्नो ज्यानलाई जोखिममा मोल्ने कुरा पनि भएन नि । प्रशासनले गाँजा फडानी गर्नुभन्दा गाँजा लगाउन नै नदिने उपाय गर्नुपर्यो । मैले त प्रशासनकै मौनता रहेको बुझेको छु ।”
प्रभा बराल (नगर प्रमुख राप्ती नगरपालिका )
राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले कानुन विपरीतको काम आफ्नै नगरपालिकामा हुँदा पनि केही गर्न नसकेको स्वीकारीन् । उनले भनिन्,“कसले लगाउँछ ? कसले भाडामा दिन्छ ? यो हामीले हेर्ने कुरा पनि होइन । यो त जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीको अधिकार भित्र पर्ने कुरा हो । हामीले चाहेर पनि नियन्त्रण गर्न सक्दैनौँ । त्यसमा पनि स्थानीय आफैले साँचो कुरा नभनिदिँदा अझ समस्या हुने गरेको छ ।”
यता प्रहरीले अहिले सम्म गाँजा लगाइएको स्थानमात्रै फेला पारेको बताउदै आएको छ । तर गाँजा लगाउने व्यक्तिहरु भेट्न नसकेको बताउँछन् चिनवन प्रहरीका प्रवक्ता सुर्य थापा । उनी भन्छन्,“हामी अहिले फडानी गरिरहेका छौँ । अझै सकिएको छैन । व्यक्ति कुनै पक्राउ परेका छ्रैनन् ।”
अपराध अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरीले यति धेरै क्षेत्रफलमा बर्षेनी गाँजा खेती भइरहदा खेती कसले गर्यो भनेर पत्ता नलगाउनु आफैमा आश्चर्य लाग्दो कुरा हो ।
स्थानीयहरु (नाम गोप्य)
“प्रहरीले चाह्यो भने गाँजा खेतीलाई निर्मूल नै पार्न सक्छ । हामीलाई पनि यसबारेमा धेरै कुरा थाहा छ तर बोल्यो की पोल्यो हुन्छ । बाँच्न गाह्रो छ । गाँजा लगाउने बेलामा प्रहरी वास्तै गर्दैन । जव हुर्किन्छ अनि तातिन्छ । ”
अर्का स्थानीय भन्छन्, “यो गाँजाको बारेमा चितवन प्रहरीलाई सवैकुरा थाहा छ । बर्षैपिच्छे फाँड्न आउँछ कसले लगाउँछ थाहा हुन्न ? जग्गा भाडामा दिइन्छ । यहाँका जनता गरिब छन् । सानो पैसाको लोभ हुन्छ । बर्षैपिच्छे यो काम दोहोरीरहन्छ । अनि प्रहरीलाई कसरी थाहा हुँदैन ? ”
अव यो कुरा प्रष्ट हुन्छ की परम्परागत रुपमा बर्षौदेखि रोप्ने र फाँड्ने प्रकृया चलिरहेको अवस्थामा प्रहरीले किन गहिरो अनुसन्धान गर्न सक्दैन ? कि प्रहरीकै मिलेमतो छ भनेर स्थानीयहरुले भन्ने गरेका छन् । लागुऔषध प्रयोगकर्ताले २ खिली गाँजा बोक्दा छेकमार गरेर समात्ने प्रहरीले पचासौँ विघा जमिनमा गाँजा लगाउने तस्करहरुलाई किन नियन्त्रणमा लिन सक्दैन ? यसमा जनताको गम्भिर प्रश्न छ ।
यता चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ लाई यी विषयमा प्रश्न गर्दा उनले भने,“हामी यस बिषयमा गहन अध्ययनमा छौँ । अहिले हामी पहिलो फेजमा छौँ ।गाँजा लगाइएको स्थानको पहिचान गर्दै फडानी गरिरहेका छौँ। यस पछि हामी अनुसन्धानको पाटोमा जान्छौँ । हामी कसले लगायो ? जग्गा कसले दियो ? भन्ने बारेमा अनुसन्धानको प्रकृयालाई पनि अगाडि बढाउँदैछौँ । यस विषयमा हामीले स्थानीय जनप्रतिनिधिसँग पनि समन्वय गर्ने प्रयास गरिरहेका छौँ । ”
हुन त पछिल्लो समय गाँजा खेतीको वैद्यताका बारेमा संसदमै पनि बहस चलिरहेको छ । तर यसले कानुनी सार्थकता नपाउँदासम्म यस्ता खालका गतिविधिलाई निरुत्साहीत गर्नु सरकारी निकायको दायित्व हुन जान्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८