• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पत्रकारको दशैं, ऋण खोजेर मनाउँदै


पत्रकारको दशैं, ऋण खोजेर मनाउँदै

सृजना खड्का / कार्तिक–२, २०७७
काठमाडौं  ।  अनिस मिजार, केन्द्रबिन्दु डट कममा आर्थिक रिपोर्टिङ गर्छन् । आर्थिक अर्थात् धन (सम्पत्ति सम्बन्धी रिपोर्टिङ गर्ने उनी यसपालिको दशैं साथीभाइसँग ऋण मागेर मनाउने तयारीमा छन् । अघिल्ला वर्षहरुमा महिना दिनअघि नै दशैंको योजना बुन्थे उनी । यसपालि मुखैमा दशैं आइसक्दा पनि उनमा कुनै हर्षोल्लास छैन । ‘अघिल्ला वर्षहरुमा महिना दिनदेखि नै दशैंको लिस्ट बन्थ्यो,’ उनले भने, ‘घरमा के लैजाने आफूले के किन्ने भनेर चाँजोपाँजो मिलाइथ्यो । यो वर्ष कम पैसामा कसरी दशैं मनाउने भनेर लिस्ट बनाइरहेको छु ।’

कोभिडले सबै क्षेत्रमा आर्थिक संकट आयो । सञ्चार क्षेत्रलाई झन् यसले छाड्ने कुरै भएन । सञ्चार गृहमा आर्थिक संकट निम्तिएसँगै मिजारको डेरामा पनि आर्थिक संकट आउन थाल्यो । ‘अफिसको तलबले बिहान –बेलुकाको गुजारा टार्नै मुस्किल परिरहेको छ,’ उनले भने, ‘यता छ महिनादेखि आधा तलबमा काम गरियो, उता छ महिनादेखिको कोठा भाडा तिर्न बाँकी छ ।’ महामारीमा अरु बेलाभन्दा खटिएर काम गर्दा पनि दालभात खानै मुस्किल भइरहेको गुनासो उनले पोखे । ‘यस्तै बेला चाडपर्व धमाधम जिस्काउन आइरहेको छ,’ उनले भने, ‘पहिला ६ सय गाडी भाडा तिरेर पुग्ने गाउँ अहिले १२ सयमा पनि मुस्किल छ । पैसाकै कारण डिप्रेसनमा गइएला जस्तो छ ।’

कान्तिपुर दैनिककी संवाददाता बुनु थारुलाई यसपालिको दशैं पक्का खल्लो हुनेछ भन्ने लागेको छ । ‘पोहोरभन्दा यो सालको दशैं खल्लो हुने पक्का छ,’ उनले भनिन्, ‘अहिले जागिर नै धरापमा छ । कहिले जागिर जाला र बेरोजगार भइएला भन्ने डरका बीच काम गरिंदैछ । भविष्यमा महामारीले झन् थिल्थिलो बनायो भने जागिरबाट हात धुनु नै पर्छ । यस्तो मनस्थितिमा कसरी दशैंमा रमाउन सकिएला र खै ?’

दाङ घर भएकी उनलाई अघिल्ला वर्षहरुमा ‘अफिसबाट कहिल्यै बिदा देला र घर जान टिकट काटौंला’ भन्ने लाग्थ्यो । यसपालि भने भने काठमाडौंमै दशैं मनाउने उनले सोचेकी छिन् । बोटबिरुवालाई माया गर्ने उनले यो वर्ष तिनै बोटबिरुवाको स्याहारसुसार गर्दै तिनैसँग फोटो खिच्दै दशैं मनाउने योजना बुनेकी छिन् । हरेक वर्ष दशैंमा कतै न कतै घुम्न जाने उनले यो वर्षका भ्रमण योजनाहरु सबै स्थगित गरेकी छिन् ।

सुत्र न्युज डट कमका संवाददाता समर्पण श्रीलाई पनि पहिलेजस्तो दशैंको रौनक छैन । ‘दशैमा आफन्तहरुसँगको भेटघाट र जमघटले नै रौनक थपिने हो,’ उनले भने, ‘यसपालि आफन्तहरुसँगको भेटघाट र जमघट सबै बन्द हुनेछन् ।’ अघिल्ला वर्ष जस्तो यो वर्ष अफिसबाट बोनस आउने आश छैन उनलाई । त्यसैले आफूलाई मन लागेको किताब किन्ने रहर उनले मारेका छन् । ‘यो दशैंमा खर्च गर्न पनि दशपटक सोचेर गर्नुपर्ने भएको छ,’ उनले भने, ‘आधारभूत कुरा जुटाउनै मुस्किल भइरहेको बेला आफ्ना रुचिका कुरा यसपालि जुटाउन सकिने अवस्था छैन ।’

एपीवन टेलिभिजनकी प्रस्तोता रुपा खड्का भट्टराईलाई कोरोनाको डरले यसपालिको दशैं मनाउने जागर, रहर केही छैन । दुई सन्तानकी आमा उनले आफ्ना सन्तानलाई समय दिने सोच बनाएकी छिन् । पहिलाका वर्षको भन्दा यो वर्ष खर्चमा नियन्त्रण गर्ने सोच उनले बनाएकी छिन् । ‘भोलि परिवारमा कसैलाई कोरोना देखियो भने आर्थिक रुपले असहज नहोस् भनेर पु¥याई–पु¥याई खर्च गरिरहेको छु,’ उनले भनिन् ।

नेपाली पब्लिक डट कमकी राधिका अधिकारीलाई पनि यो वर्षको दशैंको खास उत्साह छैन । आफू नजिकका साथीमा धमाधम कोरोना संक्रमण हुन थालेपछि वृद्ध आमाबुबासँग दशैं मनाउन गाउँ जाने–नजाने दोधोरमा छिन् । कोरोनाकै कारण पहिला काम गरेको मिडिया हाउसमा उनले जागिर गुमाउनु प¥यो । ‘गरिखाने वर्गका लागि जागीरसँगै धेरै कुरा जाँदो रहेछ,’ उनले भनिन्, ‘पहिलाका वर्षहरुमा कहिले घर जाने भनेर बहिनीहरुसँग एक महिनापहिले नै सल्लाह हुन्थ्यो । यो वर्ष घर नजाने बहाना खोजिरहेकी छु ।’

उनी घर जान नखोज्नुको आफ्नै कारण छ । उनका दाजु र बहिनी सरकारी जागिरे हुन् । घरबाट सरकारी जागिर खानका लागि उनलाई बारम्बार आग्रह गरिएको थियो । ‘आफ्नो सपना पूरा गर्छु भन्दै मिडियातिर लागे,’ उनले भनिन्, ‘तेरो सपना के भयो ?’ भनेर सोधे भने मसँग त्यसको जवाफ छैन । कोरोनाले उत्पन्न गराएको आर्थिक संकटको चपेटामा जीवन छ । यो राजधानीमा टार्नु र पुराउनु पर्ने थुप्रै कुरा छन् ।’

अरु वर्ष घर जाँदा बुबा, बहिनी र दाइलाई उनीहरुका रोजाइका किताब कोसेली लगिदिने उनलाई यो वर्ष आफ्नै रोजाइका किताब किन्न पनि मुस्किल परेको छ ।

नागरिक दैनिकका शिवहरी घिमिरेलाई यसपटकको दशैं निरास लागेको छ । उसै पनि असहज स्थितिको सामना गरिरहेका पत्रकारलाई दशैंले थप असहज बनाइदिएको उनले बताए । ‘अन्य अवस्थामा त असहज हुने पत्रकारलाई महामारीको बेला झन् असहज हुने नै भयो,’ उनले भने, ‘विगतका दशैहरूमा किताब किनमेल गरिन्थ्यो । यो वर्ष किताबमा लगानी गर्नसक्ने छाँटकाँट छैन ।’ महामारी सुरु भएसँगै पत्रकारहरु आर्थिक रूपमा हेपिएको उनले बताए । ‘नियमित तलब नै आउन मुस्किल परिरहेको बेलामा प्रोत्साहन भत्ता झन् आउने कुरै भएन,’ उनले भने, ‘यो वर्षको दशैं केही नकिनी बित्ला जस्तो छ ।’

आयो मेल डक कमकी संवाददाता अनिता श्रेष्ठले पहिलाका दशैंमा घुमघामको योजना बनाउँथिन् । यसपालि उनको लिस्टबाट त्यो योजना हटेको छ । ‘घुम्न जाँदा आफूभन्दा पैसालाई अगाडि लगाउनुपर्छ,’ उनले भनिन्, ‘यो पालि केही समय बेरोजगार भएर बस्नुप¥यो । त्यसैले पनि दशैंको केही योजना बनाएको छैन ।’

उज्यालो रेडियो नेटवर्ककी सन्जिता देवकोटाको अघिल्ला दशैंहरुमा केही न केही सामान जोड्थीन् । यो वर्ष केही पनि जोड्न सक्ने अवस्था नभएको उनले बताइन् । ‘आएको तलब भोलि भैपरी आइलागेमा ज्यान जोगाउनको लागि जोगाएर राखेको छु,’ उनले भनिन्, ‘कोरोनाको कारणले यो वर्ष घर जान सक्ने अवस्था पनि छैन । यसपालिको दशैं कोठामै बसेर बित्लाजस्तो छ ।’

बिजनेस प्लस टेलिभिजनकी सानु भट्टराईलाई दशैं आयो भनेर मौसमले जानकारी दिइसक्यो । तर, सपिङ गर्न नपाएको र घर (बर्दिया) जाने वातावरण नभएकाले उनलाई दशैं आएको जस्तै लागेको छैन । पत्रकारिता पेशाको कारणले विगत चार वर्षदेखि उनले काठमाडौँमै दशैं मनाउँदै छिन । (ईकागजबाट)

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८