• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

देवी स्कंदमाताको पूजा आराधना गरि नवरात्रको पाँचौ दिन मनाईदै


देवी स्कंदमाताको पूजा आराधना गरि नवरात्रको पाँचौ दिन मनाईदै

कार्तिक–५, २०७७

काठमाडौँ । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ ।

कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ ।

कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ ।

यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ ।

स्कन्दमाता स्वरूपिणी देवीका चार हातहरू छन् । दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।

तारकासुरले कठोर तपस्या गरि ब्रम्हाजीसँग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । बरदान पाएपछि तारकाशुरको कारणले तिनै लोक त्रशित थियो । तारकाशुरले स्वर्गबाट सबै देवताहरुलाई भगाएर राज गर्न थाल्यो ।

उता सतिदेवीको मृत्यु पश्चात भगवान शिवजी ध्यान मग्न रहन थाल्नुभयो । शतिदेवीले पुनह पार्वतिको रुपमा हिमालय पर्वतमा जन्म लिएपछि पनि शिवजीले योग तथा साधना त्याग गर्नुभएन ।

पार्वतीले ब्रह्माचारिणीको रुप धारण गरि शिवजी स्वामी पाउँभनि कठोर तपस्या गर्नुभयो । माता पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरि पार्वतीसँग बिवाह गर्नुभयो । श्रीमहादेव र पार्वतीको सन्तान स्वरुप कुमार कार्तिकेयको जन्म भयो र पछि कार्तिकेयले तारकाशुरलाई बध गरेको शाश्त्रमा उल्लेख गरिएकोछ ।

यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ । अत ः मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भनि शाष्त्रमा लेखिएकोछ ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार ०२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८