• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

अबको प्रधानमन्त्री बाबुराम


अबको प्रधानमन्त्री बाबुराम

 

नारायण दाहाल  / कार्तिक १८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बढ्दो घेराबन्दीले राजनीतिमा नयाँनयाँ चलखेल सुरु भएकाँ छन् । नेकपाभित्रै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सल्काइएको आगोमा कसको तेल परेको छ भन्ने छानबिनकै विषय छ । तर, घटनाक्रमले के देखाउँछ भने प्रचण्डले आफ्नै शक्तिले ओलीविरुद्ध हुंकार गरिरहेका छैनन् । कुनै विदेशी ब्रान्डको ब्याट्रीबाट उनी चलिरहेको ओली पक्षको बुझाइ छ ।

पार्टीमा मिलिसकेको भनिएको विवादमा ओलीविरुद्ध आक्रोश अप्रत्यासित तवरमा बढेको छ । यसकारण पनि अहिले नेकपाभित्र बलेको आगो स्वाभाविक त छैन नै, सुख्खा मौसम सुरु हुनै लाग्दा डढेलो कहाँसम्म पुग्ने हो भन्ने पनि आकलनबाहिरकै विषय हो ।

त्यसो त आफ्नै घर बालेर आगो ताप्ने कम्युनिस्टहरुको परम्परागत शैली नै हो । त्यसमाथि दुई फरक राजनीतिक र सैद्धान्तिक पृष्ठभूमि अनि बेग्लाबेग्लै स्वार्थ समूहको घेरामा रहेका दलका नेताहरु लामो समय एकै ठाउँमा अटाउनु झनै सम्भव छैन । जे होस्, यतिखेर ओलीविरुद्धको चलखेल र घेराबन्दी पार्टीको घेराभन्दा बाहिर पुगेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत संसदको विशेष अधिवेशन माग गर्नु, अर्को विपक्षी दल जनता समाजवादी पार्टीसँग उसको हिमचिम बढ्नु र नेकपाभित्रै अविश्वासको प्रस्तावको चर्चा चल्नु एकअर्कासँग अभिन्न रुपमै जोडिएका घटनाक्रम हुन् । यी घटनाक्रम दृश्यमा फरकफरक मञ्चमा प्रदर्शित भए पनि नेपथ्यमा एउटै निर्देशक हुन सक्ने प्रबल सम्भावना छ ।

भारतीय जासुसी संस्था रअुका प्रमुख सामन्तकुमार गोयलको आगमनबारे कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अस्वाभाविक मौनता साँधेका छन् । बाहिर मौन देखिए पनि भित्रभित्रै भने यी दुई नेताको सक्रियता एकाएक बढेको छ । भारतीय राजदूत विनयमोहन क्वाक्राको सक्रियता पनि यिनकै वरिपरि बढी देखिन्छ ।कांग्रेस र जसपा मिलेर संसदको विशेष अधिवेशन बोलाउने, प्रचण्डसमेत त्यसमा मिसिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने गृहकार्य धेरै अघि बढेको छ । प्रचण्ड आफै आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा लैजान नसक्ने अवस्थामा छन् । संसदीय दलमा उनले बहुमत पुर्याउन सकेका छैनन् ।

पार्टीका विभिन्न कमिटीबाट ओलीका लागि अप्रिय निर्णय गर्दै जाने, पार्टीमा कमजोर देखाएर संसदमा बहुमत सिद्ध गर्न विपक्षीबाट चेतावनी दिने, अनि ओलीलाई सत्ताच्युत गर्ने प्रचण्ड, देउवा र बाबुराम भट्टराईको तयारी देखिन्छ । अविश्वास प्रस्ताव संसदमा दर्ता गर्दा वैकल्पिक प्रधानमन्त्रीको नाम पनि उल्लेख गर्नुपर्ने संवैधानिक बाध्यता छ । विकल्पमा बाबुराम भट्टराईको नाम प्रस्तावित हुने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

बाबुराम भट्टराईलाई केन्द्रमा राखेर एउटा राजनीतिक ध्रुव निर्माण गर्न खोजिएको धेरै अघिदेखि हो । सुरुमा उनलाई नेकपा एमाले र माओवादीसँगै तालमेल गर्न लगाइयो । वास्तवमा उनलाई दुई ठूला कम्युनिस्ट पार्टीबीचको तालमेल भाँड्नका निम्ति त्यस मञ्चमा उभ्याइएको थियो । पछि दुई पार्टीको तालमेल त भाँडिएन, भट्टराई आफै भाँडिए ।नेकपा र माओवादी मिलेर चुनाव लड्ने भएपछि बाबुरामको राजनीति बचाउन कांग्रेसबाट सहयोग जुटाइयो । संसदमा राजनीतिक दलको समेत मान्यता नपाएका एकसिटे बाबुराम अहिले ३४ सिट भएको संसदको तेस्रो ठूलो शक्तिका नेता भएका छन् ।

कांग्रेसले समेत समर्थन गरेमा ९७ सिट उनको पक्षमा हुनेछ । नेकपाकै विरोधी खेमा एक्लैको संसदमा बहुमत नपुग्ने, अरु विपक्षीसँग नमिले ओलीलाई ढाल्न नसक्ने लगायत कारणले प्रचण्ड पनि बाबुरामलाई समर्थन गर्नुपर्ने अवस्थामा छन् । यसो गर्दा नेकपाका करिब ७० सांसद ओलीको विपक्षमा देखिन सक्नेछन् ।यस्तो समीकरण बन्दा प्रधानमन्त्रीका हकदार देउवा भए पनि उनलाई दक्षिणी शक्तिले साथ दिने अवस्था देखिँदैन । खासगरी एमसीसीको अपक्षमा अडिएका कारण उनलाई पश्चिमा शक्तिनजिक ठानेर दक्षिणले विश्वास नगरेको बुझिन्छ ।

ओलीको सिंहासनमुनि रहेको करिब दुई तिहाईको संसदीय शक्ति भताभुंग पार्न सके यही संसदको कार्यकालमा ढिलोचाँडो आफ्नो पनि पालो आउने देउवाको बुझाइ छ । त्यसैले ओलीविरुद्धको आक्रमणमा तत्काल बाबुरामलाई अघि सार्ने, त्यसपछि क्रमशः दाहाल, प्रचण्ड र माधव नेपालले पालैपालो बालुवाटार निवासको सुविधा भोग गर्न पाउने लोभ देखाइएको छ ।यसको प्रतिवादमा ओलीले कस्तो योजना अघि सार्छन् र कुन रणनीति प्रभावी हुन्छ, त्यो भने भविष्यले नै देखाउनेछ । अहिले त दृश्यमा भारतीय राजदूतको सक्रियता मात्र देखिएको छ । चिनियाँ राजदूतको देखिनै बाँकी छ । त्यसैले नेकपाभित्रको राजनीतिले रातारात नाटकीय मोड लिने सम्भावना पनि उत्तिकै छ ।बर्णनबाट ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७७, मंगलवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८