भोटेकोसी बाढी प्रभावितको खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ।
शुक्रबार साँझ ५ बजेसम्मको अपडेट अनुसार उद्धार टोलीले टनेलभित्र प्रवेश गरी २ वटा शव फेला पारेको हो। थप खोज तथा उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको ७ र गैरसैनिक ६ वटा हवाई साधनमार्फत आज साँझसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ५८ जनाको उद्धार गरिएको छ।
सेनाका अनुसार टनेलमा खोज तथा उद्धार कार्य अन्तर्गत त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालको १८ एवम् नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त खोज तथा उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरेको थियो।
उनीहरूलाई हेलिकप्टरद्वारा वीरेन्द्र अस्पताल छाउनी ल्याई उपचार भइरहेको छ। खोज तथा उद्धारको क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
यस्तै, त्रिशूली-३ बी मा नेपाली सेनाका ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास भएको स्थानमा करबि १५ फिटको खाडल खनेको छ। त्यहाँ हालसम्म केही फेला परेको छैन। ३ ए सँग लिङ्कअप गराउन एक्साभेटरबाट करिब ७०० मिटर बाटो सफा गरिएको छ।
लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ तथा २ जना गैरसैनिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी २ वटा शव फेला पारेको छ। थप खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ।
यता, चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्ने कार्य गरी पुनः १०० मिटर भित्रसम्म पुगेको छ।
माथिल्लो त्रिशुली १ को हाकु स्थित टनेलमा नेपाली सेनाको १७ जना र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले र्याफ्ट र बोट को समेत प्रयोग गरी खोजी कार्य गरिरहेको। साथै, टनेलमा रहेको पानी फाल्ने कार्य भइरहेको छ।
नेपाली सेनाका अनुसार देवीघाटस्थित तादी नदीमा पुल जडान कार्यको लागि नेपाली सेनाको इन्जिनियरिङ्ग फौजबाट ५५ जना टोली खट्टिई वेश निर्माण गरिरहेको छ। सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको एक्रो ब्रिजको केही भाग त्रिशूली पुर्याइएको र थप सामग्रीहरु ढुवानी गर्ने क्रममा रहेको जनाइएको छ।
प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति गराउन डाक्टर अधिकृत सहित आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायलाई स्वास्थ्य सेवा समेत प्रदान गरेको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८