आश्विन–२८, २०७७
चितवन । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगंलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् ।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए ।
विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने बताए । तर सरकारबाट अहिले सम्म कुनै निर्णय आइनसकेको उनले बताए । तरपनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए ।
कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।
अन्य क्षेत्रलाई खुला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन । तर अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुला गर्ने तयारीमा जुटेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८