मंसिर–८, २०७७
सामाजिक सञ्जालका कारण त्यसरी चर्चामा आएका केही स्थान हुन्( तनहुँको मानहुँकोट, काभ्रेको तीनधारे झरना, मोरङको शनिस्चरेस्थित सेल्फी रोड र कञ्चनपुरको रक गार्डेन पर्वतको बञ्जी जम्प ।
पर्यटकीय सम्भावना बोकेका यी ठाउँमा पूर्वाधारको विकास केही अघिदेखि गरिँदै आएको भए पनि पछिल्लो समय सामाजिक सञ्जालका कारण एकाएक चर्चामा आएको ती क्षेत्रका पर्यटन व्यवसायी र जानकारहरू बताउँछन् ।
“हामी दुई वर्षदेखि पूर्वाधार बनाउने काममा लागेका थियौँ तर टिकटकका कारण मानहुँकोट एकाएक चर्चित भयो । महामारीमाझ अहिले आएका पर्यटक थेग्न गाह्रो भयो,“ वडाध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।
जग्गा किनबेचमा रोक
तनहुँको व्यास नगरपालिका–५ मा रहेको मानहुँकोटमा पर्यटकको घुइँचो थेग्नै नसक्ने भएसँगै त्यहाँ जग्गा किनबेचका लागि बैना गर्नेको सङ्ख्या पनि बढेपछि मानहुँकोटस्थित मगरबस्ती नै विस्थापित हुने डरले जग्गा किनबेचमा नै रोक लगाइएको श्रेष्ठले बताए ।
भ्रमण वर्ष सन् २०२० का लागि लक्षित गरेर उक्त क्षेत्रमा दुई वर्ष अघिदेखि नै पूर्वाधार निर्माणको काम थाले पनि अहिले एकाएक चर्चामा आएपछि मानिसहरूको भिड बढैसँगै त्यहाँ व्यवस्थापनका लागि नगरपालिकाको बैठक नै बसेको थियो ।
दशैँ पछाडिको दुई सातामा मात्रै बिदाको दिन मानहुँकोटमा आउने मानिसको सङ्ख्या १० हजारसम्म पुगेको उनले बताए ।
कोरोनाभाइरस सन्त्रासले नेपाल आउने पर्यटक घटे
“अहिले त हामी मानिसहरूलाई धेरै भिड नगरिदिन र स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्रै आउन भनिरहेका छौँ,“ अध्यक्ष श्रेष्ठले भने ।
दशैँपछाडि नै मानहुँकोटमा जाने पर्यटकका कारण बाटोमा गाडी र मोटरसाइकलको जाम घन्टौँ भएका तस्बिरहरू भाइरल भएका थिए ।
जग्गाको भाउ नै ’बढ्यो’
मानहुँकोटजस्तै काभ्रेको तीनधारे झरना पनि महामारीका माझ सामाजिक सञ्चालमा अति नै चर्चित बनेको ठाउँ हो ।
गन्तव्यसम्मै गाडी गुड्ने बाटो नभए पनि उक्त ठाउँ वरपर अहिले जग्गाको भाउ बढेको बताइन्छ ।
हिन्दी चलचित्र बाहुबली–१ मा देखाइएको झरनासँग दाँजेर सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त ठाउँलाई ’बाहुबली झरना’समेत भन्ने गरेका छन् ।
पर्यटकीय सम्भावना देखिएसँगै त्यहाँ पनि भौतिक पूर्वाधारहरू लगायत होमस्टेहरू बन्न थालेको बताइन्छ ।
काभ्रेको तीनधारे झरना
मोरङको पथरी शनिश्चरे नगरपालिका(२ स्थित बोक्रे चोक जाने बाटोमा रहेको सेल्फी रोड पनि टिकटकमा अहिले चर्चामा छ ।
बीचमा गाडी गुड्ने र छेउछेउमा लहरै रूख देखिने उक्त ठाउँ पनि टिकटककै कारण चर्चामा आएको बताइन्छ ।
पर्यटकीय सम्भावना बोकेका यस्ता ठाउँ एकाएक चर्चामा आउनुमा सामाजिक सञ्जालको ठूलो हात रहेको पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।
“अहिले पर्यटन र खानेकुरा प्रवर्द्धनका लागि सामाजिक सञ्जाल निकै प्रभावकारी माध्यम भएका छन् । यसको महत्त्व बुझेर त्यसै अनुसार योजनाहरू बनाउन आवश्यक छ,“ जोशीले भने ।
कञ्चनपुरको रक गार्डेन पर्वत
उनका अनुसार कुनै पनि ठाउँ रातारात चर्चामा आउन त्यहाँ गरिएका भौतिक पूर्वाधारको विकासभन्दा पनि ठूलो भूमिका सामाजिक सञ्जाल प्रयोगकर्ताको रहेको छ ।
“स्थानीय तहदेखि केन्द्रस्तरसम्म नै पर्यटन प्रवर्द्धन गर्ने कुरा हुँदा हामीले पर्यटक आकर्षित गर्न सामाजिक सञ्जालको प्रयोग कति अपरिहार्य छ भन्ने बुझ्न आवश्यक छ,“ उनले भने ।
उनका अनुसार पहिलैदेखि पर्यटकीय गन्तव्य रहे पनि सामाजिक सञ्जालका कारण अहिले चर्चामा आएका ठाउँमा इलाम जाने बाटोमा पर्ने चारआली, कर्णाली चिसापानीको पुल, कञ्चनपुरको रक गार्डेन लगायतका ठाउँ हुन् । – विविसी
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८