• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

नेकपामा शक्तिको टकराव – ओलीलाई सञ्चो , प्रचण्डलाई बिसञ्चो


नेकपामा शक्तिको टकराव – ओलीलाई सञ्चो , प्रचण्डलाई बिसञ्चो

 

नारायण दाहाल
कार्तिक २५, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी डग्मगाएको भन्दै बाहिर कसैले चिन्ता त कसैले उत्साह मनाइरहेका छन् । तर, भित्र भने ओली ढुक्क र निष्फिक्री देखिन्छन् ।

ओलीले विभिन्न नेताहरुलाई पालैपालो बोलाएर भेट गर्ने, भेटका क्रममा लामो वार्तालाप गर्ने र सरकार ढल्ने विषयमा कुनै चिन्ता नलिन भन्दै आश्वस्त पारेर फर्काउने गरेका छन् ।

ओलीलाई चारैतिरबाट चेपुवामा पार्न थालेको भन्दै उनका शुभचिन्तक तथा सहयोगी नेताहरु उपत्यकाबाहिरबाट समेत आएर भेट्न थालेका छन् । सचिवालयका बहुमत सदस्यहरु अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ओलीविरुद्ध मोर्चाबन्दीमा लागे पनि स्थायी समितिका सदस्यहरु ओलीप्रति सहानुभूति राख्दै भेटेर विभिन्न सुझाव दिइरहेका छन् ।

त्यस्तै विरोधी खेमाका दोस्रो वरीयताका नेता माधव नेपालदेखि भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्तलाई समेत निजी जीवनका धेरै कुरा गरेर राजनीतिबारे उति चिन्ता नलिन सुझाव दिएर फर्काएका छन् ।
शुक्रबार र शनिबारको धुम्वाराही भेलाले ओलीको सरकार ढली पो हाल्छ कि भनी पोखराबाट हुर्रिँदै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य पृथ्वी सुब्बा गुरुङलाई समेत ओलीले डेढ घण्टा घाममा राखेर आफ्ना कुरा सुनाएका थिए ।

यस क्रममा गुरुङले पार्टी एकता संकटमा परेको, विरोधी खेमाले पेल्दै लगेको आदि कारण जनाउँदै सहमतिका लागि पहल गर्नुपर्ने के सुनाएका थिए, ओलीले उल्टै सम्झाएर पठाए, ‘पार्टीको धेरै चिन्ता नलिनू । गण्डकीको कोरोना महामारीको चिन्ता लिनू । जनताको सुखदुःखको चिन्ता लिनू । विकास निर्माणका काम अघि बढाउन ध्यान दिनू । पर्यटन व्यवसाय उकास्नतिर लाग्नू । पार्टीमा जे पर्छ, म बेहोरौँला । यो ज्यान रहेसम्म सबै प्रकारका नाजायज दबाब मै थेग्छु ।’

उता ओलीलाई सत्ताच्यूत गर्न बहुमत सदस्यको झुण्ड बोकेर देउसीभैलो गरिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने आजकाल निकै तनावमा देखिन्छन् । एक त उनको प्वाल परेर डुब्नै लागेको माओवादी नामको जहाज पनि उनीसँग बाँकी छैन, एमालेमा लगेर मिसाइहाले । अर्को, उक्त जहाजका धेरैजसो सहयात्री ओलीसँग काँध जोड्न पुगिसके । थप चिन्ता, माधव नेपाल लगायत पूर्वएमालेहरु कुन बेला जबजको डोरी समाएर ओलीसँगै वैतरणी तर्ने हुन् र आफूलाई अलपत्र पार्ने हुन् भन्ने दाहालको चिन्ता छ ।

ओलीका विरोधी नेताहरुले केही समययता अनपेक्षित रुपमा असुरक्षित महसूस गरेका छन् । माधव नेपाललाई बालुवाटारको जग्गा प्रकरणमा मुद्दा नचलाउनु गल्ती भएको भन्दै ओलीले धोबीखोलाको जग्गा दर्ता गरेवापत मुद्दा चलाउने सकिनेबारे छलफल गरिरहेका छन् । प्रचण्डलाई कानुनी झमेलामा पार्न त कुनै आइतबार पर्खिनै पर्दैन । द्वन्द्वकालीन मुद्दादेखि शिविर भ्रष्टाचार काण्ड छँदै छन् ।
वामदेव गौतमका नौ नाडी गल्ने गरी ओलीले काबुमा राखिसकेका छन् । झलनाथ खनाल र उनका छोराले चिनियाँ व्यापारीसँग मिलेर केके गर्नु नगर्नु गरेका छन् भन्ने सबै हिसाबकिताब बालुवाटारमा पुगिसकेको छ ।

दाहालका विश्वास पात्र भनिएका जनार्दन शर्मा र वर्षमान पुनबीच जन्मजात शत्रुताजस्तै छ । त्यसैले एउटालाई बोके अर्को तर्किने अवस्था छ । तराईमा प्रभु साह र मातृका यादवबीच पानी बाराबारको स्थिति छ ।
हरिबोल गजुरेलको नेतृत्वमा एउटा समूह प्रचण्डविरुद्ध जस्तोसुकै कदम चाल्न तयार छ । यसमा टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, मणि थापालगायत छन् । सुदूरपश्चिमका उनका दाहिने हात लेखराज भट्टले खुलेर दाहाललाई चुनौती दिइसकेका छन् ।

प्रचण्डका लागि ओलीविरुद्ध प्रयोग गर्न मिल्ने सबैभन्दा बलिया हतियार सभामुख अग्नि सापकोटा हुन् । तर, उनीमाथि काभ्रेका अर्जुन लामा हत्याको आरोपसहितको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दालाई जहिलेसुकै प्रयोग गर्न मिल्ने गरी विचाराधीन अवस्थामा राखिरहेका छन् । शक्ति सन्तुलन हेरेर जुनसुकै बेला जतासुकै यस मुद्दाको प्रयोग हुन सक्ने अड्कलबाजी न्याय क्षेत्रमा भइरहेको छ ।

पछिल्ला केही वर्षयता पारिवारिक रुपमा पनि पीडामा रहेका दाहाल अहिले आएर राजनीतिक क्षयीकरणको तीब्र रफ्तार बेहोरिरहेका छन् । कुनै बेला प्रचण्डको जुन जाज्वल्यमान व्यक्तित्व थियो, त्यो अब छैन र दिन प्रतिदिन खिइँदै छ । पार्टी एकतापछि केही समय उनले राजनेता बन्न सक्ने गरी जुन उदात्त चरित्र प्रदर्शन गरेका थिए, क्रमशः त्यो धूमिल हुँदै गएको छ ।
खासमा ओली प्रधानमन्त्री बनेको केही समयपछि दाहाल भारत र चीन भ्रमण गएर फर्किँदा केही पत्रकारहरुसँग उनले जे अभिव्यक्ति दिए, त्यहीँबाट ओली झस्किएका थिए । हुन त दाहाल चीन भ्रमणमा जाँदा नै ओलीले उनको दायरा सीमित बनाइसकेका हुन् । चिनियाँ राष्ट्रपतिलाई भेट्न खोज्दा ओलीले ‘एक देश, एक व्यवस्था, एक पार्टी र एक नेता’ हुने भन्दै दाहाललाई भेटेको कुरालाई मान्यता दिन नसकिने सन्देश बेइजिङ पठाएका थिए । त्यसपछि व्यस्तताको कारण जनाउँदै त्यहाँको राष्ट्रपति कार्यालयले अरु नै नेतालाई भेटाएर पठाएका थिए ।

चिनियाँ राष्ट्रपतिसँग प्रत्यक्ष सम्पर्क र संवाद गर्न सक्ने नेपालका एक मात्र नेता र उदीयमान व्यक्तित्वका रुपमा लिइएका दाहालको यो हविगत होला भनेर सायद चिनियाँहरुले समेत सोचेका थिएनन् । त्यसपछि दाहालले क्रमिक रुपमा ओलीमाथि आक्रमण र विरोधको घेरा बढाउँदै लगे पनि हरेक मोर्चामा असफलता बाहेक केही हात लागेको छैन । उनको यो असफलता, गनगन र चिढचिढाहटले उनीप्रति सहानुभूति होइन, आक्रोश बढाइरहेको छ ।
अहिले पार्टीभित्र र बाहिर सबैतिरबाट ओलीको विकल्प दाहाल होइनन्, बरु दोस्रो पुस्ताका नेता अघि सर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । राजनीतिका चतुर खेलाडी ओलीले यो आवास महसूस गरेर अर्को तुरुप फालिसकेका छन्, नेतृत्व हस्तान्तरण गर्नुपरे दोस्रो पुस्तालाई दिन सकिने तर दाहाल त्यसका निम्ति उपयुक्त पात्र होइनन् भनेर ।

ओलीको यस अभिव्यक्तिलाई लिएर आमरुपमा स्वागत गरिएको छ, कतै सशर्त त कतै निःशर्त । जे भए पनि दाहालले सहानुभूति गुमाउँदै जानु र ओलीले नयाँनयाँ तुरुप फालेर ध्यान मोड्न सफल हुँदै जानुले पनि अबको राजनीतिक दिशाबारे अनुमान लगाउन सकिन्छ । घटनाक्रमले के देखाउँदै छ भने ओलीले अब दाहाल मात्र होइन, उनको लहैलहैमा लागेर आफूविरुद्ध व्यूहरचना गर्ने हरेकलाई छानीछानी कुनै न कुनै तवरले सबक सिकाउँदै छन् ।

त्यसो त दाहाल खासै दह्रो मुटु भएका नेता पनि होइनन् । उनको स्वभाव हेर्ने हो भने माओवादी जनयुद्ध यिनैले हाँकेका थिए भनेर पनि शंका उत्पन्न गराउँछ । रुक्मांगद कटवालमाथि कारवाही गर्दाको निर्णय सेरेमोनियल राष्ट्रपतिले संविधानबाहिर गएर उल्टाउँदा पनि बालुवाटारमा थुरथुर भएर बसेका नेता हुन्, दाहाल । अहिले त नेकपाजस्तो झण्डै दुई तिहाई बहुमत भएको दलको अध्यक्ष भएर पनि आफूसँग केही नभएजस्तो अवस्थामा पुगेका छन् । पूर्वप्रधानमन्त्री दाहालका निम्ति राजनीतिक जीवनमा अहिलेजस्तो कमजोर महसूस गर्नुपर्ने अवस्था यसअघि सायदै आएको थियो ।

ओलीले यतिखेर आफूसँग शत्रुता कायम गर्नेहरुको हालत के हुन्छ भनेर समेत दाहालमार्फत् नै सन्देश दिन खोजेको देखिन्छ । यसअघि यसैगरी उनले माधव नेपाल र उनको समूहलाई भित्तामा पु¥याएर देखाइदिएका थिए । अहिले क्रमशः ओलीले नेपाल समूहलाई नजिक राख्न खोजेको देखिन्छ । वामदेव गौतम पक्षका केही नेतालाई आफ्नोतिर पारिसकेका छन् । यही कारण उनी संसदीय दलमा सुविधाजनक अवस्थामा हुनेछन् । संसदीय दलमा बहुमत हुन्जेल ओलीलाई अरु कोही माइकालाल आएर पनि हल्लाउन सक्ने छैन । यही कारण ओली ढुक्क र निर्धक्क देखिन्छन् भने दाहाल उदास र तनावको अवस्थामा ।बर्णनबाट

  • प्रकाशित मिति : कात्तिक २५, २०७७, मंगलवार ०२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८