• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

नेपाली सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु

  • खबरदाता

नेपाली सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु

 

कार्तिक -१९,२०७७

माडि । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ९ श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजना माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मङ्गलबार ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको छ ।

सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधि भाषामा लिखित हिन्दुहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नु भएको हो । सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको हो ।

एक दिवसीय साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला संस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यो साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा अगाडि बढाइएको माडी‌मा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहल गर्ने बताउँदै माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको पूर्ण सफलताको लागि पठाएको लिखित शुभकामना सन्देश सुनाइएको थियो । लिखित शुभकामना सन्देशमा रामचरितमानस सुन्दर काण्डको साङ्गीतिक पारायण कार्यक्रम अयोजना गरिएकोमा खुशी व्यक्त गर्दै रामधाम निर्माणको अभियानमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

कार्यक्रममा स्वर्गीय आमा पार्वती मल्ल आचार्यको स्मृतिमा छोरा हरिलाल आचार्यद्वारा नव निर्मित श्रीराम मन्दिरको पनि प्रमुख अतिथि ढकालले उद्घाटन गरेका थिए साथै श्रीराम संस्था अमेरिकाका अध्यक्ष थलराज पन्तले भर्जुवल शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कलाकार हरि योञ्जनले माडीका विशेषता र रामधाम निर्माणको अभियानमा जागरण ल्याउने गीत प्रस्तुत गरे ।

अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा र माडी नगरपालिकाको समन्वयमा सम्पन्न साङ्गीतिक पाठपारायण कार्यक्रमको उद्घाटन समारोहमा श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ९ श्री राम संस्था० अमेरिकाका प्रतिनिधि पण्डित तुलसीराम शर्मा, सामाजिक व्यक्तित्व श्रीप्रसाद दवाडी, नेपाली काङ्ग्रेसका प्रतिनिधि शोभाकर चापागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार ०२:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८