• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज दशैंको नवौं दिन – दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै


आज दशैंको नवौं दिन – दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै

कार्तिक–९, २०७७

आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

नवरात्रिको नवौं दिन शक्तिस्वरुपा दुर्गा भवानी (महालक्ष्मी देवी) को पूजाआजा गरिन्छ । महा अष्टमीमा झैं कतिपय ठाउँमा भने नवमीमा समेत कलपूर्जा, हातहतियारहरूको पूजा गरिन्छ । कन्याहरूको पूजा गरी भोजन पनि गराइन्छ । पूजाआजाका लागि काठमाडौँको तलेजु भवानीको मन्दिर आजको दिन सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।

घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा महा नवमीका दिन देवी मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ । आज घरघरमा विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । महा नवमीमा दुर्गा भवानीलाई जति धेरै बली दिन सक्यो त्यति धेरै पुण्य लाभ हुने धार्मिक विश्वास छ । नवदुर्गा भवानीले असुरहरूको निर्मूल गरेको दिन महा नवमीलाई मानिन्छ ।
नवरात्रिको नवौ दिनमा सिद्धिद्धात्री देवीको पूजाआजा गरिन्छ ।

दुर्गा भगवतीले असुरहरु नास गर्ने क्रममा उनीहरुको सैन्य शक्ति तहसनहस बनाउँदा प्राण बचाउन असुरहरु भेष बदलेर खसी, बोका, भेडा, हाँस, कुखुराको रुप धारण गरेकाले नवमीका दिन मौलामा यी पशुको बली दिने चलन चलेको बताइन्छ । शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौंला र मूला आदि बलिका रुपमा देवी भगवती सामु अर्पण गर्ने गर्दछन् । महा नवमीमा चामुण्डादेवीले रक्तबिज नामक असुरको संहार गरी देवत्व र सत्यको रक्षा गर्नु भएकोले नवमीमा कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा पनि गर्ने चलन छ ।

आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्दछ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात त्यागिदिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छलकपट गरी दस प्रकारका विकारको त्यागका लागि पनि महा नवमी पूजा गर्ने चलन रहेको छ । तर यो वर्ष कोरोनाको कारण शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने छैन ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७७, आइतवार ०४:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८