केपि शर्मा
कार्तिक १९,२०७७
चितवन। विश्व सम्पदा सुचीमा सूचीकृत देशकै पहिलो विस २०३० असोज ४ गते स्थापना भएको चितवन रािष्ट्रय निकुञ्ज भित्र मौखिक कानुनका भरमा जीप सफारी हुँदै आएको पाइएको छ ।
एक सिँङ्गे गैंडा र सकटापन्न घडियाल गोहीको मुख्य बासस्थान रहेको निकुञ्ज भित्र कानुन विपरीतको जीप सफारी लामो समय चलिरहदा यसले संरक्षणमा असर गर्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा आउनेहरुले निकुञ्ज र वन्यजन्तु हेर्न जीप सफारीको प्रयोग गर्दछन् । कानुन अनुसार त्यसरी गएका जीप सुर्य नअस्ताउँदै निकुञ्जबाट बाहिरिनुपर्ने भएपनि निकुञ्ज प्रशासनको सहयोगमा महिनौँ महिना भित्रै पार्किङ्ग गरेर राख्ने गरिएको पाइएको छ । असोज लागेपछि कसराबाट प्रवेश गराउने जीपहरु असार अघिसम्म निकुञ्ज भित्रै पार्किङ्ग गर्ने गरिएको छ ।
संरक्षणकर्मीहरुका अनुसार ,“त्यसरी पार्किङ्ग गर्ने नियम नै छैन । संरक्षणलाइ ओझेलमा पारेर नाफालाई हेरिएको छ । सफारी नगर्नु भन्ने होइन तर त्यसरी गरिने पार्किङ्गले कहिँ न कहिँ शंका उब्जाउँछ । ”
सौराहाबाट सिधै जान राप्ती नदिमा पुल नहुँदा जीप सफारी संचालन हुने मौसममा कसराबाट लगेर सौराहा पारी महिनौँ राख्ने गरिएको छ । जिप सफारीका संचालकहरु भने व्यवहारिक कठिनाइका कारण त्यसरी निकुञ्जभित्रै पार्किङ गरेको बताउँछन । हात्ती तथा जिप बुकिङका संचालक त्रैलोक्य चित्रकार भन्छन ,“ हाम्रो मातहतमा ५० जति जीप छन् । पर्यटक घुमाउन कसराबाट दैनिक आवतजावत गर्न धेरै किलोमिटर पार गर्नुपर्छ । राप्तीमा पुल छैन । निकुञ्ज प्रशासनसँगको मौखिक सहमतिमा पार्किङ गरेका छौँ । संरक्षणमा हानी गरेका छैनौँ । ”
अर्का व्यवसायि एवम् निकुञ्ज सफारी प्रा।लि।का अध्यक्ष गोपाल श्रेष्ठले पनि कानुनमा पार्किङ्ग गर्न पाउने नभएको स्वीकारे । उनले भने,“ लिखित सहमति छैन , परापुर्वक कालदेखि नै मौखिक सहमतिमा यसरी नै चलिरहेको छ । ”
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने राप्ती खोलामा पुल नभएको कारण जीपहरुलाई निकुञ्ज भित्रै राख्न दिएको बताए । “अहिले सम्मको अवस्था हेर्दा व्यवसायिहरुले जे माग गरे हामीले कानुन नहेरी माग पुरा गरिदिएका छौँ” उनले भने । उनका अनुसार १०० वढि जीप सफारीमा प्रयोग भइरहेका छन् । सवै जीप राष्ट्रिय निकुञ्जमा पार्किङ हुन्छन् ।
संरक्षणकर्मी लगायतको चासो बढेकाले अव छिट्टै आचार संहिता बनाउने र सबै प्रकृया मिलाएर व्यवस्थापन गर्ने बरालले बताए । पार्किङ गर्न दिने नदिने अधिकारी प्रमुख संरक्षण अधिकृताई रहेको समेत उनले दावी गरे ।
दुई सिट क्षमता १२ यात्रु
निकुञ्जमा सफारीका रुपमा प्रयोग भएका जीपहरु सिँगल क्याविन हुन् । यिनको सिट क्षमता २ जनाको हो तर १२ जना सम्म राखेर सफारी गराउछन । यी जिपमा चालक सहित दुई जना मात्र चड्न पाउने अनुमति हुन्छ । तर व्यवसायिहरुले नियमको उल्लंघन गरी १२ जना सम्म चढाएर सफारी गराइरहेका हुन्छन् ।
जीप व्यवसायि चित्रकार दुई जनाको क्षमता मात्रै भएपनि १०÷१२ जना सम्म चढाउने गरेको स्वीकार्छन् । अर्का व्यवसायि श्रेष्ठले पनि सीट क्षमता २ जनाको मात्रै भएको तर एक जना बोकेर लगानी नउठ्ने भएपछि ८ देखि १२ जना सम्म बोक्ने गरेको बताए ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले निकुञ्ज भित्रको सवारी चेकजाँच आर्मीले गर्ने भएकाले आफूहरुले केही गर्न नसक्ने बताउँछन् । उनि भन्छन “ निकुञ्ज वाहिर ती संख्यामा यात्रु चढाए कानुन विपरीत भएको भन्दै हामी कारवाही गर्ने थियाँै तर निकुञ्ज भित्र हेर्ने निकायनै अर्कै भएका कारण हामीले केही गर्न मिल्दैन ।”
यस्ता जिपमा २ जनाको मात्रै बिमा हुने भएकोले यदि कसैगरि दुर्घटना भएमा त्यसको क्षतिपूर्ति कस्ले दिने भन्ने यकिन छैन । कानुनत २ जनाको मात्र बिमा दाबी गर्न सकिन्छ ।
सम्भावित दुर्घटनाबाट हुने क्षतीको जिम्मा कसले लिने भन्नेमा पनि अन्यौल रहेको पाइन्छ । कानुनमा स्पष्टता नहुनु र निकुञ्ज प्रशासनले चासो नदिँदा के हुन्छ भन्ने मै प्रश्न छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल स्वयम व्यवसायि यसको जिम्मेवार हुने बताउँछन । तर व्यवसायिहरु भने यो मान्न तयार छैनन् । ब्यबसायी चित्रकार कुनै हालतमा पनि सफारी गर्दा जीप दुर्घटना नहुने ठोकुवा गर्छन उनी भन्छन “ हामी सीमित गतिमा हुन्छौँ । अहिलेसम्म दुर्घटना भएकोनै छैन । त्यसैले क्षतीपूर्ति किन दिन पर्यो रु”
अर्का व्यवसायि श्रेष्ठले भने सानो तिनो घाउ चोटपटक लाग्यो भने व्यवसायिले व्यहोर्ने तर ठूलो दुर्घटना भए आफूहरुको जिम्मेवारी नहुने बताउँछन । उनले भने,“सामान्य घाउ चोट लाग्यो भने हामीले उपचार गरिदिने हो तर ठूलो दुर्घटना भयो भने के गर्ने भन्ने हामीलाई नै थाहा छैन ।”
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभक्त आचार्यले जीप पार्किङ्ग गर्न दिने नदिनेबारे स्थानीय वार्डेनले पनि निर्णय गर्न सक्ने बताउँछन तर संरक्षणमा असर पर्ने देखीएमा भने तत्काल हटाउनुपर्ने उनको भनाई छ । “उनीहरुले कसरी संचालन गरेको छ त्यसैमा भर पर्छ उनेले भने,“ निकुञ्ज भित्र पार्किङ गर्दा ठूलो दुर्घटना हुन सक्छ । निकुञ्ज भित्र प्रवेश गर्दा आफ्नो सुरक्षा आफैले गर्नुपर्ने नियम रहेको छ । जीप बाट भएको क्षती चाहिँ जीप संचालकले हेर्नुपर्ने हुन्छ । ”
टाइगर टप्सका हात्ती ८ बर्ष देखि निकुञ्जभित्रै
निकुञ्ज भित्र व्यक्तिले पालेको हात्ती राख्न नपाइने नियमलाई पनि निकुञ्ज प्रशासने कार्यान्वनय गरेको छैन । कुनै बेला ख्याती कमाएको होटल टाइगर टप्स वन्द भएपछि त्यहाँ रहेका हात्ती अझै निकालिएको छैन । सामान्य गरिव चेपाङले छाप्रो हाल्दा आगो लगाउन जाने निकुञ्ज प्रशासन टाइगर टप्सको हात्ती निकाल्ने बारे अहिले सम्म चुइक्क बोल्न समेत नसक्नुले विभिन्न संका उपसंका सहजै गर्न सकिन्छ ।
उक्त होटलका तीन वटै हात्ती अझै भित्र छन् । तर पर्यटन प्रयोजनका लागि प्रयोगमा आउन नदिएको प्रमुख संरक्षण अधिकृत बराल बताउँछन् ।
सामान्य जनताले निकुञ्ज वरीपरी कहिलेकाहीँ गल्ती गरिहाले ज्यान सम्म लिने सैनिक निकुञ्जमा थिए । कुटी कुटी सख्त घाइते बनाएर घर पठाउँदा एक जना चेपाङको केही महिना अघि मृत्यु नै भएको थियो । तर आँखै अगाडि भएको कानुन विपरीतका कार्य रोक्न भने न त निकुञ्ज प्रशासनले चासो दिएको छ न सफारीमा राखिने यात्रुको सुरक्षाका लागि सेनाले केही गरेको छ । नाफा र व्यसायलाई ध्यान दिँदा संरक्षण ओझेलमा परेको चिन्ता वढ्न थालेको छ । व्यवहारिक कठिनाई भए कानुन संशोधन गर्नका लागि माथि सिफारिस गर्नुपर्ने टिप्पणी उठाउनुपर्ने दायित्वबाट पन्छिएर व्यापारीको स्वार्थमा कानुनलाई नजरअन्दाज गर्न खोजिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८