• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

गुर्जोप्रति बढ्दो मोहः उबेला गोरुलाई, अहिले मान्छेलाई

  • चितवन

गुर्जोप्रति बढ्दो मोहः उबेला गोरुलाई, अहिले मान्छेलाई

भाद्र–१५,२०७७

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानले कोरोना सङ्क्रमण बढ्दै गएपछि मानिसहरूले गुर्जोको लहराको चर्चा गरेको सुन्नुभयो । जङ्गलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उहाँका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ ।

मकवानपुरको पहाडी भेगका अधिकांश जङ्गलहरूमा गुर्जोको लहरा छ्यापछ्याप्ती पाइन्छ । कोरोना सङ्क्रमणमा परेका व्यक्तिलाई रोग प्रतिरोधी क्षमता बढाउनका लागि विभिन्न तरिकाले खुवाउन थालेपछि गुर्जोले अधिक चर्चा पाउन थालेको छ । तर, बाटाघाटो र खोला छेउका डिलहरूमा अपहेलित भएर बसेको गुर्जोबारे यसअघि कुनै सोधीखोजी थिएन ।

“रोग प्रतिरोधी क्षमता अत्यधिक पाइने गुर्जो बाथरोग, हड्डीसम्बन्धी रोग, युरिक एसिडलगायतलाई काम गर्ने गज्जबको आयुर्वेदिक औषधीयुक्त वनस्पति हो”, त्रिभूवन विश्व विद्यालय वन विज्ञान अध्ययन क्याम्पस हेटौँडाका उपप्राध्यापक एवम् जडिबुटी विशेषज्ञ दामोदर गैरेले भन्नुभयो । उहाँका अनुसार नेपालमा दुई थरिका गुर्जो पाइन्छन् । लहरामा काँडा भएका गुर्जो तराई भेगमा र काँडामा थोप्ला थोप्ला भएको गुर्जो पहाडी भेगतिर पाइन्छ । यीमध्ये काँडा भएका गुर्जो अझ बढी प्रभावकारी हुने भएकाले महँगोसमेत हुने गरेको गैरे बताउनुहुन्छ ।

समुद्री सतहको १५०० मिटर उचाईमा पाइने गुर्जोको चर्चा कोरोनापछि सुरु भएपनि आयुर्वेदिक हिसाबले निकै पहिले प्रचलनमा आएको उहाँले बताउनुभयो । “एन्टी अक्सिडेन्ट तत्व पाइने गुर्जो केमिकल्ली टेस्टेड वनष्पतिको रुपमा प्रमाणित छ”, जडिबुटी विशेषज्ञ गैरेले भन्नुभयो, “नेपालमा यसको बजार विस्तार हुन नसकेपनि उचित मूल्यमा बिक्री हुने वनष्पतिमा पर्दछ ।” जरा, पात र डाँठ औषधिको रुपमा खान मिल्ने गुर्जो चियाको रुपमा पनि खान सकिन्छ । प्रतिव्यक्ति प्रतिदिन तीन ग्रामका दरले नियमित रुपमा गुर्जो सेवन गर्दा मानिस निरोगी हुने गैरेको भनाइ छ ।

मकवानपुरका अधिकांश सामुदायिक वन क्षेत्रमा गुर्जोका लहरा भेटिने गरेको भएपनि त्यसलाई औषधीय गुणयुक्त वनष्पतिको रुपमा व्याख्या गरी संरक्षण र प्रवर्द्धन गरिएको पाइँदैन । रुखका हाँगाहरूमा लहराका रुपमा रहने गुर्जोका कारण रुखको वृद्धि विकासमा अवरोध पुर्याउने डरले काटेर फाल्नेसमेत गरिएको छ । “जङ्गलतिर जताततै गुर्जो भेटिन्छ, तर हामीले यसलाई संरक्षण गर्दै व्यावसायिकतासँग जोड्न सकेनौँ”, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले आगामी दिनमा गुर्जोको प्रवर्द्धन र वनसँग समृद्धि जोड्ने विषयमा आफूले सशक्त आवाज उठाउने बताउनुहुन्छ । चौलागाईं आफैँ पनि कोरोना सङ्क्रमणमा परी निको भएका व्यक्ति हुनुहुन्छ । हेटौँडास्थित अञ्चल आयुर्वेद कार्यालयका आयुर्वेद निरीक्षक वैकुण्ठ आचार्यले अघिल्लो आर्थिक वर्षमा प्राप्त बजेटबाट कोरोना सङ्क्रमित राखिएको आइसोलेसनमा गुर्जोको चूर्णसहितका औषधीहरू खरिद गरी वितरण गरिएको बताउनुभयो । अहिले बजारमा गुर्जोको चूर्ण प्रति १५० ग्रामको १५ सय रुपियाँसम्म पर्ने गरेको पाइएको छ ।

“उबेला बुवाले गोरु बलियो बनाउन खुवाउनुभएको जङ्गली लहराले मानव जीवनमा पनि यति ठूलो योगदान गर्न सकेको रहेछ”, कैलाश गाउँपालिका अध्यक्ष मुक्तान भन्नुहुन्छ, “व्यावसायिक खेती गरेर आर्थिक समृद्धिसँग जोड्नुपर्ने गुर्जोको अवहेलना भइरहेको रहेछ ।” (गोप)

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८