जनार्जन खत्री / आश्विन–२८, २०७७
सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर –७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै काँगे्रसले मलङ्गवामा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।
काँगे्रस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद डा.अमरेश कुमार सिंहको नेतृत्वमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेको समूह र प्रहरीबीच झडप भएको हो । झडपमा सर्लाही प्रहरीका प्रवक्ता समेत रहनु भएका डीएसपी मदन कुँवर, ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाट, ईलाका प्रहरी कार्यालय हरिपुरका इन्सपेक्टर बिक्रम साह लगायत २० जना प्रहरी घाईते भएका सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताए ।
यस्तै सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० जना सशस्त्र प्रहरी पनि झडपमा परी घाईते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा थुपै्र कार्यकर्ता घाईते भएका र त्यसमध्ये १७ जनालाई उपचार नै गर्नुपर्ने गरी चोट लागेको सांसद सिंहले बताए । सिंहका अनुसार मृतक महेन्द्र रामकी श्रीमती समेत प्रहरीले प्रहार गरेको लाठीले लागेर घाईते भएकी छिन ।
घाईते सुरक्षाकर्मी र प्रदर्शनकारीको जिल्ला अस्पताल लगायत मलङ्गवाका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन ३० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा जिल्ला प्रहरी प्रमुख राठौरको निवासका झ्यालको सिसा र प्रहरीको एउटा गाडीको सिसा फुटेका छन् ।
प्रहरी उपरीक्षक राठौरले शान्तिपूर्ण प्रदर्शन गर्ने पूर्व सहमति भएपनि जिल्ला प्रहरी कार्यालयमा आएको मासले अचानक ढुङ्गामुढा गरेको बताए । ‘शान्तिपूर्ण प्रदर्शन गर्ने कुरा थियो, तर सयौँ मानिस आएर अचानक ढुङ्गामुढा गर्न थाले, प्रहरी उपरीक्षक राठौरले भने, थप क्षति हुन नदिन अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी प्रहार गरेका हौँ ।’
प्रदर्शनकारीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकाले माहोल बिग्रिएको बताएका छन् । प्रदर्शनको नेतृत्व गरेका सांसद सिंहले राजनीतिक दबाबमा परेर पीडितको जाहेरी लिन अस्वीकार गरिरहेको प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक रुपमा बल प्रयोग गरेको दावी गरे ।
‘दुई÷चार जना भित्र गएर जाहेरी दिने र अरु बाहिर बसेर धर्ना दिने कार्यक्रम थियो, तर प्रहरीले बीचमै अनावश्यक बल प्रयोग ग¥र्यो, सांसद सिंहले भने ,मृतककी श्रीमतीमाथि समेत लाठी प्रहार हुनु दुःखको कुरा हो ।’
मृतक महेन्द्र रामको परिवारले दोषीहरु किटान गरी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरिरहेको सांसद सिंहको भनाई छ । उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएका महेन्द्रको शव एक सातादेखि वीरगञ्जमै रहेको छ ।
प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउँदै आएको छ । घटनामा संलग्न नै नरहेका व्यक्तिहरु विरुद्ध जाहेरी लिएर आएकाले स्वीकार नगरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८