• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एमालेको यदुवंशी मारमुंग्रीमा प्रचण्ड अट्टहास


एमालेको यदुवंशी मारमुंग्रीमा प्रचण्ड अट्टहास

 

नारायण दाहाल

मंसिर ७, २०७७

नेकपाका दुई खेमा कि तँ छैन, म छैन भन्ने तहमा पुगेपछि कार्यकर्ताहरु मारमुंग्रीमै उत्रिएका छन् । शनिबारको चितवनमा नेकपा स्थायी समिति सदस्य, पार्टी एकताका लागि विवाद समाधान अग्रसर एवं बौद्धिक नेता पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार कार्यकर्ताबाटै भयो । उनले भाषण गरिरहेका बेला पार्टी विभाजनकारी भन्दै नाराबाजी गर्दै कार्यक्रम नै भाँडियो ।

यसरी कार्यक्रम भाँड्नेहरु युवा संघ र अनेरास्ववियुमा आबद्ध युवा तथा विद्यार्थी थिए । यस घटनाले नेकपाभित्रको विवादलाई झनै जटिल र गम्भीर बनाइदिएको छ । यसअघि ७ कात्तिकमा नेकपाले पर्साको विन्ध्यवासिनी गाउँपालिकाको कमिटी विस्तार र सपथ ग्रहण कार्यक्रममा एकजनाको हत्या नै भएको थियो ।

उता सुर्खेतमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदच्यूत नै गर्न खोजियो । प्रतिवादमा चालिएका कदमले अर्को खेमाका गुलाबजंग शाहले प्रमुख सचेतकको पद नै गुम्यो ।

शनिबारकै कुरा गर्दा सुर्खेतमा ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा गुटको भेला गरेको थिया भने यता चितवनमा नेता पाण्डे त्यस्तै भेलाको विरोधमा बोल्दै थिए ।

गत १९ कात्तिकमा ओली खेमाले एउटा गोप्य प्रशिक्षण गरी पार्टी विभाजनको डिलमा पुगेको संकेत गर्दै वैचारिक धारको संरक्षणका लागि जनताको बहुदलीय जनवादलाई स्थानीयस्तरसम्म लैजान निर्देशन पनि दिएका थिए ।

उता कर्णालीमा प्रचण्डपक्षीय मुख्यमन्त्रीले ओलीपक्षीय मन्त्रीहरु बर्खास्त गर्नु खोजेपपछि यता ओलीले केन्द्रमै प्रचण्डपक्षीय मन्त्रीलाई बर्खास्त गर्न खोजेका थिए ।
असोज २८ गते ओलीले तीनजना मन्त्री थप्ने निर्णय गरेपछि नेकपाभित्र पुनः बलेको आगोमा प्रचण्डले ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै एकतर्फीरुपमा सचिवालयमा दर्ज गराएको प्रस्तावले। मट्टीतेल खन्याउने काम गरेको छ । त्यसको प्रतिवादमा ओलीले अर्को प्रत्यारोपपत्र तयार गर्दै छन् ।

यी सबै घटनाक्रम नेकपाको औपचारिक विभाजनको तयारी गरिँदै छ भन्ने कुराका प्रमाण हुन् ।एमाले र माओवादीको एकीकरण नै विभाजनका निम्ति थियो । अझभन्दा नेकपा एमालेलाई बिसर्जन गर्ने उद्देश्यले यो एकता भएको थियो । यसलाई विभाजन गर्न पटकपटक हरसम्भव प्रयास विगतमा पनि भएका हुन् । पहिला यसका कामका निम्ति वामदेव गौतम मोहोरा बनेका थिए । विभाजनपछि वामदेवको राजनीति नै सकिने स्थिति बनेपछि पुनः एमालेमै मिसिएका थिए ।

अहिले प्रचण्डको नेतृत्वमा नेपालको सबैभन्दा ठूलो राजनीतिक संगठन बिसर्जन हुँदै छ । यसमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय व्यवहार पनि जिम्मेवार नभएका होइनन् । तर, प्रचण्डले पार्टी नफुटाइ नछाड्ने भएपछि ओलीले व्यवहार परिवर्तन गर्नु र फकाउनुको पनि कुनै अर्थ रहेन ।

यहीकारण अहिले केन्द्रदेखि तल्लो तहसम्मै पूर्वएमालेका कार्यकर्ता आपसमै मारमुंग्रीमा उत्रिएका छन् । प्रचण्ड यसमा रमाइलो हेरेर बसेका छन् । लाग्छ, एमालेभित्रै आगो बाल्न पाएपछि उनी अट्टहास गर्न पाएका हुन् ।
तर, छँदाखाँदाको व्यापक संगठन र ऐतिहासिक विरासत भएको संगठनलाई खरानी बनाउने अभियानमा माधव नेपाल र झलनाथ खनाल किन सहयोगी बन्दै छन् रु यो भने आश्चर्यको विषय बनेको छ । त्यसमा पनि माधव नेपालले नै प्रचण्डको ध्वंशवादी बाटो समातेको देखेर धेरै नेताकार्यकर्ता अन्यमनष्कमा परेका छन् ।

वामदेव गौतम त पहिलादेखि नै प्रचण्डको सेवक बनेर हिँडेकै हुन् । उनले पटकपटक प्रचण्डको इशारामा एमालेलाई हिँडाउन र डुबाउन खोजेकै हुन् । झलनाथ खनालले जबजलाई दक्षप्रजापतिको टाउको भनेकै हुन् । तर एमालेको दरिलो संगठन बनाउनमा समकालीन नेताहरुमध्ये माधव नेपालकै सबैभन्दा ठूलो देन छ । त्यसैले यस संगठनको सबैभन्दा बढी माया कसैमा छ भने माधव नेपालमै हुनुपर्ने हो । तर, नेपाल किन यसरी प्रचण्ड अभियानको अंग बनिरहेका छन् रु

यदि ओलीका व्यवहार मन परेन भने आगामी महाधिवेशन यसैलाई एजेन्डा बनाएर जान सकिन्छ । पार्टीका सबै तप्कालाई महाधिवेशनका लागि तयार पार्न सकिन्छ । ओलीले महाधिवेशन टार्न खोजे कार्यकर्ता तहबाटै दबाब दिन सकिन्छ । तर पनि माधव नेपाल अहिले नै किन हतारिए रु किन यदुवंशी बाटो उनलाई अहिले प्रिय लाग्दै छ रु गम्भीर प्रश्न उब्जिएको छ ।

प्रचण्डले महाधिवेशनबाट आफू अध्यक्ष बन्न नसकिने ठानेका हुन सक्छन् । अहिले नै पार्टी र सरकारको एकल नेतृत्व गरी सत्ता र शक्तिमा ढलीमली नगरे अब यस्तो अवसर आउँदैन भन्ने उनलाई लागेको हुन सक्छ । तर, माधव नेपालका हकमा यो स्थिति छैन । उनी जहिले पनि नेकपाको शक्तिमा उदाउन सक्ने नेता हुन् ।

ओलीलाई पाँच वर्ष पनि शासन गर्न नदिनु भनेको अलोकतान्त्रिक चरित्र मात्र होइन, राजनीतिक बेइमानी र जनमतविरोधी मानसिकताको प्रकटीकरण पनि हो । भारतमा नरेन्द्र मोदीले पाँच वर्ष ढुक्कसँग काम गरेर अर्को पाँच वर्ष शासन गर्दै छन् । अमेरिकामा प्रायः राष्ट्रपतिले दुई कार्यकाल शासन गर्छन् । चीनमा सि चिन फिङले १५ वर्ष शासन गर्दै छन् । तर यहाँ पाँच वर्ष पनि कुर्न नसक्ने, आफू नभए पार्टी र देशलाई नै खरानी बनाउन तयार हुने यो कस्तो रोग रु कस्तो विडम्बना रु

ओलीका व्यवहार मन नपरे भोलि चुनाव आउँदै छ, त्यहाँ पनि हिसाबकिताब हुन्छ । महाधिवेशनमा हिसाब गरे हुन्छ । सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा आफ्नो बहुमत छ भने दाहाल र नेपाल खेमाले त्यसलाई चाँडो महाधिवेशन गराउनका निम्ति उपयोग गर्न सकिन्छ । यो बढी लोकतान्त्रिक र जिम्मेवार कदम पनि हुन्छ । तर, देशलाई अस्थिरताको अँध्यारो सुरुङभित्र लैजाने अभियानले कसैलाई भलो गर्ने छैन । के नेकपा विभाजित भएर ओलीको शासन ढालेपछि नेपाल र प्रचण्ड नै प्रधानमन्त्री हुने ग्यारेन्टी छ रु कुन शक्तिले यो सब गराउँदै छ भन्ने पनि एकपटक सोच्ने हो कि ? बर्णनबाट

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८