• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अर्को छलाङको तयारीमा ‘सुमी’

  • संबाददाता

अर्को छलाङको तयारीमा ‘सुमी’

सङ्गितलाई अङ्क गणितीय आधारमा मात्र हेरिन्थ्यो भने सुमी सिंह त्यत्ति धेरै लिइने नाम नहुन सक्थ्यो । तर, एउटै एल्बम “सुमी” मा नेपालका नाम चलेका कलाकारको स्वर आबद्ध मात्र भएन । ७० को दशकको सुरुवातमै नेपाली सङ्गीतमा एउटा उचाइ दिलाउन काफी भयो । ०७१ मा सार्वजनिक भएको एल्बम नेपालका ६ स्टारको स्वरले लयबद्ध थियो ।

रिमा गुरुङ, अन्जु पन्त, शिव परियार, सत्यराज आचार्य, थुप्देन भुटिया र जिना रसाइलीको स्वर भएको एल्बम पछि उनी लामो समय सुस्ताइन् । साँचो भन्नु पर्दा अर्को एल्बम निस्केन । जब निस्कने जमर्को गर्दै थिइन् समय फेरिएको छ । हामी सबै नेपाली जीवन बाच्न ध्याउन्नमा रहेका छौ र त्यस्तै छिन्, सुमी पनि । यो बिचको खाली समयको बारे उनको कथन रह्यो, “ स्तरीय फुराइका लागि धेरै समय हुन सक्छ । ” गीतकार आफैले एल्बम निकाल्नका लागि पर्ने आर्थिक कठिनाइ पनि आफ्नो ठाउँमा छदैछ ।

इलामको शान्तिपुर एकदमै रमणीय ठाउँ । त्यसै रमणीय ठाउँमा बाबु टेक बहादुर खाती र र आमा शान्ति खातीकी जेठी सन्तानको रूपमा जन्मिएकी सुमी बाल्यकाल देखि नै सृजनात्मक थिइन् । स्कुले जीवनमा रहँदा पनि के के लेखि रहने । गीत गाई रहने । हो, त्यही बाल्यकाल देखिको झुकावलाई पछिल्लो समय एल्बमकै रूपमा उतारेकी हुन् ।

०७१ मा बजारमा आएको यो एल्बमका हरेक गीत उत्ति नै प्रिय रहे । हरेक शब्द उत्तिकै गहकिला,सङ्गीत राम्रा र नाम चलेका कलाकारको स्वर । अन्जु पन्तले गाएको “पर्खिएकी कतै तिमीलाई सम्झी सम्झी लजाउँछु, थाहै नपाई सप्तरङ्गी सपनाहरू सजाउँछु ” बोलको गीत गीतकार संघबाट वर्षको उत्कृष्ट १० गीतको रूपमा मनोनयनमा परेको थियो ।

शिव परियारले गाएको “सम्झनाको तरेलीमा राखी नदेऊ मलाई,”बोलको गीत इमेज अवार्डको पुरुष भोकलमा उत्कृष्ट पाँचमा परेको थियो । सत्यराजले गाएको “लाखौँ पटक म मरे पनि जिउन सकूँ तिम्रै लागि ” बोलको गीत म्युजिक खबरको अवार्डको पुरुष भोकलको शीर्ष ५ मा परेको थियो । अनि सोही अवार्डमा रिमाले गाएको “फोरेर मुटु के देखाऊ तिमीलाई पिडाले दुखेको ” उत्कृष्ट आधुनिक महिला भोकलमा उत्कृष्ट पाँचमा परेको थियो । उनको एल्बम पनि म्युजिक खबरबाट वर्षको उत्कृष्ट पाँच एल्बममा समावेश भएको थियो ।

सन्तोष रजौरेको सङ्गीतमा मनोज राज सिवाकोटीले गाएको “नजिक थियौ नभेट्दा नि लाग्छ सँगै थियौ ”बोलको गीत रेकर्ड भइसके पनि सार्वजनिक हुन बाँकी रहेको छ । दीपक जङ्गमको सङ्गीतमा “आज बस समीप भई कथाहरू सुनाउनु छ, शिर राखी तिम्रो काखमा पिरहरू भुलाउनु छ ”बोलको गीत बानीका प्रधानले गाउने तयारी भएको छ । हालको अस्वाभाविक परिस्थितिले रोकिएका काम केही समयमै सुरु हुने अपेक्षा उनको छ । विगतमा झैँ सुमीको गीतले फेरी एक पटक बजारमा चर्चा पाउने पनि त्यत्तिकै आशा गर्न सकिन्छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ०३:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८