• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

छठ पर्वको लागि किनमेलको चहपहल बढ्यो


छठ पर्वको लागि किनमेलको चहपहल बढ्यो

धीरेन्द्रप्रसाद साह / मंसिर–४, २०७७
बाहिर जलाशयमा छठ पर्व मनाउने कि नमाउने दोधारमा रहेका सप्तरीमा छठको तयारी तीब्र बनेको छ । स्थानीय प्रशासनले दशैँ, तिहार र छठलाई लक्षित गरी आगामी ७ गतेसम्म मठ मन्दिर तथा शक्तिपीठ क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

स्थानीय प्रशासनले तोकेको क्षेत्र अन्तर्गत जलाशय पर्ने वा नपर्ने प्रष्ट नभएका कारण जिल्लावासी बाहिर छठ मनाउने वा नमनाउने दोधारमा थिए । छठ पर्वको लागि प्रसिद्ध सप्तरीको राजविराज स्थित भगवती पोखरीको मूल ढोका खोलिएपछि बाहिर जलाशयमा छठ मनाउन हौसिएका हुन ।
चार दिवसीय छठ पर्व बुधबारदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ अरपित गरेर पूजा गरिन्छ ।

अहिले सप्तरीसहित तराईका जिल्लाहरुमा छठ पर्वका लागि युद्धस्तरमा तयारी भइरहेको छ भने पुजा सामाग्री किनमेलका लागि बजारहरुमा चहलपहल बढेको छ । छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दीयो र कराई चढाइन्छ । यस्तै लौका, फर्सी, भन्टा, मूला, कोबी, लगायत हरियो तरकारी पनि चढाउने चलन छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ । यस्तै बाँस वा पितलको कोनियाँ, ढाकी, नाङ्गलो, खरिद गर्न बजारमा भीडभाड देखिन्छ ।

व्यवस्थित रुपमा छठ पूजा मनाउनका लागि स्थानीय युवाहरूले छुट्टाछुट्टै समिति बनाई व्यवस्थापनमा लागेका छन । पोखरी, नदी तथा जलाशयमा मनाइने यसपर्वका लागि ती स्थानहरुमा सरसफाइ गरेर दुल्ही झै सिंगारिन कार्यमा जुटेका छ । राजविराज नगरभित्र भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी, खैरसाल पोखरी, पाँच नम्बर पोखरी, तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर, सिस्वाबेल्ही, झल्ही, कोशी ब्यारेज सहितको दर्जनौ जलाशय स्थानमा घाट बनाएर भव्य साजसजावटको तयारी गरिदैछ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

छठको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लसुन, प्याज नहाली कालो नुन प्रयोग गरेर खाना खाने गर्छन् ।
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।

पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गरेर घाटमा राखिएको छठका सामग्रीहरुलाई पालैपालो अर्घ दिइन्छ । र चौथो दिन बिहान पुनः जलाशयमा गई षष्ठीमा चढाएकै सामग्री उदाउँदो सूर्यलाई पूजा गरेर अर्घ दिएर समाप्त हुन्छ । यस वर्ष शनिबार छठ पर्व विधिवत समापन हुनेछ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७७, बिहीवार ०८:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८