आश्विन–२५,२०७७
चितवन । चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुर ६ निवासी ८५ वर्षीया महिलाको शनिवार अपरान्ह ४ः५३ बजे मृत्यु भएको हो । असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
त्यस्तै सोही अस्पतालमा उपचार गराइरहेका सर्लाही १० का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको शनिवार साँझ ५ः३३ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ८ गते सडक दुर्घटनामा घाइते भएपछि उनी चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको मेजर अप्रेशन समेत गरिएको अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
उता भरतपुर अस्पतालमा पनि एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भई कोभिड आइसीयुमा उपचार गराइरहेका भरपतुर १ वस्ने ४७ वर्षीय पुरुषको शनिवार बेलुका ६ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा सारिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८