त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।
उद्धार टोलीले सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरेको छ। उद्धार गरिएका व्यक्ति कविर महर्जन हुन्।
साह र महर्जनको घटनास्थलमै खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
सुरुङभित्र अझै रहेका व्यक्तिहरूको उद्धारका लागि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ। सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूले भित्र रहेका सबैजना सकुशल रहेको जानकारी दिएपछि बाँकी व्यक्तिहरूको समेत सुरक्षित उद्धार हुने आशा बढेको छ।
उद्धार कार्यलाई तीव्रता दिँदै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८