• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

तरकारी– कृषकको बारीमा किलोको ३०, भान्सामा आइपुग्दा १३०

  • खवरदाता

तरकारी– कृषकको बारीमा किलोको ३०, भान्सामा आइपुग्दा १३०

आश्विन–२५, २०७७

बागलुङ । जिल्लाका बजारमा गोलभेडाको मूल्य १३० रुपैयाँसम्म छ । उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन ।

उपभोक्ताले यति धेरै तिर्ने भएपछि किसानले पनि राम्रो मूल्य पाएका होलान् भन्ने लाग्छ तर किसानले आधा मूल्य पनि पाएका छैनन् । सदरमुकाम आसपासका केही किसानले मात्र आधा मूल्य पाएका छन् । ग्रामीण किसानले मूल्य नपाएर कुहाएर फालेका छन् । कतिले खाडल खनेरसमेत फाल्नुपरेको गुनासो गर्छन् ।

मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले किसानले उचित मूल्य नपाएको बताए । ‘हामी बजार छेउमा भएकाले मूल्यको अवस्था बुझेर बेच्छौँ, त्यसैले राम्रो मूल्य पाएका छौँ, गाउँका किसानले भने लगानी उठाउन सकेका छैनन’, उनले भने, ‘होटल, विद्यालय र कलेज संचालन नहुनुले किसानको उत्पादन खेर गइरहेको छ ।’ लकडाउन खुला भनिए पनि अझै विद्यालय, क्याम्पस, होस्टेल, विभिन्न सार्वजनिक स्थल संचालनमा छैनन् ।

होटल नचल्दा तरकारी बिकाउन नसकेको काठेखोला १ की सीता थापाले बताइन् । ‘पहिलापहिला तरकारी खुब बेचिन्थ्यो, यस पटक बजारमा गएको छैन’, थापाले भनिन्, ‘आफूले नियमित पठाउन नसकेको, बजारका पसलेले माग्न छाडेकाले तरकारी आधा उत्पादन घटाएकी छु ।’ किसानको समस्या हेरिदिने कार्यालयसमेत नभएको उनले टिप्पणी गरिन् ।

अहिले बजारमा आलुको मूल्यले समेत आकाश छोएको छ । प्रतिकिलो ८५ रुपैयाँसम्म बिक्री भएको अहिलेसम्म थाहा नपाएको बागलुङ २ की दुर्गा हमालले बताइन् । ‘आलु, बोडी, प्याज जस्ता तरकारीको मूल्य सुन्दा तरकारी नै नखाऔँ जस्तो हुन्छ’, हमालले भनिन्, ‘मूल्य बढ्नै पर्ने समय होइन ।’

लकडाउन र कोरोना संक्रमणको कारण देखाएर गाउँमा फल्ने तरकारीको मूल्य दोब्बर भएकामा उनले आश्चर्य व्यक्त गरिन् । बजारमा बोडी पनि प्रतिकिलो १२० रुपैयाँसम्ममा बिक्री भएको छ । प्याज त भारतबाट आयात नभएको भन्दै बजारमा थोरै मात्र देखिन्छ । बेचेकाहरूले पनि महँगोमा बेच्छन् ।

बजारको मूल्य देखेर व्यावसायिक तरकारी खेती गरेका किसान दंग पर्छन् । लाखौँ रुपैयाँ लगानी गरेर पाँच रोपनीमा तरकारी खेती गरेका ढोरपाटन नगरपालिका ५ का सोमबहादुर पुनले किसानको बारीमा तरकारी बिक्री नभएको गुनासो गरे । ‘हाम्रा बारीमा गोलभेडासहितका तरकारी कुहिएका छन्, बजारमा छोइनसक्नु मूल्य छ’, उनले भने, ‘व्यापारीले महँगोमा बेच्न गाउँका किसानको तरकारी किन्दैनन् ।’

प्लास्टिक घरमा लगाएको तरकारीमध्ये आधा जसो गोलभेडा र अन्य तरकारी बिक्री नभएर कुहिएर खेर गएको उनले गुनासो गरे । पुनले बारीबाट ४० रुपैयाँ प्रतिकिलो गोलभेडा बेचेको बताए । डोको लिएर फार्ममा आउनेलाई उनले ३० रुपैयाँमा पनि दिएका छन् ।

बुर्तिवाङ बजारका पसलमा गोलभेडाको मूल्य १३० रुपैयाँ छ । डोकोमा ल्याएका किसानको तरकारी पसलेहरू सस्तोमा खोज्छन् । ‘हामीले उत्पादन गरेका गोलभेडा ताजा हुन्छन् तर व्यपारीले सस्तो खोज्छन’, पुनले भने, ‘लागतभन्दा घटेर दिन सकिँदैन, बिचौलियाले हेर्दाहेर्दै किलोको ८० रुपैयाँ खान्छन् ।’ होलसेल पसलेहरू नै बिचौलिया बन्ने गरेको उनले गुनासो गरे ।

लकडाउन र संक्रमणको फाइदा उठाएर बिचौलियाले महँगो मूल्य लिने गरेको थापाको गुनासो छ । ‘अभाव छ, जति भने पनि किन्छन् भन्नेहरू धेरै छन’, थापाले भने, ‘किसान र उपभोक्ता नमर्ने गरी नियमन आवश्यक छ ।’

लामो समयदेखि बजारमा तरकारीको मूल्य तथा अत्यावश्यक खाद्यवस्तुको गुणस्तरबारे अनुगमनसमेत नभएको उपभोक्ताको गुनासो छ । बजार क्षेत्रमा अत्यावश्यक वस्तुको गुणस्तर, मूल्य जस्ता विषयमा नगरपालिकाले अनुगमन गर्ने र कारबाही गर्नुपर्छ । चाडपर्वको मुखमा छिटफुट अनुगमनबाहेक नियमित नभएको समेत उपभोक्ताले बताए ।

  • प्रकाशित मिति : असोज २५, २०७७, आइतवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८