काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने उनको भनाइ छ ।
असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उनको भनाइ छ । महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ ।
महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनर्स्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको थापाको भनाइ छ । महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुनर्स्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने उनले बताए ।
यस्तो छ थापाको भनाइ :
असोज ४ गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र १६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं र समयमा महाधिवेशन सम्पन्न गर्छौं । महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ । ७७ जिल्ला पुग्छौँ, देशभरि जान्छौँ, गाउँगाउँ जान्छौँ ।
सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ । कोही साथीलाई महाधिवेशनबाट भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ । महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा जसले जिम्मेवारी पाउनुहुन्छ त्यो साथी नेतृत्वमा रहनुहुन्छ । जिम्मेवारीमा पार्टीभित्रको प्रतिस्पर्धा भएकोले प्रतिस्पर्धा गर्ने तर जिम्मेवारी नआउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाएर त्यसपछि नागरिकहरूसँग जुन हाम्रो विश्वास टुटेको छ । अधिवेशनले त अहिले त पार्टीभित्रको कुरा मात्रै मिलाउँछ । नागरिकसँगको विश्वासलाई पुनर्स्थापित गर्नुपर्नेछ, त्यो पुनर्स्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ । दशैँको लगत्तै पछाडि यो महाधिवेशनको लगत्तै पछाडि चाडबाड छ, दशैँको लगत्तै पछाडिबाट हाम्रो देशभरिको यात्रा सुरु हुन्छ । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८