कार्तिक १७ ,२०७८
चितवन । भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन आजबाट संयुक्त सर्भे सुरु भएको छ । सडक डिभिजन कार्यालय भतरपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार संयुक्त सर्भे सडक निर्माणको पहिलो चरण भएको र अव कामले गति लिने छ।
सर्भेका समय डिपिआरसँग फिल्ड भिडाउने र अप्ठेरा भएका ठाउँहरुको पहिचान गरी सडक विस्तारलाई सहज गराउने कार्य गरिने अधिकारीले बताए ।उनले भने “सडक विस्तारको यो पहिलो चरण हो । संयुक्त सर्भे भनेकै कामको थालनी पनि हो ।”
सर्भेको समय हटाउनुपर्ने विद्युतका पोल, घरहरु, पर्खाल लगाउनु पर्ने ठाउँ आदिको गहिराइमा पहिचान गरी सडक विस्तारका क्रममा अवरोध नहुने गरी सर्भे सुरु भएको हो ।
सडक विस्तारका लागि इण्डो सगुन जेभीले जिम्मा पाएको छ ।
प्राविधिक प्रस्तावबाट १६ कम्पनी मध्ये आर्थिक प्रस्तावका लागि कम आर्थिक पेश गरेको आधारमा सो निर्माण कम्पनी छनोट भएको अधिकारीले जानकारी दिए । अहिले दुई लेन रहेको छ किलोमिटर सडकखण्डलाई छ लेन बनाउने क्रममा सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर निर्माण गरिनेछ । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ ।
यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी पनि गरेको छ । यो सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने र सोही अनुसारको संरचनामा सडक बनाइने छ । सम्झौता अनुसार १ अर्ब १२ करोड लागतमा सडक बन्ने अधिकारीको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८