• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

जनप्रतिनिधिले मृत्यु संस्कार गर्नपनि पिसिआर रिपोर्ट मागेपछि……..

  • खवरदाता

जनप्रतिनिधिले मृत्यु संस्कार गर्नपनि पिसिआर रिपोर्ट मागेपछि……..

आश्विन–२१, २०७७

इटहरी । स्थानिय जनप्रतिनीधीहरुले वराहक्षेत्र ३ भरौलमा दाह संस्कार गर्न रोक लगाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसबाट मृत्यु भएका लालबहादुर माझीको मृत्यु संस्कार गर्न रोक लगाएका हुन ।

उक्त क्षेत्रको स्थानिय नभएको भन्दै वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल र वडाध्यक्ष रुद्रबहादुर दाहालले मृत्यु संस्कार गर्न नदिएको मृतकका छोरा दुर्गाप्रसाद माझीले बताएका छन् । प्रमुख खनालले मृत्यु संस्कार पश्चात वराहक्षेत्र नगरपालिकाभित्र यदि कसैलाई कोरोना पोजेटिभ देखिएमा त्यसको जिम्मा कोरोना भई मृत्यु भएका आफन्तले लिने लिखित प्रतिबद्धता जनाएपछि मात्र मृत्यु संस्कार गर्न दिने बताएका छन् । उक्त कुराले मृत्यु संस्कार गर्न समस्या भएको माझीले बताए ।

मिर्गाैलाको नियमित डाइलाइसिस गराइरहेका माझीको सोमबार प्रतिष्ठानमा मृत्यु भएको थियो । नगरपालिकाले नै उनको शव व्यवस्थापन गरेपछि मङ्गलबार मृतकका आफन्त मृत्यु संस्कारका लागि भरौल गएका थिए । आफ्नो धार्मिक संस्कारअनुसार कुसको शव बनाएर बाङ्गेस्थित चतरा नहरमा अन्तिम संस्कारमा पुगेका आफन्तलाई वराहक्षेत्र नगरपालिकाका प्रमुख खनालको निर्देशनमा प्रहरीले रोकेको थियो । प्रमुख खनालले धरानबाट पीसीआर रिपोर्ट लिएर आएपछि मात्रै संस्कार गर्न बस्नू भनेर रोकेको मृतकका छोरा दुर्गाप्रसाद माझीले बताए । उनले गुनासो गरे, ‘हामी घरभित्रै क्वारेण्टिनमै बसेर संस्कार गर्छौं । बाहिर निस्कँदैनौं भन्दा पनि नगर प्रमुख र वडाध्यक्षले मानेनन् ।’

वराहक्षेत्रका नगरप्रमुख खनालले वराहक्षेत्रबाट बसाइ सरेर गइसकेको र स्थायी बासिन्दा नभएकाले रोकेको बताए । उनले भने, ‘उनी नगरका स्थायीवासी र मतदाता नभएकोले धरानमै गएर मृत्यु संस्कार गर्नू भनेको हुँ ।’ मृतकका आफन्तले भने आफ्नो जग्गा त्यहीँ भएको र आफन्त सबै सो ठाउँमा भएकोले मृत्यु संस्कार गर्न त्यहाँ गएको बताएका छन् ।

वडाध्यक्ष रुद्रबहादुर दाहालले पीसीआर रिपोर्ट ल्याएर काम गर्नू भनेको बताए । उनले भने, ‘हामी मृत्यु संस्कार नगर्नू भनेर भन्न सक्दैनौं र भनेको पनि होइन । पीसीआर रिपोर्ट आएपछि गर्नू भनेका हौं ।’

सरकारले कोरोना सङ्क्रमण भएका मानिसको सम्पर्कमा भए पनि लक्षण नदेखिएकालाई पीसीआर चेक गर्नु पर्दैन भनेको छ । पीसीआर चेक गर्दा पनि रिपोर्ट आउन २–३ दिनसम्म लाग्छ । यस्तो अवस्थामा रिपोर्ट ल्याएर मात्र संस्कार गर्नू भन्ने जनप्रतिनिधिको भनाइले समस्या उत्पन्न भएको मृतक माझीका आफन्तको गुनासो छ ।

नगर प्रमुख र वडाध्यक्षले अनुमति नदिए पनि स्थानीयवासीले भने मृत्यु संस्कार गर्न पाउने भन्दै सहयोग गरेपछि आफूहरूले संस्कार गरेको माझीका छोरा दुर्गाप्रसादले फोन सम्पर्कमा बताए । उनले भने, ‘हाम्रो जग्गा–जमीन यहीँ भएको र सबै आफन्त पनि रहेकोले यहीँ आफ्नो संस्कार गर्न जनप्रतिनिधिले रोके पनि यहाँको समाजले सहयोग गरेको छ ।’

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८