आश्विन–११, २०७७
काठमाडौँ । नेपालको अर्थतन्त्र दिनानुदिन खस्कँदै गएको छ । जसले गर्दा सरकारलाई दैनिक प्रशासनिक खर्च जुटाउन पनि कठिन परिरहेको छ । अब देश आन्तरिक ऋणमा निर्भर हुनपर्ने बेला आएको छ । अर्को, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण सर्वसाधारण जनताले गुजारा चलाउन कठिन पर्दै गएको छ ।
यही अवस्थामा बैंकहरूले भने जनता वा संस्थाहरूले जम्मा गर्ने रकम लिन आनाकानी गर्ने वा टार्ने प्रयास गर्न थालेका छन् । नेपालका प्रायः बैंकहरूमा तरलता अर्थात् जनताले जम्मा गरेको रकम कम हुने गरेकोमा अहिले बैंकमा त्यस्तो रकम पर्याप्त रहेकाले थप रकम लिन नमानेका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ अन्त्यसम्म बैंंकहरूमा २ खर्बभन्दा बढी तरलता छ । बैंकहरूमा जम्मा भएको रकम लगानीका लागि कसैले पनि नलगेपछि यस्तो अवस्था आएको हो ।
अहिले कोरोना कहरका कारण उद्योगी व्यवसायीहहरू बैंकबाट ऋण लिएर लगानी गर्न हच्कनु र नयाँ लगानी गर्न चाहनेहरू पनि ऋण लिएर उद्योग व्यवसाय खोल्न डराएपछि बैंकमा ठूलो रकम त्यत्तिकै थन्किन पुगेको छ ।
बैंकले जम्मा भएको रकम ऋण लगानी गर्न नसक्दा आम्दानी नहुने र जनताले जम्मा गरेको पैसाको व्याज दिन नसक्ने अवस्था आउनु भनेको अर्थतन्त्रमा निकट भविष्यमा शंकट आउने संकेत हो । हुन त राष्ट्र बैंकले राष्ट्रको अर्थतन्त्र तत्कालका लागि खत्तम नरहेको बताएको छ । केही तथ्यांकले त्यस्तो देखाए पनि वास्तवमा अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न थालेको देखिएको छ । राष्ट्र बैंकले कोरोना बढेर लकडाउन भएयता विदेश जाने युवाको संख्या घटे पनि र विदेशमा काम गुमाएर आउनेको संख्या बढे पनि साउनमा रेमिट्यान्स बढेको तथ्यांक देखाएको छ ।
अर्को, व्यापार घाटा पनि कम भएको देखाएको छ । यस्तो तथ्यांक देखिनुको कारण लकडाउनयता विदेशबाट काम गुमाएर ७८ हजारभन्दा धेरै युवाहरू नेपाल आएका छन् । उनीहरूले कोरोनाको महामारी सुरु हुनुभन्दा अघि विदेशमा राम्रै काम गर्थे, उनीहरू घर आउँदा आफ्नो कमाइ एकै पटक आफूसँगै लिएर आए । एकै पटक ठूलो संख्याका युवा नेपाल भित्रँदा रेमिट्यान्स थुप्रिएको हो ।
राष्ट्र बैंकले व्यापार घाटा घटेको देखाएको छ । यो पनि उही सुन्निएर मोटाएजस्तै हो । चैतदेखि जब देश लकडाउनमा गयो त्यसयता ठूलो मात्रामा आयात घटेको छ ।
निर्यात अति सामान्य र थोरै भएकाले त्यो भने घटेको छैन । पेट्रोलियम पदार्थ, निर्माण सामग्रीहरू, कपडा, सौन्दर्यका सामग्री तथा टेलिभिजन तथा भान्सामा प्रयोग हुने विलाशिताका सामग्रीको आयात ह्वात्तै घटेको छ । जसले गर्दा व्यापार घाटा कम देखिएको हो । निर्यात बढेर वा आन्तरिक खपतका लागि देशभित्र उत्पादन बढेर व्यापार घाटा कम भएको होइन । यो अवस्था आउनु भनेको अर्थतन्त्र सिथिल भएको लक्षण हो ।
बैंक सञ्चालकहरूले जनता वा संस्थागत निक्षेप लिन्नौं भन्न त मिल्दैन बरु व्याज शून्य हुनसक्छ तर अधिक तरलता भएका बैंकहरूले कम तरलता भएका बैंकमा पठाएको हुनसक्छ भन्ने प्रतिक्रिया दिएका छन् । केही समययता सरकारले आन्तरिक ऋण उठाउन थालेको र राष्ट्र बैंकले पनि बजारबाट पैसा उठाइरहेकाले तरलताको चापमा कमी आउनसक्ने देखिएको छ ।
यस्तो अवस्था तरलताको समस्या तत्कालका लागि सुधार भए पनि अर्थतन्त्रमा सुधार नआएसम्म समस्याको समाधान हुन कठिन छ । अब दसैं–तिहार नजिक आएकाले सरकारले कर्मचारीलाई तलव र दसैं पेश्की दिने हुँदा निक्षेप बढ्न सक्छ ।
कोरोना महामारीको प्रकोप कम नभएर यस्तै अवस्था रहे त्यसपछि न निक्षेप जम्मा हुने न लगानी गर्न सक्ने अवस्था आउने देखिएको छ । अर्थतन्त्र यस्तो जटिल मोडमा पुग्दैछ, प्रधानमन्त्रीले भने सक्षम अर्थमन्त्री नियुक्ति गर्नतिर चासो दिएका छैनन् । देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्दा राष्ट्र बैक र सरकार गम्भीर हुनु आवश्यक छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८