नारायण दाहाल / कार्तिक -१६ ,२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तासामु अहिलेसम्मकै सबैभन्दा ठूलो संकट आइलागेको छ । पार्टीको विरोधी खेमा मात्रै होइन, कतिपय उनकै विश्वासपात्र समेत उनका गतिविधिबाट टाढिने अवस्था बनेको छ । उनका कुनै पनि क्रियाकलापको बचाउ गर्न नसक्ने अवस्थामा ओली पक्षका नेता–कार्यकर्ता पुगेका छन् । अरु राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश पनि उनका निम्ति निकै प्रतिकूल बनिसकेको छ ।
यति हुँदाहुँदै पनि ओलीले सहज रुपमा सत्ता त्याग्ने सम्भावना छैन । जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्ने उनको मनस्थिति देखिन्छ । उनको स्वभाव पनि हत्पत्ति गल्ने प्रकृतिको छैन । यस्तो अवस्थामा ओलीले कुर्सी रक्षा कसरी गर्न सक्लान् भन्ने यक्ष प्रश्न अहिले सामुन्नेमा ठडिएको छ । निकटस्थहरुसँग छलफल गरेका आधारमा तत्काल उनका सामु निम्न विकल्प देखिन्छन्–
विकल्प १ः प्रचण्डलाई नै फकाउने
ओलीले अहिले पनि पहिलो विकल्पका रुपमा प्रचण्डलाई फकाउने उपाय नै रोजेका छन् । प्रचण्डको राजनीतिक र नैतिक धरातल पनि निकै कमजोर बनिसकेकोबारे भलिभाँती जानकार ओलीले आगामी महाधिवेशनपछि एकल अध्यक्षको जिम्मेवारी दिने लोभ देखाइरहेका छन् ।
भर्खरै प्रदीप नेपालको घरमा सम्पन्न एक भेलाले पार्टीको महाधिवेशन एक वर्ष पर सार्ने, त्यसपछि पूर्ण अधिकारसहितको अध्यक्ष दाहाललाई दिने र तिहारलगत्तै गरिने मन्त्रिपरिषद हेरफेरमा दाहाल पक्षीय नेता थप्ने लगायतका विषयलाई बटमलाइन बनाई सम्झौता गर्ने तयारी गरेको छ । यसमा दाहाल पनि लचक देखिएको स्रोतको भनाइ छ ।
महाधिवेशनमा चुनाव भइहाले आफू निर्वाचित नहुने निश्चित देखेका दाहालले ओलीसँग सौदाबाजी गर्नुको अर्को विकल्प पनि देखेका छैनन् । नेपालसँग मिलेर ओलीविरुद्ध केहि गर्दा पनि पूर्वएमाले संगठनले स्वीकार नगरी विद्रोह हुन सक्ने भय दाहालमा देखिन्छ । यसकारण पनि अन्तितमा ओलीले दाहालसँग नयाँ प्रकारको सम्झौता गरी संघर्ष स्थगन गर्न सक्छन् । यदि आफूले सम्झौता नगरे माधव नेपाल वा वामदेव गौतममध्ये एकजनाले ओलीसँग बेग्लै लेनदेन गरी आफूलाई धोका हुन सक्न दाहालले ठानेका छन् ।
विकल्प २ः माधव नेपाललाई फकाउने
पछिल्लो एक हप्तामा मात्र ओलीले माधव नेपाललाई बालुवाटार बोलाएर घण्टौँ कुरा गरेका छन् । साथै उनले आफ्ना दूतहरुलाई पठाएर समेत नेपाललाई फकाउने प्रयास गरेका छन् । नेपालसँग उनले कुनै हालतमा माओवादीलाई पार्टीको नेतृत्व दिन नहुने भन्दै ‘बरु तपाईँ नै अघि सर्नू’ भनेका छन् । तर नेपालले भने शब्दको भुलभुलैयामा आफू नपर्ने स्पष्ट पारेका छन् । वास्तवमा भन्ने हो भने अहिलेसम्म ओलीप्रति कठोर र आक्रामक प्रचण्डभन्दा माधव नेपाल नै रहेका छन् । जबकि, प्रचण्डले अन्तिम अवस्थामा पूर्वएमालेहरु एक भएर आफूमाथि धोका हुने ठानिरहेका छन् ।
विकल्प ३ः संकटकाल घोषणा
ओलीले आफ्नो रक्षाकवचका रुपमा यसअघि ल्याएका अध्यादेश घातक सिद्ध भए । त्यस्तै अर्को घातक विकल्प बाँकी छ, संकटकाल घोषणा । महामारी र आर्थिक संकटलाई देखाएर संकटकाल घोषणा गरी कतिपय राजनीतिक गतिविधिमा उनले प्रतिबन्ध लगाउन सक्छन् भने कतिपय संवैधानिक व्यवस्था निलम्बन पनि गर्न सक्छन् । त्यस्तो अवस्थामा उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि विरोधीहरुका निम्ति सहज हुने छैन भन्ने बुझाइ कतिपयको छ । तर, सुवास नेम्वाङ लगायत ओलीका उनका कतिपय विश्वासपात्रले यस विकल्पबारे छलफलसमेत गर्न रुचाएका छैनन् ।
विकल्प ४ः संसद विघटन र मध्यावधि निर्वाचन
अहिलेको तयारी हेर्दा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतले महामारीका विषयमा छलफल गर्न भन्दै संसद अधिवेशन माग गर्ने, त्यो अधिवेशन सुरु हुँदा नहुँदै अविश्वासको प्रस्ताव दर्ता गर्ने र त्यसमा प्रचण्ड समेतले समर्थन गरी ओलीको सत्ता उल्टाउने योजना देखिन्छ । यस्तो योजनाले औपचारिकता नपाउँदै ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचन गर्न सक्ने सम्भावना प्रबल छ ।
राष्ट्रपतिले उनको सिफारिस सहजै अनुमोदन गर्न सक्ने सम्भावना हुन सक्छ ।
संविधानमा यसबारे स्पष्ट व्यवस्था नभए पनि संविधानको धारा ८५ मा ‘अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने’ उल्लेख छ । यसको अर्थ बहुमतमा रहेको प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता हुनुअगावै संसद विघटन गर्न सक्ने अर्थमा लिइएको छ । यसबारे न्यायिक नेतृत्वसँग समेत तालमेल गरी निर्णय गर्न सकिने उपायबारे पनि ओली पक्षले छलफल गरेको बुझिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८