काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिएका हुन्। जेन–जी आन्दोलन नेपालको इतिहास भएको उल्लेख गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए।
उनले पुराना राजनीतिक शक्तिहरूलाई सुध्रिन चेतावनी दए। जेन–जी आन्दोलनको अपमान तीन करोड नेपाली जनताको अपमान भएको उनको भनाइ छ।
गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए। उनले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गरे।
उनले भने, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ। म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्। त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो। तपाईंले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु। सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस्।’
उनले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गरे। भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उनले बताए।
शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गरे। तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भइरहेको उनको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८