आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए । संसदीय दलको नेताबाट नै हटाउने उनीहरुको तयारी छ ।
केन्द्रदेखि प्रदेशमा एकछत्र शासन गरिरहेको नेकपामा यो तहको विद्रोह होला भनेर अनुमान समेत कुनै नेता कार्यकर्ताले गरेका थिएनन् । किनभने, केन्द्रमा दुई अध्यक्षले पार्टी विभाजनको डिलबाट जोगाएर सहमतिउन्मुख गतिविधिको छनक दिइरहेका थिए ।
वास्तवमा कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको विद्रोह भनेको केन्द्रमा पूर्वमाओवादी खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको विद्रोह हो । किनभने, नेकपा नेतृत्वमा रहेका ६ वटा प्रदेश सरकारमध्ये कर्णाली सुदूरपश्चिममा पूर्वमाओवादीका मुख्यमन्त्री छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र केन्द्रका उद्योगमन्त्री लेखराज भट्टले प्रचण्डको साथ छाडिसकेका छन् । शाही प्रचण्डका विश्वासपात्र हुन् भने बाँकी सबै मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीका ।
उता कर्णालीमा प्रचण्डपक्षीय नेता शाहीविरुद्ध विद्रोहको नेतृत्व ओलीपक्षी नेता यमलाल कँडेलले गरेका छन् । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेमा १३ जना पूर्वएमालेका सांसद रहेका छन् भने ५ जना पूर्वमाओवादीका छन् ।
कर्णालीमा यस्तो समयमा पार्टीभित्रै विद्रोह भएको छ, जतिखेर केन्द्रमा प्रचण्डले ओलीलाई केन्द्रको मन्त्रिपरिषद हेरफेरदेखि प्रदेशका मुख्यमन्त्री परिवर्तनसम्मका लागि दबाब दिइरहेका छन् । स्थायी समिति र सचिवालय बैठकको आदेश यसको पृष्ठभूमिमा छ ।
यस्तो बेलामा ओलीले प्रचण्डलाई कर्णालीबाट झापड हानेका छन् । यसको अर्थ हो– अब ओली पक्षका नेताहरुको जिम्मेवारी हेरफेर हुने छैन । यदि यसो गरिएमा प्रचण्डलाई पार्टीभित्रैबाट पाखा लगाइनेछ र थप शक्तिहीन बनाइनेछ ।
यसअघि प्रचण्डले ओलीको शक्ति कमजोर पार्न केन्द्रमा माधव नेपाल, झलनाथ खनालदेखि वामदेव गौतमसम्मको सहयोग लिएका थिए । ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा र युवराज खतिवडालाई मन्त्रिपरिषदबाट हटाउन सफल भएका थिए ।
झण्डझण्डै बहुमतको बलमा ओलीलाई नै सत्ताच्यूत गर्न खोजेका थिए । ओली मात्र होइन, राष्ट्रपतिदेखि मुख्यमन्त्रीहरु समेत फाल्ने योजना बाहिर आएको थियो । त्यहाँबाट बिच्किएका ओलीले प्रचण्डलाई कमजोर बनाउने प्रतिरोधी योजना अघि सारेको देखिन्छ ।
पूर्वमाओवादी आधार इलाका क्षेत्रबाटै प्रचण्डपक्षीय नेतामाथि ओली पक्षीय नेताको नेतृत्वमा भएको यो दबाब र प्रहारको धेरै ठूलो राजनीतिक अर्थ छ । ओली पक्षीय नेताको अगुवाइमा केही पूर्वमाओवादी मिसिनुले प्रचण्डमाथि थप खतराको घण्टी बजेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८