• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलको कडा आदेश !


राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलको कडा आदेश !

आश्विन–२२, २०७७

रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अवधिभित्र घर नछोडे बलपूर्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिएका हुन । यही असोज २६ गते पत्र बुझाएको एक्काइस दिन पूरा हुँदैछ र, त्यसपछि प्रहरी लगाएर राजकुमारी प्रेरणालाई घरबाट निकाल्ने तयारी गर्न पोखरेलले आफ्ना कर्मचारीलाई निर्देशन गरिसकेका छन् ।

आफ्ना पिता तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट दाइजोमा प्राप्त हुन आएको छाउनीस्थित घर (विजया बास) मा प्रेरणा आफ्ना पतिका साथ विगत दुई दशकदेखि बस्दै आएकी छिन । नेपाल सरकारले विजयाबास समेतलाई सरकारीकरण गर्ने निणय लिएपछि प्रेरणाले आफू नयाँ घर बनाएर सर्ने निर्णय लिएकी थिईन र, घर निर्माणको चरणमै छ । कोरोनाका कारण ‘लक्डडाउन’ शुरु भएपछि निर्माण कार्य रोकिएको र त्यसपश्चात उनले घरको निर्माण कार्य सम्पन्न हुनेवित्तिकै आफूले विजया बास छोड्ने जानकारी गराउँदै बढीमा एक वर्ष उक्त घरमा बसोबास गरी पाउन नेपाल ट्रष्टमा मागसहित निवेदन दिएकी थिईन । निवेदनमा प्रेरणाले कोभिड–१९ का कारण निर्माणमा ब्यवधान पैदा भएकोले आगामी एक वर्षसम्म आफ्नो उक्त घरमा बसोबास गर्न दिइनुपर्ने माग गरेकी छिन । तर रक्षामन्त्री ईश्वर पोखरेल राजकुमारी प्रेरणाको निवेदनप्रति सकारात्मक भएनन् ।

‘लक्डडाउन’को यो अवस्थामा घरभाडामा बस्नेहरूलाई यथावत रहन दिनुपर्ने र बलजफ्ती कसैले घरबाट निकाल्न खोजे त्यस्तो घरधनीलाई कडा कानूनी कारबाही गर्ने भनी सरकारले निर्णय गरेको छ । यस अवधिमा भाडा नबुझाएको भन्दै घरबाट निकाल्ने कैयन घरधनीहरूलाई सरकारले कारबाही पनि गरिरहेको छ । तर ईश्वर पोखरेलले भने दुई दशकदेखि बसोबास गर्दै आएको घरबाट राजकुमारीलाई निकाल्न कडा आदेश दिनु आश्चर्यको विषय भएको छ । नेपाल ट्रस्टको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेरणालाई बढीमा एक वर्षसम्म विजयाबासमै रहन सक्ने व्यवस्था गरिदिन परामर्श गरेका थिए तर, ईश्वर पोखरेलले प्रधानमन्त्रीको सल्लाहलाई पनि ठाडै इन्कार गरे र, एक्काइस दिनभित्र घर छोड्न पत्र पठाउँदै नछोडे बलपूर्वक निकाल्न आदेश दिए । नेपालीहरूको महान पर्व दशैँको मुखमा राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलले केसम्म गर्नुहुने हो जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।

छाउनीस्थित उक्त घरजग्गा राजा त्रिभुवनले आफ्नी अविवाहिता छोरी विजया राज्यलक्ष्मी शाहलाई किनिदिएका थिए । बहुचर्चित गायक योगेश्वर अमात्यका बाबुसँग खरिद गरिएको उक्त घर राजा वीरेन्द्रको कमाइको सम्पत्ति नभई राजपरिवारको निजी सम्पत्तिका रूपमा थियो । विजया राज्यलक्ष्मीको निधन भएपछि तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्रको नाममा उक्त घरजग्गा राखिएको भए पनि सो घरजग्गा वीरेन्द्रको अङ्श नभई अङ्शियारहरूको थियो र नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय सरकारले गरेको भए पनि अङ्श लाग्ने सम्पत्ति नेपाल ट्रस्टको मातहतमा नजाने स्पष्ट थियो । यो मुद्दा अदालतमा पुगेपछि एक पटक सर्वोच्च अदालतले प्रेरणाकै हक कायम हुने निर्णय दिएको पनि हो ।

तर पछि पहिले नेपाली कांग्रेसका नेता र पछि माओवादीनिकट बनेका दुर्गा सुवेदीकी पत्नी सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेलगत्तै उनले न्यायालयको पूर्वनिर्णय उल्टाएर प्रेरणाको घरजग्गा नेपाल ट्रस्टको स्वामित्वमा जाने निर्णय सुनाइदिएकी थिइन् । कार्कीको आदेशमाथि पूनरावलोकनका निम्ति दिइएको निवेदनमाथि पनि सुनुवाइ नभएपछि प्रेरणा घर छोड्ने निर्णयमा पुग्न बाध्य भउकी हुन । घर निर्माण सम्पन्न भएलगत्तै छोड्ने प्रतिबद्धता जाहेर हुँदा पनि ईश्वर पोखरेलले राजकुमारीप्रति असहिष्णु व्यवहार दर्शाउँदै किन वैरभाव देखाउनुपरेको हो, आश्चर्यजनक मानिएको छ ।– घट्ना र विचार

  • प्रकाशित मिति : असोज २२, २०७७, बिहीवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८