• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

संक्रमण समुदायमा फैलिएको बारे अध्ययन गर्न टोलि खटाइयो, आइतबारदेखि काम शुरु हुने

  • खवरदाता

संक्रमण समुदायमा फैलिएको बारे अध्ययन गर्न टोलि खटाइयो, आइतबारदेखि काम शुरु हुने

आश्विन–२३, २०७७

चितवन । कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुरु गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञ सहितको प्राविधिक टोली शुक्रवार देखि सातवटै प्रदेशमा खटाएको छ ।

अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने छ ।

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीम पश्चात आइतबारबाट रगतको नमूना संकलन गर्नेछ । नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।

गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

‘नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टरं)मा संक्रमण फैलिएको छ,’ उनले भने, ‘अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।’ गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो ।

अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना संक्रमणबाट निको भएको, ५९० जनाको निधन र २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।

यस्तै संक्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ ।

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दशैँ अगाडि सबै नमूना संकलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८