• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

फूलको माग ४० प्रतिशत घट्ने


फूलको माग ४० प्रतिशत घट्ने

 

कार्तिक – १७,२०७७

फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन।

फ्लोरिकल्चर एसोसिएसन नेपालले फूल आयात रोक्ने अभियान अन्तर्गत यही साता भैँसेपाटीबाट सयपत्रीका १० हजार माला जफत गरी नष्ट गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले कोभिड–१९ का कारण यस वर्ष तिहारमा बजारमा सयपत्री फूलको माग कम हुने र स्वदेशी उत्पादन राम्रो भएकाले फूल आयातलाई निस्तेज गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए।

उनले भने, “गत वर्षहरूमा जस्तो यस वर्ष फूलको धेरै माग नभए पनि फूल व्यवसायीलाई तिहारले थोरै भए पनि टिक्ने आधार दिन्छ कि भन्ने आशा छ । भारतबाट आयात खुला गरियो भने त सबै लगानी डुब्छ।”

एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ । अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएका थिए।

यस वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको छ ।
एसोसिएसनका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको छ । गएको वर्षको तिहारमा लगभग तीन लाख माला भारतबाट ल्याइएको थियो ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएको हुनाले उत्पादन राम्रो र पर्याप्त भएको दाबी गरे । उनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँभन्दा बढी तिर्नु पर्दैन । अध्यक्ष श्रेष्ठले योभन्दा महँगो हुन नदिने एसोसिएसनको नीति रहेको पनि जानकारी दिए।

अघिल्लो वर्ष तिहारमा मात्रै १८ करोड रुपियाँको फूलको कारोबार भएकामा यो वर्ष भने बजारमा माग कमी भएकाले कारोबार कम हुने देखिएको छ । एसोसिएसनका अनुसार गत वर्ष झन्डै चार अर्बको फूलको कारोबार गर्ने लक्ष्यसहित लगानी बढाएकामा कोभिडका कारण दुई अर्ब ४२ करोड बराबरको मात्रै कारोबार भयो । चालू आर्थिक वर्षमा तीन अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा छ ।

अध्यक्ष श्रेष्ठले मन्दिर पूजाआजालगायतमा सहज नहुँदाको अवस्थामा समेत हाल दैनिक १० हजारदेखि १५ हजार माला खपत भइरहेको र उत्पादन पनि यो वर्ष राम्रै भएकाले अपेक्षाकृत कारोबार हुने देखिएको बताए ।९गोरखापत्रबाट ०

  • प्रकाशित मिति : कात्तिक १७, २०७७, सोमवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८