• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कलकत्ता र पन्जाबको जित

  • खवरदाता

कलकत्ता र पन्जाबको जित

कार्तिक–९, २०७७

किङ्स पन्जाब ११ ले सन राइजर्स हैदरावादलाई नाटकीय खेलमा १२ रनले पराजित गरे पछि यस सत्रको आइपिएलमा प्ले अफको धेरै समीकरण खुला रहेको छ । शनिवार भएको खेलमा पन्जाबले छाडेको १२७ रनको लक्ष्य पछ्याएको हैदरावाद नौ विकेटको क्षतीमा ११४ रनमा सीमित भयो । कुनै ६.१ ओभरसम्म हैदरावादले कुनै विकेट नगुमाई ५६ रन जोडेको थियो ।

रवि विस्नोइको बलमा डेभिड वार्नर स्टम्पीङ भए पछि सुरु भएको हैदरावादको पतनको शृङ्खला रोकिन पाएन । म्यान अफ द म्याच समेत घोषित क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर मध्य क्रमका तिन ब्याट्सम्यान आउट गरे । आर्सदीप सिंहले ३.५ ओभरमा २३ रन खर्चेर तिन विकेट लिए । विस्नोइले ४ ओभरमा १३ रन खर्चेर एक विकेट लिए । हैदरावादका वार्नरले ३५ तथा विजय शंकरले २६ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतीमा १२६ रन बनाएको थियो । २८ बलको सामना गरेका निकोलास पूरण ३२ रनमा अविजित रहे भने कप्तान लोकेश राहुलले २७ बलमा २७ तथा क्रिस गेलले २० बलमा २० रन जोडे । रसिद खानले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए ।

शनिवारको पहिलो खेलमा भने सुनिल नारायण र नितीस राना फर्ममा फर्के पछि कलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटललाई ५९ रनले हरायो ।
कलकत्ताले छाडेको १९५ रनको लक्ष्य पछ्याएको दिल्ली अजान्के रहानेलाई पारीको पहिलो बलमा प्याट कुमिन्सले आउट गरे पछि लगातार पछाडि धकेलिएको थियो । दिल्लीले ९ विकेटको क्षतीमा १३५ रन बनायो । तेस्रो ओभरमा ६ रन बनाएका शिखर धवनलाई पनि कुमिन्सले बोल्ड गरे । कप्तान श्रेयास ऐयार र ऋषभ पन्तले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे पछि वरुण चक्रवर्तीले पाँच विकेट लिएर दिल्लीको मध्य क्रम ध्वस्त गरे । उनले ४ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । चक्रवर्ती म्यान अफ द म्याच समेत घोषित भए । दिल्लीका ऐयारले ४७ तथा पन्तले ३३ बलमा २७ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताको सुरुवात पनि खराब रहेको थियो । कलकत्ताले ७.२ ओभरमा ४२ रनमा तिन विकेट गुमाएको थियो । सुभमन गिल ९, राहुल त्रिपाठी १३ र दिनेश कात्तिक ३ रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यानको रूपमा नयाँ भूमिकामा रहेका नितिस राना र पाँचौँ क्रममा आएका नारायणले उत्कृष्ट ब्याटिङ गर्दै ११५ रनको साझेदारी गरे । नारायणले ३२ बलमा ६४ रन बनाए । यसै गरी, रानाले ५३ बलमा ८१ रन बनाए । नारायण आउट भए पछि ब्याटिङ गरेको मोर्गानले पनि ९ बलमा १७ रन बनाए । मोर्गान र रानाको पारीको अन्तिम दुई बलमा आउट भए पनि कलकत्ता ६ विकेटको क्षतीमा १९४ रन जोड्न सफल भएको थियो ।

१२ अङ्क भएको कलकत्ता तालिकाको चौथो स्थानमा छ भने १० अङ्क भएको पन्जाब पाँचौँ स्थानमा छ । यी दुईको अव हुने खेल प्ले अफ प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लगाउन महत्त्वपूर्ण हुन सक्ने छ । १४ अङ्क सहित दिल्ली दोस्रो तथा ८ अङ्क भएको हैदरावाद छैटौँ स्थानमा छ ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७७, आइतवार ०३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८